PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

‘प्रिजन ब्रेक’ शैलीमा हिरासतबाट गायब थुनुवा: कसरी पुग्यो अदालतबाट हिरासतसम्म हयाक्सो ब्लेड?



सविन ढकाल

‘प्रिजन ब्रेक’ शैलीमा हिरासतबाट गायब थुनुवा: कसरी पुग्यो अदालतबाट हिरासतसम्म हयाक्सो ब्लेड?

काठमाडौ : सोमवार बिहानै समाचार आयो, ‘महानगरीय प्रहरी प्रभाग भैँसेपाटीको हिरासत कक्षबाट चार जना कैदी फरार।‘ प्रहरी प्रभागका थुनुवाहरुलाई हिरासत कक्ष सुरक्षाका हिसाबले सामान्य किसिमका हुन्छन्। शौचालयको अवस्था पनि उस्तै नाजुक हुन्छन्। भएपनि थुनुवाहरु सजिलै भाग्न सक्ने अवस्था हुँदैन।

भैंसेपाटी प्रभागबाट थुनुवाहरु शौचालयको झ्यालको ग्रील काटेर भागेको देखियो। झ्यालको ग्रील काट्नको लागि कम्तीमा पनि ह्याक्सो ब्लेडको आवश्यकता पर्छ। त्यसमाथि ग्रील काट्दा आवाज पनि उत्तिकै आउँछ। तर भैंसेपाटीको प्रभागभित्रको झ्यालको ग्रील काट्दा कुनै पनि प्रहरीले थाहा पाउँदैनन्।

अंग्रेजीमा एउटा प्रख्यात टेलिभिजन सिरिज छ, प्रिजन ब्रेक। यो सिरिजको प्रमुख पात्र जस्तासुकै सुरक्षित जेलबाट पनि भाग्न सफल देखाइएको छ। उसो त नेपालको केन्द्रीय कारागार, सुन्धारामा रहेका कैदी चार्ल्स शोभराज पनि जेलबाट भाग्न सिपालु मानिन्छन्। ‘उमेरले साथ दिएन नत्र शोभराजलाई हाम्रो जेलले के छेक्थ्यो’ भन्ने कथन नै छ नेपाल प्रहरीभित्र। तर भैंसेपाटी प्रभागबाट भागेका थुनुवा भने न त प्रिजन ब्रेकका ‘हिरो’ हुन्, न त शोभराजजस्ता खुंखार नै।

फरार भएका तीन जना थुनुवा मध्ये दुई जना पक्राउ परिसकेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले बुधवार साँझ बौद्ध जम्बुडाँडाबाट उनीहरूलाई पक्राउ गरेको हो। महाशाखाको टोलीले रुद्रलाल श्रेष्ठ र शम्शेर साझालाई नियन्त्रणमा लिएको महाशाखाका एसएसी सहकुल थापाले जानकारी दिए। फरार एक जनाको भने खोजी भइरहेको छ। प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेपछि देखियो, यिनीहरुले प्रिजन ब्रेककै हिरोको शैली पच्छ्याएका रहेछन्।

अदालतबाट लगेका थिए प्रभागसम्म ह्याक्सो

ह्याक्सोको कथा त्यही अंग्रेजी सिरिज प्रिजन ब्रेककै कथाबाट निकालेको जस्तो पनि लाग्न सक्छ। प्रहरीले रुद्र श्रेष्ठलाई अनुसन्धानको लागि म्याद थप गर्न ललितपुर जिल्ला अदालत उपस्थित गराएको थियो। जिल्ला अदालतमा रुद्र शौचालय जान्छन्। शौचालयमा रुद्रको साथी सुनिलले योजना अनुसार ह्याक्सो ब्लेड राखेका हुन्छन्। यता सुनिल निस्किएपछि शौचालय छिरेका रुद्रले ब्लेड आफ्नो साथमा राखेर फर्किन्छन्। र, प्रभागमा छिराउँछन्। ‘साथीले अदालतमा व्लट लगेर दिएको खुलेको छ। थप अनुसन्धान भइरहेको छ,‘ एसएसपी थापाले भने।

प्रिजन ब्रेकमा ‘हिरो’ले जेलबाट भाग्न आफ्नो योजनामा अरु कैदीलाई पनि मिसाउँछन्। ठीक त्यसैगरी रुद्रले पनि अन्य दुईजनालाई उनको योजनामा सामेल गराउँछन्। राति सुनसान भएपछि उनीहरुले झ्यालको ग्रील काट्छन् र फरार हुन्छन्। प्रभागमा चौबिसै घण्टा ड्यूटी अफिसर हुन्छन्। तर ड्युटीमा खटिएका प्रहरीले ग्रील काटेको पनि पत्तो पाउँदैनन्, र फरार भएको पनि।

प्रहरीले ह्याक्सो ब्लेड अदालतमा पुर्‍याउने सुनिल मगरलाई समेत पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। मगर विरुद्ध प्रहरीले चोरी अभियोगमा म्याद थप गरी अनुसन्धान गर्ने भएको छ।

को हुन् रुद्र?

गत वैशाख १५ गते साँझको समयमा ललितपुर गोदावरी नगरपालिका वडा नम्बर ९ छम्पीस्थित केशव थापाको घरका कोठाहरूको ताला फुटाई विभिन्न धनमाल चोरी गरेको आरोपमा प्रहरीले रुद्रलाई नियन्त्रणमा लिएको थियो।

त्यस्तै जेठ २८ गते रातीको समयमा ललितपुर लगनखेल स्थित बसपार्क को स्पिड सर्भिस कम्पनीको चाबी फोडी धनमाल चोरी गरेको आरोप पनि उनी माथि छ। ‘ यो त एकदमै नामुद चोर हो। हामी ललितपुरमा कुनै चोरी भयो भने रुद्र कहाँ छ? त्यसैको काम त होइन भनेर खोज्छौँ,‘ एक अनुसन्धान अधिकृतले भने।

रामेछाप घर भएका रुद्र विरुद्ध यसबर्ष नै चोरीका १७ वटा मुद्दा रहेका छन्। ‘ पटके चोर हो। भागेर पुन: चोरीमा नै संलग्न हुने बानी देखिएको छ,‘ एसएसपी थापाले भने।

रुद्रसहित तीनजना फरार हुनुमा प्रभागमा कार्यरत प्रहरीकै भूमिका देखिएको आशंकामा केही प्रहरीमाथि पनि छानबिन शुरु भएको छ। ‘ प्रहरी पनि शंकाको घेरा छन्। हामी अनुसन्धान गर्दछौं,‘ महानगरीय प्रहरी परिसर ललितपुरकी एसपी दुर्गा सिंहले भनिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell