PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

दोस्रो कार्यकालका लागि ट्रम्पले थाले निर्वाचन अभियान, १० लाख अवैध आप्रवासीलाई देश निकाला गर्ने उद्घोष



दोस्रो कार्यकालका लागि ट्रम्पले थाले निर्वाचन अभियान, १० लाख अवैध आप्रवासीलाई देश निकाला गर्ने उद्घोष
फोटो: trofire.com

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० मा हुने अमेरिकी राष्ट्रपतीय निर्वाचनका लागि आधिकारिक रुपमा निर्वाचन अभियान शुरु गरेका छन्।

बुधवार आफ्नो निर्वाचन अभियान शुरु गर्दै ट्रम्पले 'मेक अमेरिक ग्रेट अगेन' को नारा दिँदै भने,' हामी फेरि अमेरिकालाई महान बनाउने छौं। त्यसैले म तपाईहरुको सामु राष्ट्रपतिको दोस्रो कार्यकालका लागि चुनावी कार्यक्रम शुरु गर्दैछु।'

आप्रवासीहरु प्रति लिएको नीतिविरुद्ध कडा आलोचना हुँदै गर्दा र उनी विरुद्ध महाअभियोग लगाउने विषयमा लबिङ चल्दै गर्दा ट्रम्पले आफ्नो निर्वाचन अभियानको घोषणा गरेका हुन्।

केही दिनअघि मात्रै ट्रम्पले अमेरिकामा गैरकानूनी तरिकाले बसोबास गर्दै आप्रवासीहरुलाई अमेरिकाबाट देश निकाला गर्ने बताएका थिए।

गत सोमबार ट्वीट गर्दै ट्रम्पले लेखेका थिए,'अर्को हप्तादेखि लाखौंमा संख्यामा अमेरिकामा अवैधानिक तरिकाले आएर बसोबास गर्दै आएका विदेशी नागरिकलाई हटाउन शुरु गर्नेछ। उनीहरु जति छिटो अमेरिकामा आएका थिए, उनीहरुलाई त्यति नै छिटो फर्काइनेछ।'

ट्रम्पले आप्रवासीहरुलाई कुन प्रक्रियाबाट फिर्ता गर्ने बारेमा थप केही बताएका छैनन्। यद्यपि, आप्रवासीलाई फिर्ता पठाउने विषय ट्रम्पको २०२० को चुनावी कार्यक्रमको प्रमुख विषय हुने बताइएको छ।

अमेरिकामा १ करोड २० लाख आप्रवासीहरु गैरकानूनी तरिकाले बसोबास गरिरहेको बताइएको छ। मध्य अमेरिकी राष्ट्र र मेक्सिकोबाट अमेरिकामा वार्षिक हजारौं संख्यामा आप्रवासीहरु पुग्ने गरेका छन्।

अमेरिकी अधिकारीहरुले पहिलो चरणमा 'डिपोर्टेसन अर्डर' पाएका करिब १० लाख आप्रवासीहरुलाई डिपोर्ट गर्ने तयारी गरिरहेको छ

ट्रम्पले आप्रवासीहरुका सम्बन्धमा ग्वाटेमालासँग सम्झौता गर्ने तयारीसमेत भइराखेको बताएका छन्। तर, ग्वाटेमालाले भने अमेरिकी घोषणाबारे केही बताएको छैन।

केही हप्ताअघि मेक्सिकोले अवैधानिक आप्रवासनको समस्या समाधान गर्न पहल नगरेको भन्दै ट्रम्पले मेक्सिकोबाट आयात हुने सामानहरुमा कर लगाउने घोषणा गरेका थिए।

तर, मेक्सिकोले आप्रवासी रोक्न कदम चाल्ने भन्दै लिखित सम्झौता नै गरेपछि ट्रम्पले आफ्नो निर्णय फिर्ता लिएका थिए।

ट्रम्पले दक्षिणी सीमा खुल्ला भएको र आप्रवासीहरुको गैर कानूनी प्रवेशका कारण अमेरिकामा संकट उत्पन्न भएको भन्दै पर्खाल बनाउने अडान लिँदै आएका छन्। अमेरिका प्रवेश गर्न खोजी रहेका हजारौं आप्रवासीहरु केही महिनदेखि अमेरिकासँग सीमा जोडिएको मेक्सिकोका शहरहरुमा छन्। तर ट्रम्प प्रशासनले भने गैर कानूनी रुपमा कसैलाई पनि अमेरिका प्रवेश गर्न नदिने बताउँदै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell