PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

राष्ट्रिय बिच भलिबल : चन्द्र र तोरण तथा मान बहादुर र दिलको जोडीको विजयी सुरुवात



पहिलोपोस्ट

राष्ट्रिय बिच भलिबल : चन्द्र र तोरण तथा मान बहादुर र दिलको जोडीको विजयी सुरुवात

पोखरा : पुलिसका चन्द्र कुंवर र तोरण चन्दको जोडीले छैटौँ राष्ट्रिय बिच भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन्।

पुरुषतर्फको स्पर्धामा चन्द्र र तोरणको जोडीले एपीएफका महेन्द्र श्रेष्ठ र विजय थापामगरको जोडीलाई २१–१८, २१–९ को सेटमा पराजित गरे। त्यस्तै आर्मीका मानबहादुर श्रेष्ठ र दिल सुनुवारको जोडीले कर्णाली प्रदेश बी लाई २१–५, २१–१३ को सेटमा हराए।

गण्डकी प्रदेशका सन्जु विक्रम शाह र रमेश केसीको जोडीले पुलिसका धुव्र केसी र प्रकाश कटुवालको जोडलिाई २१–१२, २१–१२ को सेटमा पराजित गरे।

त्यस्तै महिलातर्फ पुलिसका कोपिला उप्रेती र निता शाहको जोडीले एपीएफका शशी चौधरी र पूजा चौधरीको जोडीलाई २१–६, २१–१२, पुलिसकी मनिषा चौधरी र पुष्पा चौधरीको जोडीले गण्डकीका रुपा थापा र पूर्णिमा ठाकुरको जोडीलाई २१–१४, २१–१५ को सोझो सेटमा हराउंदै विजयी सुरुवात गरेका छन्।

महिलातर्फ नै एपीएफका विनिता बूढाथोकी र नेबिका चौधरीको जोडीले प्रदेश ५ का राधा बुढाथोकी र अन्जना बुढाथोकीको जोडीलाई २१–१३, २१–५ तथा आर्मीकी मनिषा खांड र पुष्पाको जोडीले प्रदेश ३ लाई २१–१३, २१–६ ले हराउंदै विजयी सुरुवात गरेका छन्।

प्रतियोगिताको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री तथा नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले नेपाल हरेक दृष्टीकोणले अगाडी रहेको बताएका थिए। उनले नेपाल हिमाल, पहाड, तराई र यहाँको मौसमले पनि खेलकुदका लागि सम्भावनाले भरिएको मात्रै नभई नेपाल अनुकुल वातावरण रहेको समेत बताउँदै भने– ‘यसका लागि खेलकुदमा विशेष ध्यान दिंदै लगानी बढाउन आवश्यक छ।’

अध्यक्ष प्रचण्डचले खेलकुदलाई विगतमा सामान्य मनोरंजनका रुपमा लिए पनि खेलकुद बहुआयमिक र समृद्धीका लागि आफूहरुले चाहेको जस्तो सुखी र खसी नेपालीको लागि पनि महत्वपूर्ण रहेको बताउँदै भने–‘खेलकुदको बजेट र निति तथा कार्यक्रममा समेत सोही अनुरुपले बजेटको व्यवस्था गर्न म विशेष जोड दिन चाहन्छु ।’

यहि असार ७ गते सम्म संचालन हुने प्रतियोगितामा महिलातर्फ १४ र पुरुष तर्फ १७ टिम गरि कूल ३१ टिमको सहभागिता रहेको छ।

प्रतियोगिताको विजेता महिला तथा पुरुष टोलीले समान नगद ३०-३० हजार प्राप्त गर्ने छन्। द्वितीय हुनेले २०-२० हजार तथा तेस्रो हुने टोलीले १०-१० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ। उत्कृष्ट महिला तथा पुरुष दुवै खेलाडीलाई पनि नगद ३-३ हजारबाट पुरस्कृत गरिने बताइएको छ। तीन दिनसम्म आयोजना हुने प्रतियोगिता सम्पन्न गर्न २२ लाख ५० हजार खर्च लाग्ने संघले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell