PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

जितबहादुर केसी र बैकुण्ठ मानन्धर नगदसहित सम्मानित



पहिलोपोस्ट

जितबहादुर केसी र बैकुण्ठ मानन्धर नगदसहित सम्मानित

काठमाडौं : नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका पूर्व म्याराथन धावक जितबहादुर केसी र दक्षिण एसियाली खेलकुदका कीर्तिमानी पूर्व म्याराथन धावक वैकुण्ठ मानन्धरलाई मदन भण्डारी स्पोर्ट्स एकेडेमी र रन क्लब नेपालले शुक्रबार नगदसहित सम्मान गरेको छ।

एकेडेमी र क्लबको संयुक्त आयोजनामा भएको मदन भण्डारी रोड रेसका पदक विजेतालाई नगद पुरस्कार वितरण गर्न आयोजित कार्यक्रममा केसी र मानन्धरलाई सम्मान गरिएको हो। दुवैलाई १०–१० हजार नगद प्रदान गरियो।

सोही अवसरमा हङकङमा भएको जुनियर एसियाली एथलेटिक्सका स्वर्ण विजेता अजितकुमार यादवलाई पनि प्रशंसा पत्रबाट सम्मान गरिएको थियो।

पाँच किलोमिटर दूरीको रोड रेसमा विभिन्न ४ स्पर्धामा प्रतिस्पर्धा भएको थियो। पुरुष खुलामा अजितकुमार यादव पहिलो, सन्तोषविक्रम विष्ट दोश्रो र खिमबहादुर खत्री तेश्रो भएका थिए। तीनै एपीएफका हुन्। सो स्पर्धाको महिलामा प्रहरीकी राजपुरा पछाईंले स्वर्ण, काठमाडौंकी सन्तोषी श्रेष्ठले रजत र एपीएफकी फुलमति राना कांस्य जितेका थिए। शीर्ष तीन स्थान हासिल गर्नेलाई क्रमशः २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्रदान गरियो।

जुनियर पुरुषमा सिग्माका प्रवीणकुमार बोहरा पहिलो, जेसिजका सागर श्रेष्ठ दोश्रो र श्री गणेशका नवीनकुमार कार्की तेश्रो भएका थिए। उक्त स्पर्धाको महिलामा प्राइम ग्लोबलकी जुनिल सुनुवार पहिलो, जेसिजकी श्रयस्का सिल्पकार दोश्रो तथा पञ्च कन्याकी सोनु घतामी तेश्रो भए। पहिलो हुनेले १५ हजार, दोश्रोले १० हजार तथा तेश्रोले ५ हजार नगद पुरस्कार हात पारे।

उनीहरुलाई मदन भण्डारी स्पोर्ट्स एकेडेमीका संस्थापक अध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले पुरस्कृत गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell