PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

बदनामको बाटोमा सुरक्षाकर्मी: के प्रहरी सुध्रिँदै हो?



सविन ढकाल

बदनामको बाटोमा सुरक्षाकर्मी: के प्रहरी सुध्रिँदै हो?
फाइल फोटो

काठमाडौँ: जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी भोला रावलको मोबाइल फोन बजिरह्यो। पटक–पटक फोन गर्दा पनि उनले फोन उठाएनन्। गत बुधबार गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी विनोद शर्मा घिमिरेले एसपी रावललाई घटनाको जानकारी गराउन फोन गरेका थिए।

आफूभन्दा माथिल्लो निकायका अधिकारीले फोन गर्दा पनि किन उठाएनन् त? डिआइजी घिमिरेले व्यक्तिगत मोबाइल छोडेर अफिसको सञ्चार सेटमा खबर छाडे। बिहानको समय थियो। डिआइजीलाई सम्पर्क गर्न भन्ने खबर एसपी रावलसम्म पुग्यो। त्यसपछि एसपी रावलले डिआइजी घिमिरेलाई फोन फर्काए।

केही समयपछि एसपीको फोन आएपछि डिआइजी भने चकित परे। फोनमा एसपीको बोली सामान्य थिएन। लर्वराएको आवाजमा धम्की र हस्यौली पारामा बोल्दै थिए उनी। डिआइजी घिमिरेले एसपीको अवस्था बुझ्न लगाए। एसपी त बिहानैदेखि रक्सीको नशामा चुर रहेछन्।

तत्काल नै एसपी रावललाई जिम्मेवारीबाट हटाइयो।

नेपाल प्रहरीले आफ्ना कर्मचारीले कुनै पनि संगठनको आचरण विपरीत काम गरेको खण्डमा गृह मन्त्रालयको स्वीकृतिमा सेवाबाट हटाउने, निलम्बन गर्ने, बर्खास्त, पद घटुवा, पदोन्नति रोक्कासम्म गर्न पाउँछ। माथिल्लो तहका प्रहरीमात्र होइन तल्लो दर्जाका प्रहरी पनि आचरण विपरीत काम गर्ने गरेको उदाहरण नेपाल प्रहरीमा थुप्रै छन्।

आइतबार साँझ प्रतिबन्धित कस्तुरीको विनासहित पूर्वमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (ने क पा) नेता दीनानाथ शर्माका अंगरक्षक पक्राउ परे। महानगरीय कार्यालय रानीपोखरीको टोलीले हवलदार बमबहादुर चन्दलाई आइतबार साँझ पक्राउ गरेका थिए। हवलदार चन्द सुकेधाराको डाँफे रेष्टुरेष्टबाट पक्राउ परेका हुन्।

‘प्रतिबन्धित कस्तुरीको विनासहित पक्राउ गरेका हौँ। थप अनुसन्धान भइरहेको छ। उनलाई कानुन बमोजिम कारबाही हुन्छ' कार्यालयका एसएसपी श्याम ज्ञवालीले जानकारी दिए।

सुरक्षा सेवा निर्देशनालयले खटाएपछि दैलेख घर भएका ३५ वर्षीय हवलदार चन्द केही समयदेखि ने क पाका राष्ट्रियसभा संसदीय दलका नेतासमेत रहेका पूर्वमन्त्री शर्माको पिएसओ रूपमा कार्यरत थिए।

चोरी, भष्टाचार, ड्युटी समयमा मादक पदार्थ सेवन, तस्करीमा सहयोग जस्ता घटनामा प्रहरीको संलग्नता पाइन्छ।

तर, प्रहरीको तथ्यांक हेर्ने हो भने कारबाहीको संख्या भने घट्दो क्रममा देखाउँछ। के प्रहरी सुध्रिँदै गएको हो? वा प्रहरीमाथि विभागले गर्ने कारबाही कम भएको हो?

प्रहरी महानिरीक्षक सचिवालयका एसपी रमेश थापा प्रहरीको आचरणमा सुधार आएको दाबी गर्छन्। भन्छन्, 'तथ्यांकमा मात्र होइन व्यवहारमा पनि प्रहरी सुधारिएको छ। प्रत्येक इकाइमा रहेका नेतृत्वकर्ताको कारण पनि यस्तो भएको हो।'

 

घट्दो प्रहरी कारबाही?

प्रहरीको तथ्यांकले केही वर्षयता प्रहरी कारबाहीको संख्या घट्दै गएको देखाउँछ। आर्थिक वर्ष २०७३/७४ मा २ हजार २ सय ८१ जना प्रहरी कारबाहीमा परेका थिए। जसमध्ये १ हजार २ सय ६ जनालाई नसिहत दिइएको थियो। २४ जना बर्खास्तमा परेका थिए। १ सय ५१ जनालाई निलम्बन गरिएको थियो।

आर्थिक वर्ष २०७४/७५ मा प्रहरीको कारबाही संख्या घटेको देखिन्छ। एक वर्षको अवधिमा २ हजार २ सय ६५ जना कारबाहीमा परे। १ हजार २ सय २७ जनाले नसिहत पाए। २ सय २ जना निलम्बनमा परे। २ सय ७२ जना प्रहरीलाई नोकरीबाट हटाइयो।

विभागीय कारबाही बढेसँगै प्रहरी केही हच्किए अथवा कारबाही नै गर्न कम गरियो?

आर्थिक वर्षको दश महिनामा प्रहरी कारबाहीको सङख्या १ हजार १ सय ६४ मात्र छ। प्रहरी कारबाहीमा मात्र सुधार नभएर यसले समाजमा पारेको प्रभावबाट मात्र प्रहरीको सुधार भए नभएको मूल्यांकन गर्न मिल्ने पूर्वएआइजी देवेन्द्र सुवेदी बताउँछन्। 'प्रहरी कारबाहीको सङख्या घटेर मात्र हुँदैन। के सर्वसाधारणले त्यसको अनुभूति गर्न पाएका छन्? यो मुख्य कुरा हो,' सुवेदीले भने।

 

तल्लो तहमा बढी कारबाही

सबैभन्दा बढी कारबाही हुने प्रहरी सूचीमा पदअनुसार प्रहरी जवान नै रहेका छन्। आर्थिक वर्ष २०७३/७४ मा १ हजार ५ सय ७८ जना प्रहरी जवान कारबाहीमा परेका थिए। आर्थिक वर्ष २०७४/७५ मा १ हजार ५ सय ७३ जना जवानलाई कारबाही भएको थियो। चालु आर्थिक वर्षमा ८ सय २८ जना कारबाही भएको छ।

आर्थिक पारदर्शिता, नेतृत्व क्षमता र संगठनको नियमित अनुगमनको कारण प्रहरीको आधारणमा सुधार भएको एसपी थापाको दाबी छ। अहिले प्रहरीलाई कसैले घुस दियो भने पक्राउ गर्दै सार्वजनिक समेत गर्न थालेको छ।

प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार गत असोज महिना यता १ सय ३८ स्थानमा घुस दिने १ सय ५२ जनालाई नियन्त्रणमा लिएको देखिन्छ। ‘उनीहरूमा पारदर्शिता देखिएको छ। अनुगमनको डरले पनि घटना कम भएका छन्,‘ एसपी थापाले भने।

तर, प्रहरीले पछिल्लो समय सय र हजार रुपैयाँ घुस दिने धेरै पक्राउ परेको छ तर लाखौँ र करोडौँ घुस दिएको व्यक्ति पक्राउ परेको भन्ने चाहिँ छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell