PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

हङकङमा मास्कधारी आक्रमणकारीको त्रास: लट्ठी प्रहारबाट ४५ जना घाइते



हङकङमा मास्कधारी आक्रमणकारीको त्रास: लट्ठी प्रहारबाट ४५ जना घाइते
फोटो: REUTERS

हङकङ : हङकङको युएन लङ जिल्लामा अनुहार छोपेका आक्रमणकारीहरुले सर्वसाधारणमाथि लट्ठीले अन्धाधुन्ध प्रहार गर्दा ४५ जना घाइते भएका छन्। एकजनाको अवस्था गम्भीर रहेको बीबीसीले जनाएको छ।

सेतो सर्ट लगाएका आक्रमणकारीहरुले आफ्नो पहिचान लुकाउन भने अनुहारमा मास्क लगाएका थिए।

सामाजिक सञ्जालमा अपलोड गरिएका भिडियोहरुमा आक्रमणकारीहरुले ट्रेन स्टेशनभित्र मानिसहरुमाथि निर्मम ढंगले प्रहार गरेको देखिएको छ।

प्रहरीले घटनाबारे अनुसन्धान गरिरहे पनि हालसम्म आक्रमण गर्नेहरुको पहिचान खुल्न सकेको छैन।

 

हङकङमा विगत केही महिनायता सुपुर्दगी विधेयकको विरोधमा प्रदर्शन हुँदै आएको छ। प्रदर्शन उग्र बन्दै गएपछि हङकङमा पक्राउ परेका अभियुक्तहरुलाई सजिलै मेनल्यान्ड चाइनामा सुपुर्दगी गर्ने प्रावधान सहितको सो विधेयक हङकङ सरकारले स्थगन गरेको थियो। यद्यपि, प्रदर्शनकारीहरुले विधेयक स्थगन नभइ फिर्ता नै लिनुपर्ने माग गर्दै आएका थिए। यस्तै उनीहरुले हङकङकी कार्यकारी प्रमुख क्यारी ल्यामले राजीनामा दिनुपर्ने माग समेत गर्दै आएका छन्।

सुपुर्दगी विधेयकको विरोधमा प्रदर्शन भइरहँदा प्रदर्शनकारीहरुमाथि नै लक्षित गर्दै मास्क लगाएका आक्रमणकारीहरुले उनीहरुमाथि लठ्ठी प्रहार गरेका थिए।

प्रदर्शनकारीमाथि आक्रमण भइरहँदा प्रहरीले भने रोक्न प्रयास नगरेको भन्दै आन्दोलनकारीहरुले प्रहरीको नियतमाथि प्रश्न उठाउँदै आलोचना गरिररहेका छन्।

सरकारले भने आक्रमणको निन्दा गर्दै शान्ति सुव्यवस्था काउय गर्न प्रहरीलाई निर्देशन दिएको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell