PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

मैनदानी: ‘गेट वेल सून सोसाइटी!’

मैनदानी: ‘गेट वेल सून सोसाइटी!’

पहिलोपोस्ट /पहिलोपोस्ट


  • भावना शर्मा-

मेरो माइतमा पुराना एल्बम मध्ये एउटा श्याम श्वेत फोटाको एल्बम अहिलेपनि छ। कालो आवरण भएको त्यो एल्बम पल्टाउँदै जाँदा मध्य भागमा एक जोडी पुरुष र महिलाको नग्न तस्वीर देखिन्छ। उनीहरुले उल्टो आकृतिमा एकअर्काको हात गोडा गोलाकार रुपमा समाएर पृथ्वीको आकार लिएका छन्। सानो छँदा जब पहिलोपटक मैले त्यो एल्बम पल्टाएँ, लाज, संकोच, डर एकैसाथ लागेको थियो।

तर त्यो एल्बम पल्टाउँदा घरका कुनै पनि अग्रजले कहिल्यै लजाएको, धकाएको वा संकोच मानेको मलाई थाहा भएन। म आफैँलाई प्रश्न गर्थें, बुबाले यस्तो तस्वीर भएको एल्बममा फोटा किन राख्नुभएको होला? तर जसै उमेर बढ्दै गयो त्यो एल्बम हेर्ने दृष्टिकोण बदलिँदै गयो। पछि मलाई त्यो तस्वीर साह्रै सुन्दर लाग्न थाल्यो।

अलि गहिरिएर हेरें, हरियो र निलो रंग मिसिएको त्यस चित्रमा गोलो पृथ्वीभित्र अटाएका महिला र पुरुष। उनीहरुका गोप्य अंगहरु लुकेका थिए। नग्न भएपनि त्यो तस्वीरमा कुनै अश्लिलता थिएन। उनीहरु मलाई सृष्टिकै आदिम रुप झैं लागे। म कल्पना गर्न थालें, शायद एडम र इभ यिनै होलान्। आहा ! कति सुन्दर एल्बम!

केही दिनअघि मण्डला नाटकघरमा मैनदानी हेर्न पुगें। नाटक हेरिरहँदा मैले त्यही माइतमा भएको एल्बम सम्झिएँ।

टिकट काट्न उभिँदा मैले टिकट घरमा रहेको सानो लिफाफा टिपेकी थिएँ। जसमा लेखिएको थियो, 'हामी यस नाटकमा दर्शकलाई प्रश्न गरिरहेका छौं। नाटक हेरिसकेपछि पाउने उत्तर नै नाटकको मूल सार हो।'

नाटक हेर्न पस्नुअघि ममा ठूलो कौतुहल थियो, के प्रश्न गर्ला नाटकले? उत्तर मैले कहाँ खोज्ने होला? तर जब नाटक सुरु भयो, पहिलो दृश्यले नै मलाई उत्तर दियो। यौटा टेबुल र टेबुलमाथि राखिएको कागजको यौटा कार्ड, जसमा लेखिएको थियो, ‘गेट वेल सुन सोसाइटी।‘ मनले भन्यो, 'तिम्रो सारा प्रश्नहरुको उत्तर यही कार्डले दिइरहेछ, चुपचाप नाटक हेरिरहनु..!' 

हो, मैले पहिलो दृश्यमै पाएको सन्देश जस्तै नाटकका प्रत्येक दृश्यले त्यही ‘गेट वेल सून’तिर इशारा गरिरहेका थिए। एउटा नग्न मूर्ति वरिपरि घुमेको थियो मैनदानीको कथा। एन्टन चेखबको 'द वर्क अफ एन आर्ट'बाट प्रभावित भनिएको मैनदानी।

नग्न पुरुष र महिला एकआपसमा बेरिएका थिए। नग्न पुरुषको एउटा हातले पृथ्वी उचालेर अर्को हातले महिलाको गोप्य अंग छोपिरहेको छ। अनि महिलाले पनि एउटा हातले आफ्नो स्तन छोप्दै अर्को हातले पृथ्वी उचालिरहेकी छिन्।

झलक्क हेर्दा मैनदानी अश्लिल थियो। त्यसैले त नाटकका पात्रहरु- गर्भवती श्रीमतीबाट लुकेर अन्य महिलाहरुसँग सम्बन्ध राख्ने डाक्टर, मुद्दा मामिला सल्टाउन सिपालु वकिल, लोग्नेबाट सुख भोग्न नपाएर विक्षिप्त जस्तै बनेकी युवती, कलाकार बन्न संघर्षरत युवा सबैले त्यस मूर्तिमा अश्लिलता देखिरहेका थिए।

जसले मूर्तिमा कला देखे, उनीहरुले पनि साथमा राख्ने हिम्मत गरेनन्। उनीहरु डराए। डराए कोसँग? उनीहरु डाक्टरलाई कफी बोकेर आउने अस्पतालकी महिला पियनसँग डराए, सनसनीखेज प्रस्तुति दिन माहिर पत्रकारसँग डराए। वास्तवमा उनीहरु समाजको पाखण्डसँग डराए। नाटकका प्रत्येक पात्रभित्र डर थियो। नग्न मूर्तिसहितको मैनदानी राख्दा आफूलाई अरुले हेर्ने नजर 'निष्कलंक' नरहला। अरुले गर्ने मूल्यांकन 'उम्दा' नहोला। नाटकमा चिया ल्याउने महिला पियनले छी: छी: भनेर डाक्टरलाई दुत्कारे झैं समाजका ठेकेदारहरुले उसै गरी दुत्कार्लान्। 

तर उनीहरुले यो मूर्तिमा अश्लिलताभन्दा बढी कला छ, मन्दिरमा राखिएको मूर्ति झैं पवित्र छ भन्ने किन देखेनन्? पृथ्वी र मानवबीचको सम्बन्ध कसरी अघि बढिरहेछ बडो सुन्दर ढंगले भन्छ यो मूर्तिले। उनीहरु नग्न छन्। तर, पुरुषले महिलाको लाज छोपिदिएको छ। महिलाले पनि आफूलाई ढाकिरहेकी छे। म स्पष्ट छु 'छोपिदिनु' र 'छाम्नुमा' त्यति नै भिन्नता छ जति भिन्न छ कला र अश्लिलता।

जब उनीहरुले बोकेको पृथ्वीमाथिको मैनदानीमा उज्यालो बल्छ, ठ्याक्कै त्यही उज्यालोमुनिको संसार भने अँध्यारो हुन्छ। भनिन्छ नि, बत्तीमुनि अँध्यारो। शायद त्यही अँध्यारो संसारमा मात्र उनीहरु एकाकार हुनेछन्। सृष्टि थाम्ने प्रक्रियामा उनीहरु मैनदानीमुनिको अँध्यारोमै बास गरिरहेका छन्। मूर्तिले जीवनको सत्य बोलिरहेछ। यसले सिकाइरहेछ' हेर त सृष्टि यसरी नै चल्छ!'

त्यसो भए के हो अश्लिलता?

नाटक हेरिरहँदा हामीभन्दा पछाडिको लहरमा बस्नेहरुको खासखुस खासखुस आवाजले हामीलाई डिस्टर्ब गरिरहेको थियो। पछाडि फर्केर हेरें, अल्लारे उमेरका युवाहरु थिए। उनीहरुको गफ, संकेत र खितखित हाँसोले प्रष्ट बुझिन्थ्यो, उनीहरु त्यो मूर्तिमा अश्लिलता खोजिरहेका थिए। अगाडि नाटक चलिरहेको थियो। तर केही पात्रहरु हाम्रै वरिपरि थिए। हाउभाउ उस्तै थियो, भलै उनीहरु अभिनय गरिरहेका थिएनन्। उनीहरु भन्दै थिए मूर्ति 'छाडा' गतिविधि गरिरहेको छ किनभने उनीहरुले मूर्तिमा त्यो पुरुषले महिलाको गोप्य अंग छोपिदिएको भन्दा बढी छामिरहेको देखे। उनीहरुको अश्लिल खित्कालाई मैले त्यसरी नै बुझें।

खासमा समस्या त्यहीँ छ। अश्लिलता त्यहीँ छ। उनीहरुको बिरामी दिमागभित्र छ अश्लिलता। समाजमा त्यस्तै एक हुल बिरामी र पाखण्ड चरित्रले नै उब्जाइरहेछ अश्लिलता। तिनैका आँखाले मात्र देखिरहेछ अश्लिलता। तिनै अश्लिल आँखाहरुले सिर्जनाको शक्ति र पवित्रतालाई नजरअन्दाज गरिरहेछ।

मैनदानी नाटक हेरेर मण्डला थियटरबाट फर्कंदा ममा गजबको स्फूर्ति थियो। 'गेट वेल सुन सोसाइटी' भन्दै बाहिरिएँ म पनि। श्रीमानलाई नाटकको बिषयवस्तुबारे सुनाएँ। मैनदानीको तस्वीर र स्केचको फोटो देखाउँदै भनें ‘यही तस्वीर वरिपरि घुमेको रहेछ नाटक।‘

नाटकका क्रममा खिचेका केही तस्वीरहरु फेसबुकमा राखें। तर त्यो मैनदानीको तस्वीर पनि अपलोड त गरें तर पोष्ट गर्ने हिम्मत आएन। आफ्नो दुविधाबारे श्रीमानसँग पनि कुरा गरें। 'सामान्य छ यो तस्वीर। पोष्ट गर्दा हुन्छ। डराउनुपर्ने केही देख्दिन म,' वहाँको त्यो ढाढसले पनि मनलाई राहत दिएन।

एकपटक अमेरिका जाँदा ‘हाफ पाइन्ट’ लगाएर समुन्द्री किनारमा खिचेका तस्वीर हेरेर आफन्तजनले गरेका टिकाटिप्पणी सम्झें। साथीहरुसँग स्विमिङ जाँदा खिचाएका केही तस्वीरले उब्जाएको प्रतिक्रिया सम्झें। 'अपिलिङ' देखियो भन्दै छोटा लुगा लगाएका केही तस्वीर फेसबुकबाट हटाउ भन्ने साथीहरुको अनुरोध पनि सम्झिएँ।

हो, यस्तै टिकाटिप्पणी र प्रतिक्रियाले त कमजोर पार्ने रहेछ हामीलाई। नाटक हेरेर बाहिरिँदा लागेको थियो, मैले गजबको उत्तर पाएँ। तर, पाइला पाइलामा प्रश्नहरु छरपष्ट छन्। म प्रश्नहरुको घेराबाट उम्किनै नसक्ने गरी जेलिएकी छु। कहिलेसम्म जेलिइरहने? कहिलेसम्म डराइरहने? कुन लक्ष्मणरेखाभित्र सिमित राख्नुपर्ने यो सोचको परिधि?

मैनदानीले उब्जाएको प्रश्नको उत्तर खोज्नु भनेको सायद ती डरहरुबाट आफैँलाई बाहिर निकाल्नु हो। नाटक हेरिसकेपछि महसुस भयो, मैले बच्चामा देखेको एल्बमभित्रका महिला पुरुष र मैनदानीका महिला पुरुष एकै रहेछन्। खासमा उनीहरु सृष्टिका अभिन्न पात्र रहेछन् जो पृथ्वीलाई सिर्जना र सभ्यता एकैसाथ सिकाइरहेछन्। मैनदानी हेरिसकेपछि मलाई पनि 'गेट वेल सुन सोसाइटी' भन्ने साहस आएको छ। थ्यांक्यू मैनदानी।



ट्रेन्डिङ पोस्ट

Ncell