PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

आकाशकी रानी प्रिया, ज्यान जोखिममा राखेर खट्छिन् पर्वतारोहीको उद्धारमा



पहिलोपोस्ट

आकाशकी रानी प्रिया, ज्यान जोखिममा राखेर खट्छिन् पर्वतारोहीको उद्धारमा
फोटो: Siobhan Heanue/ABC News

'यदि भगवानले पृथ्वी बनाएका हुन् भने उनले पृथ्वीको स्वर्गका रुपमा नेपाल बनाए। हेर्नुस त्यो स्वर्ग' नेपालकी हेलिकप्टर पाइलट प्रिया अधिकारीले आफ्नो विमान विश्वको सर्वोच्च शिखर सगरमाथा माथि उडाउँदै भनिन्।

आफ्नो हेलिकप्टर ककपिटबाट अधिकारीले सगरमाथालगायत अन्य चुचरो देखाउँदै थिइन्। त्यसैबीच उनका एक यात्रुले सोधे,'के तपाईँ हिमाल आरोहण गर्नुहुन्छ?' अधिकारीले हाँस्दै उत्तर फर्काइन्,' म आरोहण गर्दिनँ। विमान अवतरणमात्रै गर्छु।'

अधिकारी नेपाली महिला हेलिकप्टर चालकमध्ये एक मात्रै रेस्क्यु पाइलट हुन्। उनले  हिमाल चढ्ने आशमा आएका धेरै पर्वतारोहीको बीच बाटोमै मृत्यु भएको देखेकी छिन्। यस्तै पर्वतारोहणका क्रममा आउने थुप्रै अवरोधहरुको साक्षी बसेकी छिन्।

दैनिक उद्धार कार्यमा खट्दा उनले धेरै कठिनाइको सामना गर्नुपर्ने हुन्छ। महिला भएका कारण व्यावसायिक काममा कतिको चुनौती सामना गर्नुपर्छ भन्ने प्रश्नमा उनले भनिन्, 'म दैनिक केही न केही अप्ठ्याराहरुको सामना गरिरहेको हुन्छु। मैले त्यस्ता हजारौँ चुनौतीहरुको सामना गरेकी छु।'

'पहिलो कुरा त यात्रुहरुको विश्वास हो। जब उनीहरु मलाई देख्छन् केहीले 'ओहो, महिला पाइलट' भन्छन्।'

जब उनले हिमालय क्षेत्रका दुर्गम क्षेत्रमा हेलिकप्टर उडाउन सुरु गरिन् पुरुषहरुले उनलाई गेष्ट हाउसमा एक्लै बस्न डर लाग्दैन र मौसम प्रतिकूल भए शेर्पा पुरुषहरुले भरिएको टेन्टमा बस्न अप्ठ्यारो लाग्दैन भनेर प्रश्न सोध्ने गर्थे।

'हवाई उडान क्षेत्र पुरुषहरुको वर्चश्व रहेको काम हो। नेपाल पुरातनवादी सोच भएको राष्ट्र हो जहाँ महिलाहरुलाई घरमै रहनुपर्छ भन्ने सोच छ। काम गर्नुपरे पनि सजिलो काम मात्रै गरोस् भन्ने सोच्छ।'

पहिला हवाई उडानको  'क्याबिन एटेन्डेन्ट' का रुपमा काम सुरु गरेकी अधिकारी भन्छिन्,'जब म पहिलोपटक हेलिकप्टरभित्र पसे र हेलिकप्टर उड्यो। म आफू पाइलट बन्न सक्छु जस्तो लाग्यो।'

मिस नेपालमासमेत सहभागी भइसकेकी अधिकारीका लागि त्यो नौलो अनुभव थियो।

***

पर्वतारोहीलाई आफ्नै अक्सिजन दिने अधिकारी

अधिकारीलाई कुनै पनि बेला पर्यटक लिएर माउन्टेन फ्लाइट गरिरहेको अवस्थाबाट फिर्ता बोलाउन सकिन्छ। उनलाई हिमाल चढ्ने क्रममा घाइतेहरुको उपचारका लागि औषधि पुर्‍याउन वा हिमालमा मृत्यु भएको पर्वतारोहीको शव लिन उडान भर्न पठाउन सकिन्छ।

हिमाल चढ्ने क्रममा मृत्यु भएकाहरुको शव धेरै वर्षपछि मात्रै फेला पर्ने गरेको छ। अधिकारीका अनुसार भर्खरै उनले २००६ मा मृत्यु भएका एक शेर्पाको शव भेटाएकी थिइन्।

यस्तै, सगरमाथा आरोहणका क्रममा २०१६ मा मृत्यु भएकी अस्ट्रेलियन पर्वतारोही मारिया स्ट्राडोमको शव पनि उनैले काठमाडौँ ल्याइपुर्‍याएकी थिइन्।

केही समयअघि मात्रै खुम्बु क्षेत्रमा लेक लागेपछि अशक्त बनेकी अस्ट्रेलियाकी १६ वर्षीया युवतीलाई अधिकारीले नै उद्धार गरेकी हुन्। निकै गम्भीर अवस्थामा रहेकी उक्त युवतीलाई अधिकारीले आफूले नै प्रयोग गर्दै आएको 'अक्सिजन सप्लाई' दिएकी थिइन्।

उनी सम्झिन्छिन्,'मलाई लाग्यो- तिमी भर्खरै १६ वर्षकी भयौ। तिमीले जीवनलाई राम्ररी देखिकी छैनौ र यहाँ आफ्नो जीवनसँग लडिरहेकी छौ। त्यो मेरो लागि निकै भावुक क्षण थियो।'

हिमालय क्षेत्रमा प्रवेश गरेसँगै अक्सिजनको कमी हुने हुनाले 'सिङ्गल इन्जिन हेलिकप्टर'मा सिङ्गल पाइलट भएर उडान गर्दा अधिकारी हाइपोक्सियाबाट बच्न अक्सिजन सिलिन्डरको प्रयोग गर्छिन्।

अधिकारीले उद्धार गर्ने विषयमा भर्खरै आफ्नै व्यक्तिगत रेकर्ड तोडेकी छिन्। उनले विश्वको तेस्रो उच्च हिमाल कञ्चनजंगा पुग्ने क्रममा ६ हजार २ सय मिटर‍ उचाईमा रहेको क्याम्पबाट एक पर्वतारोहीको उद्धार गरेकी थिइन्।   

आकाशकी रानी, घरकी छोरी

घरमा रहँदा प्रिया बिहान ५ बजे उठिसक्छिन् र आफ्नो बुबाका लागि चियानास्ता बनाउँछिन्। आम नेपाली युवती झै उनी आफ्नो घरप्रतिको माया र परिवारिक कर्तव्य निर्वाह गरिरहेकी छिन्।

बिहान ६ बजे उनी आफ्नो घरबाट विमानस्थलका लागि हिँड्छिन्।

कार्यालयमा उनी आफ्नो पुरुष साथीहरुसँग दैनिक मिसन, मौसमको अवस्था लगायतका विषयमा छलफलमा व्यस्त हुन्छिन्।

ग्रामीण क्षेत्रमा काममा खटिँदा प्रियाले सबै काम आफैं गर्नुपर्छ। हेलिकप्टरमा इन्धन भर्ने, रोटर्सको जाँच गर्न हेलिकप्टरमाथि चढ्ने इत्यादि काम उनी आफैं गर्छिन्।

प्रिया भन्छिन्, 'जब मानिसहरु मलाई 'के तिमीले गरेको काम केटीहरुले गर्ने काम हो?' भनेर प्रश्न गर्छन्। म भन्छु 'होइन नि। यो त केटाहरुको काम हो। म जे काम गर्दैछु त्यो निकै गाह्रो छ।'

***

नेपालमा हेलिकप्टरबाट उद्धार र राहत गर्ने विषय केही समययता विवादित रहेको छ। उद्धार कार्यमा भ्रष्टाचार र घोटालाका घटनाहरु राष्ट्रिय/अन्तर्राष्ट्रिय सञ्चार माध्यमबाट सार्वजनिक भए।

'फेक रेस्क्यू' गर्ने कार्यमा केही ट्रेकिङ कम्पनी, अस्पताल र विमान कम्पनी संलग्न रहेको खबर प्रकाशित भएका थिए। पर्यटकहरुलाई नचाहेको खण्डमा विमानलाई उद्धार गर्न बोलाउन लगाएर ती कम्पनीहरुले बीमा रकमको दाबी गर्ने गरेका थिए।

अधिकारी विमान सेवामा सुरक्षाको स्तरको आलोचना गर्न पछि पर्दिनन्। यही वर्ष पार्क गरिरहेको उनको हेलिकप्टरलाई रनवेबाट आएको एक विमानले ठक्कर दिएको थियो। उक्त विमान दुर्घटनाको समाचारलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्चार माध्यमले प्राथमिक्ता दिँदै प्रकाशित गर्‍यो।

उक्त दुघटना हुँदा प्रिया ककपिटमा बसेर कफी पिउँदै थिइन्। सो दुर्घटनामा तीन जनाको मृत्यु भएको थियो। उनी भने बचिन्।

कुनै अनुसन्धान बिना सोही एयरपोर्टमा विमान दुर्घटना गराएको एयरलायन्स कम्पनीको विमान फेरि उडेको देख्दा उनी आजित भइन्।

यद्यपि विश्वकै उच्च हिमालहरुमा विमान उडान गर्ने काम नेपालमा भइहन्छ।

विश्वमा विमानबाट उच्च भाग (७,०१७ मिटर) मा उद्धार गरेको रेकर्ड नेपालकै नाममा छ। त्यस्तो विमान उडाउने पाइलटलाई अति विशेष अपरेटरका रुपमा लिइन्छ।

यही वर्ष एक पर्वतारोहीको बीमा कम्पनीले उद्धारका लागि हेलिकप्टर पठाउन अस्वीकार गरेपछि ७,५०० मिटर देखि ७,७०० मिटर उचाइबीच हराइरहेका सो पर्वतारोहीकी श्रीमतीले श्रीमानको उद्धार गर्न पाइलटलाई कम रकम दिइन्। अवस्था प्रतिकूल भए पनि हराइरहेका पर्वतारोहीलाई उद्धार गरिरहेको थियो।

***

यसपटक चर्चामा रह्यो पर्वतारोहीले भरिएको खचाखच सगरमाथाको तस्विर। अनुभव नभएका पर्वतारोही र गाइडहरुले सर्वोच्च शिखर चुम्न कोसिस गर्दा धेरै दुर्घटना हुने गरेको छ। यो सिजनमामात्रै करिब ११ जना पर्वतारोहीको सगरमाथा चढ्ने क्रममा मृत्यु भएको समाचारले सगरमाथामा 'ट्राफिक जाम' भएको बारेमा बहस नै चल्यो।

अधिकारी अवस्था प्रतिकूल हुँदा पनि कहिलेकाहीँ जोखिम लिएर उद्धार गर्न जाने गरेको बताउँछिन्। तर, हिमालहरुले उनलाई जित्ने गरेको छ।  

प्रिया भन्छिन्,' कोही त्यहाँ मर्ने अवस्थामा रहेको बारेमा अवगत हुँदाहुँदै पनि मौसमले चुनौती दिँदा निर्णय लिन निकै गाह्रो हुने गर्छ।'  उद्धारको लागि उडे पनि मौसमका कारण उनी त्यहाँसम्म पुग्न सक्दिनन्।

'हेलिकप्टर आउला र आफूहरुलाई उद्धार गर्ला भनेर त्यहाँ कोही कुरेर बसिरहेको हुन्छ। तर हामी त्यहाँ नपुग्दा आफैंलाई नराम्रो लाग्छ।'

सगरमाथा क्षेत्रमा हवाई उडानमा जाँदा उनी इन्धन भर्न केही समय रोकिइन्। त्यही क्रममा गाउँको एक युवकले आएर उनलाई एउटा उपहार दियो। जब उनले त्यो उपहार खोलेर हेरिन् त्यहाँ यार्सागुम्बा थियो। त्यो बहुमूल्य उपहारका साथै युवकले उनलाई एउटा विशेष सन्देश दिए।

युवकले प्रियालाई भने,'यो तिम्रो लागि। जहिल्यै सुरक्षित तरिकाले उडान गर्नू।'

(अस्ट्रेलियाको एबिसी न्युजमा प्रकाशित सामग्रीको सहयोग रञ्जितले गरेको भवानुवाद)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell