PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

शीतल निवासको कार्यक्रमले तताउँदै सामाजिक सञ्जाल : घरमा नाच्न करिश्माको अस्विकारदेखि सरोज खनालको 'कमोडासन'सम्म



मन्दिरा खत्री

शीतल निवासको कार्यक्रमले तताउँदै सामाजिक सञ्जाल : घरमा नाच्न करिश्माको अस्विकारदेखि सरोज खनालको 'कमोडासन'सम्म

काठमाडौं:  लगातार तीन वर्ष हुन नसकेको राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान शुक्रवार सम्पन्न भयो। तीन वर्षपछि भएको कार्यक्रम प्रति कलाकारहरुले नै असन्तुष्टि जाहेर गरेका छन्।

कार्यक्रम भएकै दिन नायिका करिश्मा मानन्धरले सामाजिक सञ्जालमा कार्यक्रम आयोजनास्थल प्रति असन्तुष्टि जाहेर गरिन्। त्यससँगै कार्यक्रममा सहभागी नायक सरोज खनालको एउटा फोटो करिश्माकै पोस्टकै कमेन्टबाट बाहिरियो।

करिसश्मा शीतल निवासमा आयोजित कार्यक्रमप्रति असन्तुष्टि जाहेर गर्दै कसैको घरमा गएर नाच्न स्विकार्य नभएको बताएकी थिइन्। उनले फेसबुकमा लेखेकी छिन्, 'एकादेशको कथा, पहिला पहिला देशमा राजा हुन्थ्यो र राजा पनि प्रज्ञा प्रतिष्ठानको हलमा कलाकारलाई हेर्न आउँथे! घर गएर नाच्न बिल्कुलै स्विकार्य छैन। बाहिर आउनुस तपाईं हाम्रो आमा हो। हामी तपाईंको लागि ज्यान दिन्छौं।'

करिश्माले फेसबुकमा कसैको नाम नलिए पनि उनले आमा भनेर सम्बोधन गरिएकी व्यक्ति राष्ट्रपति विद्यादेवी भण्डारी हुन् भन्न सहजै सकिन्छ। राष्ट्रपति निवासमा कार्यक्रम भएको थियो। पहिला राजा कलाकारहरुको नाच हेर्न प्रज्ञा प्रतिष्ठानमा आउने गरेको स्मरण गर्दै 'घर' भन्दै राष्ट्रपति भवनलाई इंगित गरेकी हुन्।

उनको यो पोस्ट सार्वजनिक भएसँगै कार्यक्रममा सहभागी नायक सरोज खनालले आफ्नो राष्ट्रपति निवास भित्रको 'उकुकुसमुकुस'लाई करिश्माको पोस्टमै पोखेका छन्। ट्वाइलेटभित्र कमोडमा बसिरहेको उनको तस्विर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

पटक पटक आलोचित हुँदै आएको सम्मान तीन वर्षदेखि राष्ट्रपति भण्डारीले समय नदिँदा हुन सकेको थिएन। 

करिश्माको स्टाटसमा सहमति जनाउँदै सरोजले कलाकारको सम्मान नभएको भन्दै मनको वह पोखे। ‘सम्मानित हुने र सम्मान गर्ने त सोफामा बिराजमान थिए तर हामी पर्फमर करिब ३५ जनालाई ८ बाइ १० को कोठामा कोचेर राखे। म चाँहि टवाइलेटको कमोडमा बसेर आफ्नो पालो पर्खी बसे,' उनले अगाडि लेखेका छन्, के गरुँ आफ्नै क्षेत्रको दुर्दशा पब्लिकलाई देखाएर आफनै बेइज्जत हुन्छ र सेयर गरिनँ। तर मनको बह कसैलाई कह भन्छन् त्यसैले आइ सेयर विथ यु।’

 

उनले यसअघि आफ्नो फेसबुकमा कार्यक्रममा सहभागी हुँदै गर्दा प्रेमपिण्डको पूरानो जोडी सार्वजनिक गरेका थिए। 'प्रेमपिण्ड'मा सविता बनेकी सन्नी रौनियारसँगको तस्विर सार्वजनिक गर्दै उनले लेखेका थिए, 'प्रेमपिण्डका सबिता (सन्नी रौनियार) र नकुल(म) करिब २५ बर्षपछि आज प्रेमपिण्ड सुटिङ भएकै स्थान शीतल निवासमा.....के भनु म कसो गरि परे मोहिनीको माया जालैमा!!'

शीतल निवासमा पुराना तथा नयाँ कलाकारहरुको जमघटको उत्साह सरोजसँग धेरै बेर टिक्न सकेन।

आयोजकले नृत्यका लागि तयार गरिएका कलाकारलाई एउटा सानो कोठामा कोचेर राखे।

कार्यक्रमको शुरुवातमा नेपाली चलचित्रको विभिन्न कालखण्डका उत्कृष्ट गीतहरु समेटेर तयार पारिएको नृत्य प्रस्तुत गरिएको थियो। नयाँदेखि पुरानासम्मका कलाकार एउटै गीतमा उतारिएका थिए। खनालसँगै, गौरी मल्ल, सनी रौनियार, रमेश उप्रेती, दीलिप रायामाझी, दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल, रेजिना उप्रेती, केदार घिमिरे 'माग्ने बुढा', पुष्प खड्का, नीता ढुंगाना, पवित्रा आचार्य, बिमला केसी, छुल्ठिम गुरुङलगायतले गीतमा नृत्य गर्दै थिए। नृत्यको संयोजन तथा निर्देशन वसन्त श्रेष्ठ, राजु शाह, कमल राई, गोविन्द प्रभात, कविराज गहतराज, दिपेन्द्र तिमल्सिनाले गरेका थिए।

'कार्यक्रम शुरु हुनु अगाडि सिनियर आर्टिस्टहरुलाई राम्रो कोठामा लगेर मेकअप गराउन लगाउनु भयो। अनि हामी को—डान्सरहरुलाई अर्को कोठामा लगेर मेकअप गराउन लगाउनु भयो,' खनालले पहिलोपोस्टसँग भने, 'दिउँसोको दुई बजेको थियो, त्यति बेला हाम्रो मेकअप सकेर ड्रेस चेन्ज गर्न भने बाँकी थियो। हामी ४० जना जतिलाई एउटै कोठामा खाँदेर राखिएको थियो।'

यसरी राखिएका कलाकारहरुले कपडा फेर्न पाएनन्। 'ड्रेस चेन्ज गर्न कहाँ जाने भन्दा बाहिर जाउ पानी परिरहेको थियो। त्यही कोठाको छेउमा एउटा सानो ट्वाइलेट थियो। उता कोठामा धेरै भिड भएकोले गर्दा म कमोडमै बसिरहे,' उनले भने। त्यतिनै बेला नायिका छुल्ठिम गुरुङले खनालको कमोडमा बसिरहेको फोटो खिचिदिइन्।

यस्तो तस्विर खिच्नेमा खनाल एक्ला थिएनन्। जयकिशन बस्नेतले पनि यस्तै फोटो खिचाएको खनालले बताए।

'बेलुका म घर फर्के र सोचे त्यो तस्विर पोस्ट गर्दिम कि भनेर पछि फेरि सोचेँ। आफ्नै क्षेत्रको के बेइज्जत गर्दिनु भनेर। तर शुरु देखि नै उहाँहरुले जुन रुपमा हामीलाई व्यवहार गर्नु भएको थियो, मलाई निकै चित्त दुखेको छ,' उनले भने, 'करिस्मा जीको पोस्ट देखेपछि रोक्नै सकिनँ। उहाँले पहिले नै बुझेर जानु भएन। मैले गुरुहरुको सम्मानका लागि नाच्न तयार भएको थिएँ।'

कार्यक्रममा करिश्मालाई पनि नृत्यका लागि बोलाइएको थियो। तर, करिश्माले त्यसलाई अस्विकार गरेकी थिइन्। 'उहाँ(करिश्मा) र म दुईजना एउटा गीतमा डान्स गर्ने कुरा भएको थियो,' खनालले भने, 'तर उहाँ कार्यक्रममा उपस्थित हुनु भएन। मलाई पनि डान्स नगरुमझै लागेको थियो, किन नाच्ने कसको लागि नाच्ने जस्तो लागेको थियो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell