PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सचिवालय बैठक अगाडि बालुवाटार र खुमलटारमा चल्दै ने क पाको आन्तरिक छलफल



विधुर ढकाल

सचिवालय बैठक अगाडि बालुवाटार र खुमलटारमा चल्दै ने क पाको आन्तरिक छलफल
फाइल फोटो

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को एकतालाई अन्तिम टुंगोमा पुर्‍याउन पूर्व नेकपा एमाले र पूर्व नेकपा माओवादी केन्द्र आन्तरिक छलफलमा जुटेका छन्। आइतवार दिउँसो बालुवाटारमा बस्ने सचिवालय बैठक अगाडि आफ्नो भागबण्डामा परेको नेतृत्वको टुंगो लगाउन दुई समूह आन्तरिक छलफलमा जुटेका हुन्।

पूर्व एमाले समूहको छलफल बालुवाटार र पूर्व माओवादी केन्द्रको छलफल अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' निवास खुमलटारमा चलिरहेको छ। यो छलफलबाट आफ्नो भागमा परेका विभाग, आयोग र जिल्ला इञ्चार्ज तथा सहइञ्चार्जहरुको टुंगो लगाएर आजै बस्ने सचिवालय बैठकले अनुमोदन गर्ने बताइएको छ।

गत वर्ष जेठ ३ गते तत्कालिन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको १४ महिना पुग्न लाग्दा अझै एकताले पूर्णता पाएको छैन। ने क पाको विभाग, आयोग, सम्पर्क मञ्च, केन्द्रीय सदस्यहरुको कार्यविभाजन टुंगिएको छैन।

ने क पाको अन्तरिम विधानमा ३२ वटा विभाग रहने व्यवस्था छ। जसअनुसार यसअघि शीर्ष नेताहरुको बैठकले पूर्व एमाले समूहको भागमा १८ र पूर्व माओवादी केन्द्रको भागमा १४ विभागको नेतृत्व दिने सहमति भएको छ। तर, नेतृत्व भने टुंगिएको छैन। यसैलाई टुंग्याउन दुवै समूह आन्तरिक  गृहकार्यमा जुटेका हुन्। ३५ सदस्यीय विभागमा पूर्वएमाले २० र पूर्व माओवादीबाट १५ सदस्य रहने सहमति भएको बताइएको छ।

संख्यामा टुंगो लागे पनि कुन कुन विभाग कसले पाउने भन्नेमा अझै सहमति भएको छैन। मोटामोटी रुपमा एमालेको भागमा परेको भनिएको विदेश विभागमा नेता माधव नेपाल, नीति तथा प्रतिष्ठान विभागमा झलनाथ खनाल, संगठन विभागमा वामदेव गौतमलाई जिम्मेवारी दिने सहमति जुटे पनि स्कुल विभागमा पूर्व माओवादी केन्द्रले पनि दाबी गरेको छ। यो विभागमा ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठले दाबी गर्दै आएका छन्।

त्यस्तै तत्कालीन माओवादीको भागमा प्रचार तथा प्रकाशन विभाग र आर्थिक विभाग प्रमुख परेको छ। ती विभागको नेतृत्वमा कसलाई पठाउने भन्ने बिषय भने टुंगो लागेको छैन। त्यस्तै ७७ जिल्ला इन्चार्जमा तत्कालिन एमालेले ४६ र माओवादी केन्द्रले ३१ पाउने सहमति भएको छ। जिल्ला इञ्चार्ज दिँदा पूर्व एमालेले पाएका जिल्लामा पूर्व एमालेका जिल्ला इञ्चार्जले ने क पाको जिल्ला इञ्चार्ज र सहइञ्चार्ज पूर्व माओवादी केन्द्रका इञ्चार्जले पाउने छन् भने माओवादी केन्द्रको भागमा परेका जिल्लाको इञ्चार्ज तत्कालिन माओवादीका जिल्ला इञ्चार्ज र सहइञ्चार्जमा तत्कालिन एमालेका इञ्चार्जले जिम्मेवारी पाउने सहमति भएको छ। सोही अनुरुप आज नाम अनुमोदन हुने बताइएको छ।

त्यस्तै टुंगिन बाँकी तीन आयोगमध्ये दुईको नेतृत्व पूर्व एमाले र एक पूर्वमाओवादी केन्द्रले लिने सहमति जुटेको छ। ३१ सदस्यीय यी आयोगमा १८ पूर्व एमाले र १३ पूर्व माओवादीबाट रहनेगरी सहमति जुटेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए।

त्यस्तै जेष्ठ कम्युनिष्ट मञ्चको सदस्यहरुको भागबण्डा पनि टुंगिएको छ। मञ्च २२१ सदस्यीय बन्ने छ। जसमध्ये १२१ पूर्व एमाले र १०० पूर्व माओवादीले पाउने छ। त्यस्तै सल्लाहकार परिषद्मा पनि भागबण्डा मिलेको छ। यो परिषद् पनि २२१ सदस्यीय हुने र १२१ पूर्व एमाले र १०० पूर्व माओवादी केन्द्रले पाउने छन्। यसमा कसकसलाई पठाउने भन्ने टुंगो लागेको छैन। यसैलाई टुंग्याउन छलफल भइरहेको छ।

दुवै समूहले आन्तरिक रुपमा टुंगो लगाएपछि सचिवालयको बैठकले यसलाई अनुमोदन गर्ने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell