PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कांग्रेस नेता बस्नेतको जवाफ : खाता नभएको सहकारीमा कहाँबाट हुनु मेरो रकम?



पहिलोपोस्ट

कांग्रेस नेता बस्नेतको जवाफ : खाता नभएको सहकारीमा कहाँबाट हुनु मेरो रकम?

  • सुदर्शन सापकोटा र दिनेश खड्का-

काठमाडौं : पूर्व मन्त्री एवं नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले प्रमाणी बचत तथा सहकारी संस्थामा आफ्नो खाता नै नरहेको दावी गरेका छन्। उक्त सहकारीमा नेता बस्नेतको ६१ करोड रुपैयाँ रहेको र त्यसको स्रोत नखुलेको भन्दै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले कारवाहीको प्रकृया अगाडि बढाएको समाचार सार्वजनिक भएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्।

‘त्यो सहकारी संस्थामा मेरो कुनै पनि खाता छैन। मेरो परिवारको नाममा समेत खाता छैन,’ उनले भने, 'खाता नभएपछि मेरो नाममा पैसा हुने कुरै भएन।’

राजधानीको महाबौद्धमा रहेको प्रणामी बचत तथा ऋण सहकारी संस्थाको एउटा खातामा ६१ करोड रुपैयाँ जम्मा भएलगत्तै विभागको ध्यानाकर्षण भएको थियो। 

बैंक तथा वित्तीय संस्थापछि सहकारीमा समेत सम्पत्ति शुद्धिकरण कार्यान्वयनमा ल्याएपछि यस्ता ठूला कारोबारको निगरानी हुन थालेको हो। एकाएक ६१ करोड रुपैयाँ निक्षेप राख्ने वित्तिकै त्यसको जानकारी वित्तीय जानकारी ईकाइ र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा पुगेको थियो।

विभागका अनुसन्धान अधिकृतका अनुसार नेपाली कांग्रेसका नेता तथा पूर्व संचारमन्त्री मोहनबहादुर बस्नेतको खातमा रकम हालिएको हो। हालिएको ६१ करोड रुपैयाँ स्रोत खुलेको छैन।

विभागले उक्त सहकारीमा रहेको बस्नेतको ६१ करोड 'फ्रिज' गरेर अनुसन्धान थालिसकेको दावी गरेको छ। प्रारम्भिक अनुसन्धानमा बस्नेतको कर छलीबाट आएको रकम जम्मा भएको देखिएको छ।

'प्रारम्भिक अनुसन्धानमा बस्नेतको कर छली गरेको भेटिएको छ। उहाँको 'ब्याकग्राउन्ड' सँग यति ठूलो पैसाको मेल खाने देखिएन। त्यही भएर सहकारी विभागमार्फत् पैसा रोक्का गरिदिएका छौं,' शुद्धिकरण विभागका एक अनुसन्धान अधिकृतले भने, 'अरु स्रोतहरु पनि खोजिरहेका छौं। अहिले सहकारीमा स्रोत नपुग्ने पैसा भेटिएको छ।'

नेताको ब्यापार कनेक्सन

नेता बस्नेतको चीनसँग व्यापारिक कारोबार गर्ने व्यवसायीसँग राम्रै हिमचिम छ। उनी सिन्धुपाल्चोकका पूर्व सांसद हुन्। पछिल्लो निर्वाचनमा नेकपाका नेता अग्नि सापकोटासँग उनी पराजित भएका थिए।

विभागले अहिले पोलिटिकल्ली एक्सपोज पर्सन (राजनीतिक रुपमा चिनिएका) हरुको अनुसन्धान तीब्र बनाएको छ। विभागले केही समयमै नेपाली कांग्रेसका सांसद सूर्यबहादुर केसी विरुद्ध मुद्दा हाल्ने तयारी गरेको छ।

बस्नेत केही समयअघि भने नेपाल क्रेडिट एण्ड कमर्स (एनसिसी) बैंकका सञ्चालक समेत थिए। बैंक तथा वित्तीय संस्था ऐन संशोधन भएर आउँदा संवैधानिक पदमा बसेकाहरु सञ्चालन हुन नपाउने ब्यवस्था भएपछि उनले राजीनामा गरेका थिए। उनी त्यसबेला संविधानसभा सदस्य थिए।

सम्पति शुद्धिकरण विरुद्ध अन्तर्राष्ट्रिय रुपमा काम गरिरहेको संस्था फाइनान्सियल एक्सन टाक्सफोर्स (एफएटिएफ) मा आबद्ध भएपछि नेपालले कालोधन विरुद्ध कडा नीति लिन थालेको छ।

बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, शेयर, सुन बजारका साथै पछिल्लो समय सहकारी क्षेत्रमा पनि शुद्धिकरणको नियम कडाइका साथ कार्यान्वयन गर्न थालिएको छ। यसैक्रममा अनुसन्धान गर्दा बस्नेतको 'कालोधन' फेला परेको विभाग स्रोतले जानकारी दियो।

बस्नेतको कालोधनका बारेमा शुद्धिकरण विभागका साथै सहकारी विभाग र राष्ट्र बैंकमा रहेको वित्तीय जानकारी इकाइले पनि काम गरिरहेको छ। इकाइले उनको वित्तीय कारोबारको 'ट्र्याक' गर्न थालेको छ भने शुद्धिकरण विभागले अन्य निकायसँग समन्वय गरेर अनुसन्धान तीब्र बनाएको छ।

'अब हामी बस्नेतजीलाई बयानका लागि बोलाउने तयारीमा छौं। अहिलेसम्मको अनुसन्धानमा गैरकानुनी रुपमा नै धन आर्जन गरेको देखिन्छ,' ती अनुसन्धान अधिकृतले भने, 'बयानपछि हामी कसरी अगाडि बढ्ने भन्ने निर्णयमा पुग्छौं।'

शुद्धिकरण विभाग केपी ओली दोस्रो पटक प्रधानमन्त्री भएपछि मन्त्रीपरिषद्को कार्यालयमा ल्याइएको निकाय हो। विभागले कसलाई कारवाही अगाडि बढाउने भनेर सोझै प्रधानमन्त्रीको राय लिन्छ। 'राजनीतिक रुपमा लागेका ब्यक्तिहरुको अनुसन्धान त्यति सजिलो छैन,' ती अनुसन्धान अधिकृतले भने, 'प्रधानमन्त्रीबाट 'गो अहेड' भन्ने निर्देशन आएमा मुद्दा हाल्ने छौं।'

बस्नेतको ६१ करोडको स्रोत नखुलेको पैसाका बारेमा उनका परिवार र नातेदारमा पनि अनुसन्धान तीब्र पारिएको छ। 'वित्तीय जानकारी इकाइबाट हामीले परिवार र नातेदार सबैको बैंकिङ 'हिस्ट्री' मागेका छौं,' विभाग स्रोतले भन्यो, 'इकाइले सहयोग गर्यो भने अझै गहिरोमा पुगेर अनुसन्धान गर्न सकिन्छ।'

सहकारी पनि ट्रयाकमा

पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थामा कारोबारमा कडाई गर्न थालेपछि अवैध कारोबारमा कमाएको पैसा सहकारीमा सिफ्ट हुन थालेको थियो। राजनीतिक दलदेखि विभिन्न कर छलेर कमाएको पैसासम्म सहकारीमा जान थालेपछि सरकारले नियम बनाएर कस्न थालेको छ। त्यही क्रममा पूर्व मन्त्री बस्नेतले पैसा राख्नेवित्तिकै अनुसन्धान गर्ने निकायले जानकारी पाएका हुन्।

सहकारी विभागले २०७४ माघ १५ गते सम्पति शुद्धिकरण सम्वन्धी व्यवस्था कार्यान्वयन गर्दै एसटिआर (सस्पिसिएस ट्रान्जेक्सन रिपोर्ट) पठाउन निर्देशन दिएको थियो। मुलुकभर १४ हजारभन्दा बढी बचत तथा ऋण सहकारी संस्था छन्। ती संस्थामध्ये केहीले मात्रै सम्पति शुद्धिकरण सम्बन्धी व्यवस्था कार्यान्वयन गर्न थालेका छन्।

 

मेरो खाता नै छैन : बस्नेत

मोहनबहादुर बस्नेतले प्रणामी बचत तथा ऋण सहकारी संस्थामा आफ्नो नाममा कुनै खाता नरहेको दावी गरेका छन्।

उनले सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकका बारेमा सशक्त आवाज उठाइरहेको व्यक्ति भएको बताउँदै भने- ‘लोकतान्त्रिक विधिमा विश्वास गर्ने व्यक्ति समेत हुँ। तर यस्ता विषयले सरकारको कदमलाई बल पुगेको छ।’

बस्नेतले आफू संचारमन्त्री हुँदा समेत मन्त्रालयलाई आर्थिक अनुशासनभित्र राख्न धेरै मेहेनत गरेको बताउँदै धेरै ठूला महत्वपूर्ण काम समेत गरेको दाबी गरे।

‘समय छोटो थियो त यसैले धेरै काम गर्न पाइन। तर जति काम गरे आर्थिक अनुशासनभित्र रहेर देशहितका लागि काम गरे,’ उनले भने, 'त्यो बेलामा मैले कुनै विवादित निर्णय समेत गरेको थिइन।’

 

प्रणामीका सिइओ भन्छन्- ‘खाता छैन’

प्रणामी बचत तथा ऋण सहकारीका प्रमुख कार्यकारी अधिकृत दीपक बिक्रम थापाले पूर्वमन्त्री बस्नेतको नाममा कुनै खाता नरहेको र पैसा समेत नभएको बताए।

‘हाम्रो सहकारीमा उहाँ र उहाँको परिवारको खाता छैन,’उनले भने, 'हाम्रो ब्यालेन्ससीटको आकार नै ६० करोड भन्दा कम छ भने कसरी त्यति ठूलो रकम हाम्रो खातामा हुन्छ?’ थापाले सहकारीका सिद्धान्तलाई आत्मसाथ गर्दै कारोबार गर्दै आएको बताउँदै त्यही विश्वासका कारण व्यवसायिकतामा समेत अब्बल रहेको जिकिर गरे।

‘सहकारीको सिद्धान्त अनुसार हामीले कारोबार गर्दै आएका छौं। वचतकर्ताको हकहितका लागि हामीले काम गर्दै आएका छौं,’ थापाले भने, 'हामी व्यवसायिकतालाई प्राथमिकतामा राख्छौं।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell