PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

विषादी परीक्षण रोकेको विरोधमा बाटोमै तरकारी राखेर नेवि संघको प्रदर्शन

विषादी परीक्षण रोकेको विरोधमा बाटोमै तरकारी राखेर नेवि संघको प्रदर्शन

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले भारतीय तरकारीको विषादी परीक्षण रोकिएको विरोधमा आज पनि प्रदर्शन गरेको छ।

सोमबार बिहान पुतलीसडकको शंकरदेव क्याम्पस अगाडि बाटोमा तरकारी राखेर नेवि संघले प्रदर्शन गरेको हो।

भारतबाट आयात गरिने तरकारी र फलफूलमा हुने विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछि हटेपछि नेवि संघले तत्कालै परीक्षण थाल्गन माग गरेको छ।

नेविसंघले असार २३ गते देशैभरका क्याम्पस अगाडि विषाक्त तरकारी, फलफूलसहित प्रदर्शन गर्ने निर्णय गरेको थियो। सोही अनुसार आज बिहान नेवि संघले प्रदर्शन गरेको हो।

सरकारले असार २ गते सरकारले राजपत्रमा सूचना प्रकाशित गरी भारतबाट आयात हुने तरकारी फलफूल लगायतका वस्तुको गुणस्तर परीक्षणपछि मात्र प्रवेश दिने जनाएको थियो। कृषि मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले गरेको निर्णय तयारी नपुगेको भन्दै सरकारले फिर्ता लिएपछि नेवि संघले विरोध गर्दै आएको छ।

उद्योग तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा सरकारले यस सम्बन्धी निर्णयलाई उल्ट्याउँदै पूर्ववत भित्र्याउन निर्देशन जारी गरेको थियो। कृषि मन्त्रालयको प्रस्तावमाथि भएको निर्णय उल्ट्याउने क्रममा पूर्वाधार नभएको भन्दै स्पष्टिकरण दिइएको छ।

तर, कृषि मन्त्री चक्रपाणि खनालले भने यसको खण्डन गरेका छन्। आइतवार राष्ट्रिय सभामा बोल्दै मन्त्री खनालले काठमाडौंको कालिमाटीस्थित केन्द्रमा २९ विषादी समूहको परीक्षण हुने र अन्य ६ ठाउँमा पनि यसको परीक्षण हुने दाबी प्रस्तुत गरे।

उनले कर्णाली प्रदेशबाहेकका स्थानमा विषादीको परीक्षण हुने दाबी प्रस्तुत गरेका थिए। 



ट्रेन्डिङ पोस्ट

Ncell