PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

'स्मार्ट पार्किङ' को नाममा 'ब्रह्मलुट' : चर्को शुल्क, भद्रगोल पारा

'स्मार्ट पार्किङ' को नाममा 'ब्रह्मलुट' : चर्को शुल्क, भद्रगोल पारा

सहयोग रञ्जित/पहिलोपोस्ट


'यो त ब्रह्मलुट हो।'

न्युरोड पुगेका युवराज अर्याललाई मोटरसाइकल कहाँ पार्क गर्ने भन्ने चिन्ता थियो। न्युरोडमा शुरु गरिएको 'स्मार्ट पार्किङ'का बारेमा सुनेका उनी खिचापोखरी पुगे। गोरखापत्र संस्थान जाने बाटो छेउको 'स्मार्ट पार्किङ' मा आफ्नो मोटरसाइकल पार्क गर्न खोजे।

मोटरसाइकल पार्क गर्नै लाग्दा ज्याकेट र क्यामेरा भिरेका एक युवक आइपुगे र चिट काट्नु पर्ने बताए। हातमा पार्किङको बिल काट्ने मेसिनसमेत बोकेका युवाले युवराजलाई यसो भनिरहँदा एक व्यक्ति भने 'यो त ब्रह्मलुट हो' भन्दै ती युवासँग बहस गर्दै थिए। युवराजभन्दा ३२ मिनेट अगाडि पार्किङ गरी फर्केका उनी आधा घण्टाको २५ रुपैयाँको बिल काटेकाले क्रुद्ध देखिन्थे।

पहिलोपटक स्मार्ट पार्किङ पुगेका युवराजले चिट माग्दै भने, 'स्मार्टको नाममा त ब्रहमलुट रहेछ। नाममात्रैको स्मार्ट शैली भने उही पुरानै। के गर्नु, शुल्क महँगो भए पनि पार्क गर्नुपर्ने बाध्यता छ।'

पहिलोपोस्टको टिम सोमवार बेलुकी साढे चार बजे न्युरोड पुग्दाको दृश्य हो यो। पार्किङ् शुल्क उठाउन बसेका भने यस्तो घटना सामान्य भएको र 'चर्को शुल्क'को विषयलाई लिएर मानिसहरु अझै कडा रुपमा प्रस्तुत हुने गरेको बताउँछन्।

हाल न्युरोड क्षेत्रमा सवारीसाधनसहित पुग्ने अधिकांशको गुनासो 'स्मार्ट पार्किङ'को पुरानो शैली र महँगो शुल्कमा रहेको देखिन्छ।

***

काठमाडौं महानगरपालिकाले महानगरभित्र सवारीसाधनको अव्यवस्थित चाप कम गर्ने उद्देश्यले पार्किङको व्यवस्था मिलाउन एक महिनाअघि 'स्मार्ट पार्किङ' सुरु गरेको हो।

पहिलो चरणमा खिचापोखरी सडक (आरबी कम्प्लेक्सको अगाडि), पाको सडक (ताम्रकार कम्प्लेक्स भएको स्थान),  प्युखा मार्ग (रामेश्वर स्विट्सको पछाडि), शुक्रपथ (विशाल बजारबाट इन्द्रचोक जाने सडक) र धर्मपथ (चारपांग्रे मात्रै) गरी पाँच स्थानमा स्मार्ट पार्किङको व्यवस्था मिलाइएको छ। अहिले दरबारमार्गमा समेत स्मार्ट पार्किङ सुरु गरिएको छ।

महानगरपालिकाले 'ह्विल्स ट्रुली एयर्स' सँग सहकार्य गरेर काठमाडौँमा 'स्मार्ट पार्किङ'को अवधारणा ल्याएको हो। यात्रुहरुको सहजताका लागि मोबाइलबाट नै स्मार्ट पार्किङ् बुकिङ गर्न मिल्ने व्यवस्थासहितको 'केटिएम पार्क' नामको एप पनि सञ्चालनमा ल्याइएको छ।

सेवाग्राहीले सुविधा प्रयोग गरेबापत् दुईपाङ्ग्रे सवारीका लागि प्रति घण्टा २५ रुपैयाँ र चारपाङ्ग्रे सवारीका लागि प्रति घण्टा ८० रुपैयाँ शुल्क तोकियो।

पार्किङ नै नभएको र भएको स्थानमा पनि चर्को शुल्क उठाउने गरेको गुनासोबीच स्मार्ट पार्किङ सुरु हुनुलाई धेरैले राम्रो माने। तर जब वास्तवमै स्मार्ट पार्किङ सुरु भयो त्यसका प्रयोगकर्ताहरुका गुनासा बढ्दै गए।

आरबी कम्पलेक्सअगाडि भेटिएका सुलभ महर्जन स्मार्ट पार्किङबारे गुनासो गर्नुका कारण धेरै भएको बताउँछन्। 'सडकको एक भागमा एउटा इलेक्ट्रिक बोर्ड राखेर मेसिनबाट बिल दिँदैमा स्मार्ट पार्किङ हुँदैन। यहाँ त स्मार्ट पार्किङको नाममा ठग्ने काम भइरहेको छ', उनले भने, 'एक घण्टाको २५ भनेको धेरै हो नि। यो त प्राइभेटमा उठाएको शुल्कसरह भयो। फेरि, हाम्रो गाडीको सुरक्षाको ग्यारेन्टी पनि त छैन।'

आधा घण्टाको १५, घण्टाको २५ नै  

एक घण्टाभन्दा कम समय स्मार्ट पार्किङमा सवारी पार्क गर्ने धेरैजसो उपभोक्ताको गुनासो शुल्कमा छ। ५ मिनेट पार्किङ गरे पनि २५ रुपैयाँ तिर्नुपर्ने, १ घण्टा गरे पनि २५ तिर्नुपर्ने। उपभोक्ताहरुको यही गुनासो सम्बोधन गर्न काठमाडौं महानगरपालिकाको नगरसभाले स्मार्ट पार्किङको शुल्कमा केही समायोजन गरेको छ।

महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलका अनुसार दुईपांग्रे सवारीको हकमा आधा घण्टाको पार्किङ शुल्क १५ रुपैयाँ निर्धारण गरिएको छ भने चारपांग्रेको हकमा भने आधा घण्टाको ५० रुपैयाँ कायम गरिएको छ। ३० मिनेटदेखि एक घण्टासम्मको शुल्क भने साबिककै रहनेछ। अर्थात् दुईपांग्रेको प्रति घण्टा २५ र चारपांग्रेको प्रति घण्टा ८०। यो शुल्क साउन १ गतेदेखि लागू भएको छ।

डंगोलले भने, 'यहाँ घण्टाकै १५ भनेर हल्ला फैलिएछ, त्यसो होइन। सेवाग्राहीहरुको गुनासो मध्यनजर गर्दै आधा घण्टाको शुल्क मात्रै समायोजन गरिएको हो।'

'२५ रुपैयाँ पनि महँगो भयो भन्ने गुनासो छ नि?' प्रश्नमा उनको जवाफ थियो, 'स्मार्ट पार्किङको व्यवस्था काम विशेषले आउने मानिसका लागि हो। उनीहरु छोटो समयका लागि नै आउने हुन्। शुल्क महँगो भए जस्तो लाग्दैन। केही भए हामी समायोजन गर्न तयार छौं।'

आधा घण्टाका लागि शुल्क घटे पनि प्रयोगकर्ताहरु अझै आश्वस्त बन्न सकेका छैनन्। चारपांग्रे सवारी चलाउनेभन्दा दुईपांग्रे सवारी चलाउनेका गुनासा धेरै रहेका छन्। सजिलोका लागि स्मार्ट फोनमा एपबाटै पार्किङ स्थान बुकिङ गर्ने व्यवस्था छ। तर धेरैजसोले एपबाट बुक नगरी सीधै पार्किङ स्थलमा नै पुगेर पार्किङ गर्ने गरेका छन्। 'ह्विल्स ट्रुली एयर्स' का अनुसार हाल दिनको करिब ६० जनाले मात्र एपमार्फत्  बुकिङ गर्ने गरेका छन्।

प्रत्येक पार्किङस्थलमा पैसा उठाउन निश्चित व्यक्ति र उनीहरुलाई सहयोग गर्न सहयोगी खटाइएको छ। प्रत्येक पार्किङस्थलबाट दिनमा ३० हजारदेखि ५० हजारसम्म रकम उठ्ने गरेको छ।

खिचापोखरीमा मात्रै मेसिनसहित बिल काट्न १० जना कलेक्टर रहेका छन्। एक कलेक्टरले बताएअनुसार दिनमा एकजनाले करिब ५ हजार (१० जनाले दिनको करिब ५० हजार) उठाउने गर्छन्। यस्तै, प्युखाका कलेक्टरले दिनमा करिब ४० देखि ५० हजार उठ्ने बताए। यही हिसाबमा स्मार्ट पार्किङबाट मात्रै दिनको लाखौं उठ्ने गरेको छ।

पार्किङ शुल्कबाट हुने कूल आम्दानीको २० प्रतिशत रकम महानगरपालिकाले पाउँछ। ८० प्रतिशत साझेदार कम्पनीले पाउँछ। महानगरदेखि राजस्व लगायतलाई तिर्नुपर्ने सबै कर त्यही ८० प्रतिशतबाट कम्पनीले तिर्नुपर्छ। स्मार्ट पार्किङका लागि आवश्यक जनशक्ति, प्रविधि र मेसिनको रेखदेखसहित सबै साझेदार कम्पनीले नै गर्नुपर्छ।

प्रयोगकर्ताहरु भने आफूसँग लिने रकमअनुसार सेवा सुविधा नपाएको गुनासो गर्छन्।

स्मार्ट पार्किङमा स्कुटरमाथि लुडो, सपना अटो लिफ्टको

विशाल बजारबाट इन्द्रचोक जाने बाटोमा रहेको स्मार्ट पार्किङमा कलेक्टर र सवारीचालक पनि खिचापोखरीमा झैं बहस गरिरहेका देखिए। एकजना आफ्नो स्कुटर कोरिएको भन्दै गुनासो गर्दै थिए भने कलेक्टर चाहिँ धेरै बाइकमाझ अलिअलि त्यस्तो हुने भन्दै थिए।

सोमवार हामी विशाल बजारबाट इन्द्रचोक पुग्नै लाग्दा दुईपांग्रे सवारीसाधनहरु पार्क गरिरहेको अवस्थामा प्रहरी भ्यान मोटरसाइकलका अगाडि बाटैमा पार्क गरिएको थियो। प्रहरीको गाडीमा ड्राइभर थिएनन्। गाडीले गर्दा सडक केहीबेर जाम हुन पुग्यो।

गाडी पार्क गरिरहेको तस्बिर खिचेपछि भने कताबाट हो ड्राइभर आए र फोटो डिलिट गर्नु भने, गाडीमा पसे र गाडी अगाडि सारे।

रामेश्वर स्विट्सको पछाडि  प्युखा मार्गमा रहेको 'स्मार्ट पार्किङ' पुग्दा पार्क गरिरहेको स्कुटरमाथि लुडो खेलिरहेका थिए।

त्यहाँ पार्किङ् लेनभन्दा बाहिर मोटरसाइकल तेर्स्याइएका थिए। यसबारे सोध्दा त्यहाँका कर्मचारीले भने, 'भनेको मान्दैनन्, बाइक अगाडि नै राखेर हिँड्छन्। पछि हामीले मिलाएर लेनमा राखिदिन्छौं।' स्कुटरमाथि बसेर लुँडो खेल्दा बाइक केही भयो भने जिम्मेवार को त भन्ने प्रश्नमा उनले पहिलेकै उत्तर दोहोर्‍याए, 'भनेको मान्दैनन्।'

स्मार्ट पार्किङका लागि भनेर छुट्याइएका प्रत्येक स्थानमा बाइक पार्क गर्न बेग्लै लेन छुट्याइएको हुन्छ। तर शुक्रपथबाहेक अरु स्थानमा त्यो नियम लागू भएको देखिएन। चारपांग्रेका लागि भनेर धर्मपथमा बनाइएको स्मार्ट पार्किङमा दुईपांग्रे सवारी नै पार्क गरिरहेको देख्न सकिन्छ। पार्किङ कम्पनीका कर्मचारीले मोटरसाइकल त्यहाँ पार्क नगर्न भने पनि जानाजान त्यहीं पार्क गरिरहेको गुनासो उनीहरुको छ।

अर्को गुनासो त्यहाँका स्थानीय र व्यवसायीहरुको छ। स्मार्ट पार्किङ नहुँदा सडकमा त्यहींकै स्थानीय र विशेषगरी त्यहाँका व्यवसायीले सित्तैंमा आफ्ना सवारीसाधन पार्क गर्थे।  अहिले स्मार्ट पार्किङ आइसकेपछि भने त्यहाँका व्यवसायीहरुलाई अलि गाह्रो भएको छ। पसलमा काम गर्न आउनेमध्ये धेरैका दुईपांग्रे सवारी छन्। अहिले पार्किङ गर्दा बिहानदेखि बेलुकीसम्मको पैसा तिर्नुपर्छ। त्यसैले धेरैले त आफ्नो बाइक नै ल्याउन छाडेको बताउँछन् न्युरोडको एउटा मोबाइल पसलमा कार्यरत रमेश बस्नेत।

अहिले खिचापोखरीमा रहेको दुईपांग्रे स्मार्ट पार्किङ र धर्मपथमा रहेको चारपांग्रे स्मार्ट पार्किङको बीचमा महानगरले स्थानीय र व्यवसायीलाई सजिलोका लागि नि:शुल्क पार्किङ गर्ने व्यवस्था मिलाएको छ। अस्तव्यस्त पार्किङमाझ बीच बाटोसम्मै मोटरसाइकल पार्क गरिन्छ। पार्किङकै कारण त्यहाँ जाम धेरै हुने गरेको स्थानीय बताउँछन्।

महानगरका प्रवक्ता डंगोल भने हाल धर्मपथमा रहेको नि:शुल्क पार्किङस्थलमा 'अटो लिफ्ट सिस्टम' सहितको स्मार्ट पार्किङ बनाउने बताउँछन्। 'हाल सडकमै सुरु गरिएको स्मार्ट पार्किङ अस्थायी हो। महानगरले धर्मपथमा रहेको खाली जग्गामा अटो लिफ्टसहितको स्थायी स्मार्ट पार्किङ बनाउन बजेट छुट्याएको छ, डंगोल भन्छन्, ‘त्यसपछि अहिले देखिएका समस्याहरु पनि समाधान हुने विश्वास छ।'



ट्रेन्डिङ पोस्ट

Ncell