PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

राष्ट्रपतिको छाता प्रकरणको सन्देश : खुशी हुन ठूलो कारण चाहिँदैन



स्वेच्छा राउत

राष्ट्रपतिको छाता प्रकरणको सन्देश : खुशी हुन ठूलो कारण चाहिँदैन

साताको सुरुवातमा सोसल मिडियामा एउटा तस्विर सार्वजनिक भयो जसमा राष्ट्रपति विद्यादेवी भण्डारीले छाता ओढेकी छिन्, आफैँ। यहाँ 'आफै' ओड्नुसँग जोडिएको प्रसंग रोचक छ। किनकि राष्ट्रपतिले आफ्नो छाता आफै ओढ्नकै कारण तीन दिनदेखि उनको फोटो चर्चामा छ। फोटोमाथि रमाइला टिका टिप्पणीहरु भइरहेका छन्।

माइक्रो ब्लगिङ साइट ट्विटर प्रयोगकर्ता मुकेश घिमिरेले लेखेका छन्, 'हामीलाई चाहिएको राष्ट्रपति यस्तै हो। छाता सम्हाल्न नसक्नेले देशको अभिभावकीय भूमिका सम्हाल्न सक्दैनन्।'

नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का सांसद रामकुमारी झाँक्रीले फेसबुकमार्फत् राष्ट्रपतिलाई छाता बोकेकै कारण धन्यवाद व्यक्त गरिन्। उक्त तस्विर सेयर गर्दै लेखेकी छिन् - 'हिजो आज कार्यालयका सचिवालयका केही व्यक्ति र औपचारिक सैनिक घेराले जनताबाट अलग गर्न कोशिश गरेका छन्। राष्ट्रपति कार्यालयको प्रभाव तिनीहरूले दिन खोजेका छन्। ध्यान दिनुपर्ने देखिन्छ। दिदीले यो कुरा बुझ्नु भएछ जस्तो लाग्छ।'

उनले जनतालाई राष्ट्र प्रमुखबाट ठूलो कुरा केही नचाहिने बरु यस्तै साना व्यवहारबाट खुशी हुने समेत जनाएकी छिन्।

केहीले भने राष्ट्रपतिले आफ्नो छाता आफै बोक्नुलाई स्वभाविक भएको तर्क राखेका छन्। विनोद दाहालले लेखेका छन्, 'यो मुलुकमा राष्ट्रपतिले आँफैले समातेर छाता ओढ्दा पनि समाचार बन्छ अनि शीर्षक राखिन्छ - राष्ट्रपतिज्यूले आँफै ओढ्नु भयो छाता।'

त्यस्तै, सोमराज पाठक लेख्छन्, 'राष्ट्रपतिले आफै छाता ओढिन्, समाचार बनाउँछन् अर्को थरी हाँसो मजाक गर्छन्, रुस, अमेरिकातिरका राष्ट्र प्रमुखले जस्तै काम गरे के भन्छन् होला?'

केहीले व्यङ्ग्य गरे। केहीले गाली पनि।

गाली गर्न अन्त किन जानु? सरकारको उच्च तहमा व्याप्त हुकुमे शैली देखाउन राष्ट्रपतिको त्यही फोटो काफी थियो। फोटोमा राष्ट्रपतिसँगै देखिएका नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले राष्ट्रपतिको राम्रो प्रयासमा पानी फेरिदिए। त्यसपछि उनी सबैको तारो बने। राष्ट्रपतिले छाता आफै ओढ्दा नेपाललाई भने एक सुरक्षा गार्डले छाता ओढाएका थिए।

मानिसलाई के चाहियो र? 'राष्ट्रपतिले छाता आफैँ समाउँदा गभर्नरले पनि त्यसलाई पछयाएको भए हुने' तर्क देखा पर्न थाले।

खोट त्यही फोटोमा मात्रै देखेनन् मानिसले।

फोटोको बारेमा बहस चर्किँदै जाँदा अर्को फोटो सार्वजनिक भयो। कान्तिपुर मिडियाका फोटो संयोजक प्रकाश तिमिल्सिनाले छाता ओढेकै दिनको कार्यक्रममा खिचिएको अर्को फोटो सार्वजनिक गरे। जसमा राष्ट्रपति भण्डारीलाई एक सैनिकले छाता ओढाइदिँदै छन्। त्यसपछि सामाजिक सञ्जालको 'भिड' उल्टियो। आफै छाता ओढ्दा प्रशंसा गर्नेहरु 'यथार्थ' भन्दै छाता ओढाइएको फोटो सेयर गर्न थाले। यो क्रम तीन दिन बितिसक्दा पनि जारी छ। सत्ता समर्थक र विरोधी दुवैले दुई धारका फोटो सकेसम्म सेयर गरिहरहेका छन्।

सामाजिक सञ्जालको यो एउटा प्रतिनिधि घटनामात्र हो जसले प्रष्ट पार्छ मानिसलाई अत्याधिक खुशी हुन वा दु:खी हुन धेरै ठूलो कारण चाहिँदैन। त्यस्तै सकारात्मक होस् या नकारात्मक, प्रतिक्रिया जनाउन पनि धेरै समय चाहिँदैन।

मनोविद् करुणा कुँवर भन्छिन्, 'सामाजिक सञ्जालले मानिसमा हतास र आक्रोश बढाएको छ। हामी केही कुरा बुझ्न, सोच्न, विचार बनाउन समय नै लिँदैनौं।' उनका अनुसार मानिसले कुनै पोस्ट पहिलोपटक देख्ने बित्तिकै प्रतिक्रिया जनाउनु, त्यस पोस्टको पृष्ठभूमि र सत्यताबारे बुझ्न नखोज्नु, धैर्यता गुमाउनुले यस्तो अवस्था निम्त्याएको हो। त्यस्तै, सामाजिक सञ्जालमा धेरै समय बिताउनु पनि आक्रोश, यस्ता विषयमाथि चिन्ता, रिस बढाउनुको अर्को कारक हो।

'त्यसमाथि नेता वा अन्य कुनै सेलिब्रेटीमाथि त सबैलाई चासो हुन्छ। उनीहरु सम्बन्धित पोस्टहरुमा सर्वाधिक आक्रोश पोखिन्छन्,' उनले बताइन्, 'सामाजिक सञ्जालमा यस्ता विषय सामान्य लागे पनि मनोवैज्ञानिक हिसाबमा यसको असर व्यक्तिगत जीवनमा देखिन्छ।'

मानवशास्त्री डम्बर चेम्जोङ भने सामाजिक सञ्जालमा देखिने यस्ता प्रतिक्रियाहरुमा व्यक्तिको वास्तविक जीवन, सोच र बुझाइ झल्कने बताउँछन्। भन्छन्, 'सामाजिक सञ्जाल त माध्यम न हो। त्यही मार्फत् मानिसको वैचारिक पक्ष, विचारधारा कस्तो छ र आफूले आफैलाई कसरी चिन्छ भन्ने कुराहरु व्यक्त गरिरहेको हुन्छ।'

सामाजिक सञ्जालमा देखिने आक्रोश र उत्तेजनाले मानिसको समाज, सामाजिक क्रियाकलाप, मानिसको सार्वजनिक जीवनप्रतिको दृष्टिकोण बुझाउने उनको तर्क छ। भने, 'नकारात्मक विषयहरु बढी देखिन्छन्। यो सामाजिक सञ्जालको बढाइचढाइ गरिएको प्रयोग हो। यसबारेमा सोच्न आवश्यक छ।'

भनिन्छ, 'हावा नचली पात हल्लिन्न।' राष्ट्रपतिलाई छाता ओढाउनु, प्रधानमन्त्रीका लागि छुट्टै राजसी कुर्सी राखिनु, हिलैमा रातो कार्पेट बिछ्याइनु जस्ता क्रियाकलाप राजामहाराजासँगै राजनीति गर्दै हुर्केका नेताहरुलाई खुशी बनाउने एउटा अस्त्र हो भन्ने जमात कम छैन।

विदेशी राष्ट्रपति, प्रधानमन्त्रीले आफै छाता ‌ओढेको देखेका नेपालीले आफ्नाहरुबाट त्यही अपेक्षा गर्नु स्वभाविक हो।

गत वर्ष विश्वकपको समापन समारोहमा रसियाका राष्ट्रपति भ्लादमीर पुटिन निकै आलोचित बने। आयोजक राष्ट्रका प्रमुखको नाताले पुटिन मञ्चमा ट्रफी दिन उभिए। एक्कासी वर्षा भयो। पुटिनका अंगरक्षकले पुटिनलाई छाता ओढाए। उनलाई छाता ओढाउने व्यक्ति भने निथ्रुक्कै भिजेका थिए। पुटिनसँगै रहेका अन्य सरकार प्रमुख र फिफाका अधिकारीहरु पनि छाताबिहीन थिए। फ्रान्सले उपाधी जित्दैगर्दा सफलताका साथ विश्वकप आयोजना सम्पन्न गरेको रसियाको छवीलाई त्यसले धमिल्याउने प्रयास गर्‍यो।

आलोचनाका बीच त्यसै बेला पुटिनको अर्को भिडियो सार्वजनिक भयो। 'ग्रेट प्याट्रियोटिक वार' मा मारिएका शहीदहरुको सम्मानमा आयोजना गरेको एक परेडमा विश्वकपमा झै एक्कासी पानी पर्‍यो। शहीदहरुको समाधीस्थलमा माल्यार्पण गरिरहेका पुटिन भिजे। न कसैले छाता ओढायो, न पुटिनले नै ओढे। २०१७ मा खिचिएको त्यो भिडियोमा कोट पाइन्टमा सजिएका पुटिन गार्ड अफ अनरदेखि परेड भर पानीमा भिजिरहेको देखिन्छ।

'के पुटिनले त्यति बेला झै विश्वकपमा छाता नओढ्ने निर्णय आफै गर्न सक्दैन थिए?' धेरैको प्रश्न थियो।

यहाँ राष्ट्रपति विद्यादेवी भण्डारी र गभर्नर नेपालले पनि त्यही प्रश्नको सामना गरिरहेका छन्। के उनीहरुले अरुलाई नभिजाइ आफै छाता बोक्न सक्दैनन्?

यदि, सक्दैनन् भने उनीहरुले बुझ्नुपर्छ, 'अरुले ओढाएको छाताले पानी छेक्दैन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell