PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

पौडेलको मृत्यु दोहोरो गोली हानाहानमा नभएको नेकपाको दाबी, पक्राउपछि टाउकोमा गोली हानेर हत्या गरेको आरोप



पौडेलको मृत्यु दोहोरो गोली हानाहानमा नभएको नेकपाको दाबी, पक्राउपछि टाउकोमा गोली हानेर हत्या गरेको आरोप

काठमाडौंः सर्लाहीमा प्रहरीको गोली लागि मृत्यु भएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा कम्युनिष्ट पार्टीका सर्लाही इञ्चार्ज कुमार पौडेललाई सो पार्टीले शहीद घोषणा गरेको छ। साथै नेकपाले प्रहरीले पौडेललाई नियन्त्रणमा लिइ हत्या गरेको आरोप लगाएको छ।

पार्टीका जनकपुर ब्युरो इञ्चार्ज अरुणले विज्ञप्ति जारी गर्दै प्रहरीले दिउँसो पक्राउ गरी गोली हानी हत्या गरेको दाबी गरेका छन्।

प्रहरीले सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. १ लखन्ती खोलामा साथीहरु कुरिरहेको अवस्थामा नियन्त्रणमा लिएर चिनिसकेपछि एक गोली हातमा र अर्को गोली टाउकोमा प्रहार गरी पौडेलको हत्या गरिएको आरोप विज्ञप्तिमा लगाइएको छ।

विज्ञप्तिमा हत्याको बदला लिने चेतावनीसमेत दिइएको छ। ‘नेपाल कम्युनिस्ट पार्टी यो गैरन्यायिक हत्याको विरोध र भत्र्सना गर्दछ र ओली सरकारको राज्य आतंक र हत्याको बदला एकीकृत जनक्रान्तिकै माध्यमबाट लिने प्रतिवद्धता पनि व्यक्त गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी शहीदहरुको बलिदान खेर जान नदिने साथै एकीकृत जनक्रान्ति सफल गरि छाड्ने प्रतिवद्धता प्रकट गर्दछ।’

आज दिउँसो प्रहरीको गोली लागि विप्लव समूहका नेता कुमार पौडेलको मृत्यु भएको थियो। दुई नम्बर प्रदेशका प्रहरी प्रमुख हरि पालले भने दुबै पक्षबीच गोली हानाहान हुँदा पौडेलको मृत्यु भएको दाबी  गरेका छन्।

त्यस्तै नेपाल प्रहरीका प्रवक्ता डिआइजी विश्वराज पोखरेलले लालबन्दीबाट सिन्धुलीतर्फ गइरहेका दुईवटा मोटरसाइकललाई प्रहरीले रोक्न खोज्दा गोली हानाहान भएको दाबी गरेका छन्।

प्रहरीले पौडेलको साथबाट पेस्तोल र गोलीसमेत बरामद गरेको प्रहरीले दाबी गरेको छ। प्रहरीले ना २२ प ५६ नम्बरको १ सय ५० सिसिको पल्सर मोटरसाइकल र अर्को अन टेष्ट लेखिएको मोटरसाइकल समेत फेला पारेको छ। दुईवटा मोटरसाइकलमा आएका चारजनाले प्रहरी माथि फायर खोलेको प्रवक्ता डिआइजी पोखरेलले बताए।

मारिएका पौडेलले बोकेको झोलाबाट थ्री नट थ्री राइफलको गोली र  सिक्सर पेस्तोल समेत फेला पारेको प्रहरीले  जानकारी दिएको छ। घटनामा बाँकी तीन जना भने भाग्न सफल भएका छन्।

मारिएका पौडेल चुरेभावर, नेकपा माओवादी,  बैद्य  नेतृत्वको माओवादी हुदै विप्लव समुहमा आएका थिए।

केही अघि भोजपुरको ट्याम्के मैयुङ गाउँपालिकामा पनि प्रहरीको गोली लागेर एक कार्यकर्ताको मृत्यु भएको थियो। गस्ती टोलीमाथि गोली प्रहार गर्न खोजेपछि प्रहरीको गोली लागि नेकपा नेता तीर्थराज घिमिरे मृत्यु भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell