PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

छेडाचौर बन्यो दुई गाउँपालिकाको विवादित सीमा, सिम्ताको अध्यक्षले राखेको बोर्ड शिवालयको अध्यक्षले फालिदिए



पी बी खड्का

छेडाचौर बन्यो दुई गाउँपालिकाको विवादित सीमा, सिम्ताको अध्यक्षले राखेको बोर्ड शिवालयको अध्यक्षले फालिदिए

सुर्खेत: सिम्ता गाउँपालिकाले असार २६ गते सिमाना छेडाचौरमा प्राकृतिक स्रोत साधन देखाउने नक्सा (बोर्ड) राख्यो। बोर्ड राखेकै भोलिपल्ट जाजरकोट शिवालय गाउँपालिका अध्यक्ष सहितको टोलीले उक्त नक्सा सहितको बोर्ड मिल्कायो र आफ्नो गाउँपालिकाको बोर्ड खडा गर्‍यो। त्यसलगत्तै सिम्ता गाउँपालिकाको टोलीले पनि शिवालय गाउँपालिकाको बोर्ड हटाई दिइयो। 

यसरी पटक पटक अध्यक्षकै नेतृत्वमा बोर्ड फाल्ने कामले सुर्खेतको सिम्ता गाउँपालिका र जाजरकोटको शिवालय गाउँपालिका विच सीमा विवाद देखिएको छ। सिमानामा रहेको छेडाचौरलाई दुवै गाउँपालिकाले आ–आफ्नो क्षेत्रभित्र पर्ने भन्दै दावी गरिरहेका छन्। सामान्य सिमा विवाद अहिले मात्रै नभएर विगतदेखिनै हुदैँ आएको थियो। 

सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीले सिमांकनका आधारले पनि उक्त क्षेत्र सुर्खेतमै पर्ने दावी गर्छन्। पालिकाको खोल्साखाल्सी सिमाना र डाँडाकाँडा सिमानाले पनि प्रस्ट छु्ट्टाएको भन्दै अझ छेडाचौर नजिक रहेको पुल समेत सिम्ता गाउँपालिका भित्र पर्ने उनले बताए। 

साविकको मध्यपश्चिमाञ्चलको नक्सा हेर्दा छेडागाडले छोएको देखिने उनको भनाई छ। ‘छेडागाड नगरपालिकाले छोएको छ। यस हिसाबाले खोला पारी छेडागाड नगरपालिका हो। त्यसले छुने कुरा हुदैँन। नक्सामा हेर्दा छेडागाडले टच गरेको देखिन्छ। हैन भने संघ सरकारले नै नक्सा परिमार्जित गर्नुपर्‍यो।’

सर्वोच्चले फैसला गरेको विषयलाई स्पस्ट पार्दै अध्यक्ष केसीले भने,‘अदालतले फैसला गरेको विषय सिमाको नभएर जग्गा व्यक्तिको नामको विषयमा हो। सिमाको बारेमा विवादनै छैन्। कसरी अदालतले फैसला गर्छ। स्वतः त्यो क्षेत्र सिम्तामै पर्छ।’
 
दुवै गाउँपालिकाको वडा नं. १/१ को सिमामा पर्ने छेडाचौर विवादित बनेको छ। उक्त स्थानमा जाजरकोट, सल्यान, सुर्खेतका नागरिकले व्यापार व्यवसाय गर्दै आएका छन्।

यता, जाजरकोट शिवालय गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले पनि उक्त क्षेत्र आफ्नो गाउँपालिका भित्रै पर्ने दावी गरे। विगतदेखिनै जाजरकोटमै भोगचलन गरेको जग्गा पछिल्लो समय सिम्ता गाउँपालिकाले आफ्नो भएको दावी गरेको भन्दै बोर्ड आफ्नो क्षेत्रमा नभएर जाजरकोटको क्षेत्रमा लगेर राखेको हुँदा विवाद भएको उनले बताए। 

‘उहाँहरुले बोर्ड आफ्नो एरियामा नभएर हाम्रो क्षेत्रमा लगेर राख्नु भयो। त्यसैले हाम्रो टोलीले फालेको हो।’ उनले भने,‘सिम्ताले हामीलाई हेपेको महशुस गरेका छौँ।’
 
अदालतले जाजरकोटकै स्थानीयको पक्षमा फैसला गरेको भन्दै कुनै पनि हालतमा उक्त क्षेत्र आफ्नो गाउँपालिकाको हुने दावी गर्छन्। ‘छेडाचौर जाजरकोटकै हो भन्नेमा सवै कन्भिन्स छन्। जाजरकोटकै हो त्यो क्षेत्र ’ उनले भने,‘विना आधारमा सिम्ताले हाम्रो भन्ने कुनै अधिकारनै छैन्।’
 
हाम्रो क्षेत्र तपाईहरुको भन्ने खास आधार के हो? भन्ने पहिलो पोष्टको जिज्ञासामा कसैको पनि केही आधार नभएको अध्यक्ष शाहीले बताए। ‘अहिलेसम्म कसैको केही आधार छैन्। आ–आफुले हाम्रो हो भन्ने भा’छ। यो सिमा विवाद विगतदेखिनै हो,’ उनले भने। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell