PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

एक दशकपछि निर्माण हुन लागेको वीरेन्द्रनगरको चक्रपथ विवादमा, क्षतिपूर्तिको माग गर्दै स्थानीयको अवरोध



पी बी खड्का

एक दशकपछि निर्माण हुन लागेको वीरेन्द्रनगरको चक्रपथ विवादमा, क्षतिपूर्तिको माग गर्दै स्थानीयको अवरोध

सुर्खेत: सुर्खेत वीरेन्द्रनगरमा एक दशक अघि शुरु भएको निर्माणाधीन रिङरोड(चक्रपथ) स्थानीयको अवरोधपछि निर्माण रोकिएको छ। चक्रपथमा स्थानीयको घर र जग्गा पर्ने भएपछि अवरोध गर्दै सडक निर्माणको काम रोकेका छन्।

तत्कालिन जिल्ला विकास समितिमार्फत आर्थिक वर्ष २०६२/०६३ बाट सुरु भएको चक्रपथ अहिले पनि विवादमा परेको छ। वीरेन्द्रनगरको सुव्वाकुनादेखि घुस्रा हुदैँ दक्षिण भागबाट बाङ्गेसिमल जोडिने चक्रपथ विवादकै कारण सुरुवात विन्दुमानै काम हुन नसकेको हो। निर्माण कम्पनीले गएको वैशाखबाट काम अघि बढाए पनि सुव्वाकुनास्थित स्थानीयको अवरोधले काम नै भएको छैन। चक्रपथ अन्तरगत स्थानीयको घर र जग्गा पर्नेभएपछि क्षतीपूर्तिको माग गर्दै स्थानीयले सडकको काममा अवरोध गर्दै आएका छन्।

अझै पनि आफ्नो जग्गा र घरको उचित क्षतिपूर्ति नदिए काम गर्न नदिने स्थानीय बालकुमारी डाँगीको भनाई छ। ‘हाम्रो माग सम्बोधन गर्छौ भनेर काम शुरु गर्न आएको थिए। हामीले काम गर्न सुरु गर्न दिएनौँ,’ उनले भनिन्, ‘बाटोमा पर्ने घर र जग्गाको उचित क्षतिपूर्ती नदिने बेलासम्म हामी काम कुनै पनि हालतमा गर्न दिदैँनौ।’

चक्रपथ निर्माणका क्रममा अहिले दुई ढाई सय बढी घरपरिवार पीडित बनेको उनले बताइन्। चक्रपथ बनाउन स्थानीयको घरजग्गा फाले आफुहरु सुकुम्वासी हुने अवस्था सिर्जना हुने उल्लेख गरिन्।

‘सरकारले जबरजस्ती गरेर घरजग्गा फाले हामी सुकुम्वासी भएर बस्नुपर्ने अवस्था छ,’ उनले भनिन्, ‘कहाँ बस्ने? के खाने? सबै घरपरिवार, बालबच्चाको विचल्ली हुन्छ। त्यसैले सरकारले उचित व्यवस्थापन र क्षतीपूर्ति दिनुपर्छ हाम्रो माग पुरा नभएसम्म हामी काम हुन दिन्नौँ।’

निर्माण कम्पनीले सुब्वाकुनास्थित काम गर्नसक्ने वातावरण नभएपछि झण्डै एक किलोमिटर अगाडीदेखि काम सुरु गरेको छ। सडक डिभिजन चौरजहारी रुकुमपश्चिम र महाँलक्ष्मी किराँतेश्वर केएस के जेभी काठमाडौंसँग सम्झौता भए पनि अहिले स्टार कन्ट्रक्सन सुर्खेतले काम गरिरहेको छ।

२९ किलोमिटर लामो सडक २०७४ चैतमा सम्झौता भए पनि बैशाखदेखि मात्रै काम शुरु भएको सडक डिभिजन कार्यालयका चौरजहारी रुकुमपश्चिमका इन्जिनियर सुरेशकुमार बस्यालले जानकारी दिए। स्थानीयको अवरोधकै कारणले अहिलेसम्म ८ प्रतिशतमात्रै काम भएको उनको भनाई छ।

‘काम कार्यालयको जिम्मा आउने बेलासम्म शुन्य थियो प्रगति। बैशाखदेखि काम सुरु गरेकोमा अहिले ९ प्रतिशत काम भएको छ,’ उनले भने, ‘सडक निर्माण गर्नेक्रममा स्थानीयको अवरोधले पनि केही ढिलाई भएको थियो। सुब्बाकुनास्थित काम नै हुन सकेको छैन। त्यहाँ छोडेर करिब एक किलोमिटर अगाडीबाट काम गरिरहेका छौँ।’

अहिले स्थानीयको विवाद सल्टाउन विभिन्न सरोकारवाला पक्षहरुको छलफल भइरहेको बताए। जति सक्यो छिटो समस्या समाधानको उपाय आए आफुहरुलाई काम गर्न सहज हुने उनको भनाई छ। ‘स्थानीयको विवादले काममा केही ढिलाई भएको छ। यहाँको सरोकारवाला निकायले जति सक्यो छिटो निकास दिएको भए काम गर्न सहज हुन्थ्यो,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell