PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

समाजवादी पार्टीको तल्लो तहको एकता सक्ने मिति सर्‍यो, राजपासँगको मिलाप छलफलमै सीमित



कुञ्जरमणि भट्टराई

समाजवादी पार्टीको तल्लो तहको एकता सक्ने मिति सर्‍यो, राजपासँगको मिलाप छलफलमै सीमित

काठमाडौं : डाक्टर बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी र उपेन्द्र यादवको संघीय समाजवादी पार्टीको एकतापछि बनेको समाजवादी पार्टी नेपालले असार मसान्तसम्ममा पार्टीको तल्लो तहको एकता टुंग्याउने उद्घोष गरेको थियो।

तर, एकता सक्ने भनिएको मिति सकिएको छ तर पार्टी जहीँको तही नै छ। सबै तहका एकता टुंग्याउन अझै केही समय लाग्ने नेताहरुले बताउन थालेका छन्।

पार्टीका उपमहासचिव डम्बर खतिवडाले असार मसान्तमा सबै तहका एकता टुंगो लगाउने भनिए पनि देशमा गएको बाढी पहिरोका कारण एकता प्रक्रिया केही दिन धकेलिएको मात्र दावी गरे।

समाजवादी पार्टीले सातै प्रदेशको एकता सैद्धान्तिक रुपमा टुंगो लगाइसकेको छ। साथै केही प्रदेश कमिटीको एकता घोषणा पनि गरिसकेको छ। कर्णाली, गण्डकी, सुदूर पश्चिम तथा प्रदेश पाँचको टुंगो लगाइएको अर्का उपमहासचिव प्रकाश अधिकारीले जानकारी दिए।

समाजवादी पार्टीले सात प्रदेश तथा प्रवास र विशेष प्रदेश गरी ९ वटा प्रदेशस्तरीय कमिटी बनाएको छ। ९९ जना प्रदेश सदस्य रहेको कमिटीमा ११ जना पदाधिकारी छन्।

पार्टीको ३५ जनवर्गीय संगठनमध्ये १५ वटाको आन्तरिक रुपमा टुङ्गो लगाइएको उपमहासचिव खतिवडाको भनाइ छ।

दलित, महिला, वकिल, पत्रकारलगायतका संगठनहरुको टुंगो लागे पनि मजदुर, युवा, विद्यार्थीका महत्वपूर्ण संगठनहरुको एकता बाँकी छ।

‘सिद्धान्तका हिसाबले सबै कमिटीहरुको एकता भइसकेको छ। बाँकी रहेका कमिटीहरुमा नाम फाइनल नभएका हुन,' उपमहासचिव अधिकारीले भने।

एकता पक्रियामा भागवण्डा नलगाइएको उनको दावी छ।

‘कुनै पनि कमिटीहरुको तत्कालीन पार्टीका लागि भनेर भागबण्डा गरिएको छैन। तथापि, सन्तुलन गर्ने प्रयत्न गरेका छौँ,' उनले भने।

समाजवादीले अब साउन महिनाभित्र सबै तहका एकता प्रकिया निष्कर्षमा पुर्‍याउने नयाँ मिति तय गरेको छ। गत वैशाख २३ गते एकतापछि बनेको समाजवादी पार्टीले जेठ ३० गते निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको थियो। निर्वाचन आयोगबाट औपचारिक रुपमा दल दर्ताको घोषणा भएको छैन।

समाजवादी र राजपाबीच एकता छलफल

यसैबीच समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकताको विषयमा छलफलले भने तीव्रता पाएको छ। दुई पार्टी नेतृत्वबीच चरणवद्ध छलफल जारी रहेको नेताहरु बताउँछन्।

‘एक्लाएक्लै हिँडेर देश विकास हुन सक्दैन। मुद्दा मिल्नेहरु एक हुँदै जानुपर्छ भन्ने कुरा हो। एकताको विषयमा छलफल भइरहेको छ,' खतिवडाले भने, ‘एकताका लागि सिद्धान्त र एकतापछिको व्यवस्थापन मिल्न आवश्यक हुन्छ।’

राजपाका महासचिव केशव झाले एकताका लागि छलफल भए पनि कुनै उपलब्धि हुन नसकेको जानकारी दिए।

‘बलियो राजनीतिक शक्ति बनाउनुपर्छ भन्ने मान्यता हो। जसका लागि सिद्धान्त नजिक रहेका दलबीच एकता आवश्यक छ,’ झाले भने, ‘एकताका विषयमा नेतृत्वतबीच छलफल भएको छ। तर, कुनै उपलब्धि हुन सकेको छैन।’ एकताको विषयमा केही दिनभित्र पुनः छलफल अगाडि बढ्ने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell