PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

समता अस्पतालमा 'सुसाइड नोट'ले तरङ्ग : शव त्यहीँ भेटियो जहाँ अघिल्लो रात आफन्तलाई छिर्न रोकिएको थियो



सविन ढकाल

समता अस्पतालमा 'सुसाइड नोट'ले तरङ्ग : शव त्यहीँ भेटियो जहाँ अघिल्लो रात आफन्तलाई छिर्न रोकिएको थियो
इन्सेटमा मृतक बिमला। प्रहरीको नियन्त्रणमा अस्पतालका सञ्चालक उत्तम सञ्जेल।

‘सुब्बा दाइ बच्चाकी आमा हराई। खोज्न जानु पर्‍यो।'

सोमबार राति १० बजेतिर निन्द्राकै सुरमा श्याम तामाङले मोबाइल उठाएपछि सुनिएको आवाज यही थियो। श्यामलाई बोली ठम्याउन मुस्किल पर्‍यो। नम्बर सेभ रहेनछ।

कुरा गर्दै गएपछिमात्रै आवाज पहिचान भयो। फोन ज्वाइँ बुद्धिराज योञ्जनको पो रहेछ।

‘मैले सुरुमा चिनिन,' श्यामले सुनाए।

फोनमा बोल्ने व्यक्ति चाहिँ थिए, बौद्धस्थित समता अस्पतालमा झुन्डिएको अवस्थामा फेला परेकी रामेछाप दोरम्बाकी २७ वर्षीया बिमला तामाङका श्रीमान्।

आफ्नी बहिनी हराएको भन्दै ज्वाइँले नै फोन गरेपछि श्यामको निन्द्रा एकाएक हरायो। केही समयमा ज्वाइँ नै आइपुगे। ‘उनी मेरी फुपूकी छोरी हुन्। मेरो समता नजिकै घर छ। उनीहरू पहिले भारतमा बस्दै आएका थिए। केही समय मात्र भयो नेपाल आएको,' श्यामले योञ्जन परिवारबारे सुनाए।

करिब दुई महिनादेखि समता अस्पतालमा बहिनीले काम गरे पनि उनलाई त्यसबारे थाहा थिएन। बिमलाका श्रीमान् भने ज्यामी काम गर्दै आएका छन्। सबै बुझेपछि श्याम अरु साथीभाइसमेत लिएर समता अस्पताल पुगे। त्यतिखेर रातको १२ बज्नै लागेको थियो। श्यामले अस्पलाको सीसी क्यामरासमेत चेक गर्न लगाए। ‘क्यामरामा बिहान करिब साढे ८ बजेतिर बहिनी अस्पताल छिरेको देखियो। तर, बेलुका निस्किएको चाहिँ देखिएन,' श्यामले भने।

अस्पतालबाट बाहिरिएको नदेखिनुको मतलब थियो - बिमला भित्र नै हुनुपर्छ। त्यसपछि मध्यरातमै सुरु भयो बिमलाको खोजी। अस्पतालका सबै ठाउँमा खोजी गरे उनीहरु।

‘अस्पतालको पानी ट्याङ्कीदेखि सबै ठाउँमा खोजी गर्‍यौं। कहीँ भेटिएन,' उनले भने।

श्यामको समूह पुग्नुभन्दा पहिले बिमलाका श्रीमान् साँझतिर अस्पताल पुगेका रहेछन्। उनले श्रीमतीको मोबाइल, बच्चाको कपडा र टिफिन अस्पतालको टेबलमा भेटाए। ‘अस्पतालको टेबलमा राखेको रहेछ र कर्मचारीले लैजानु भनेपछि ल्याएछन्। पछि, मैले किन ल्याएको भनेर पनि कराएको थिएँ,' श्यामले सन्देहपूर्ण मृत्युसँग जोडिएका तथ्य सुनाए।

अस्पतालबाट बाहिर निस्किएको सिसी क्यामरामा कैद नभएपछि भित्रै हुनुपर्ने शङ्काले भने छाडेन। उनीहरूले दोहोर्‍याएर पनि खोजे। अस्पतालको हातमा दुईवटा रुम थिए जसमा ताल्चा लागेको थियो। खोजीमा उनीहरुसँगै अस्पतालका सुरक्षा गार्डहरु पनि सक्रिय भएका थिए। उनीहरूलाई ताल्चा लागेको कोठा खोल्न भने। ‘उहाँहरूलाई ढोका खोल्नु भनेको त यो म्यामको कोठा हो, नसोधी खोल्न मिल्दैन भनेर खोल्नै मानेनन्,' सुरक्षा गार्डलाई उदृत गर्दै श्यामले सुनाए।

पानीको ट्याङ्कीसम्म हेरेका उनीहरूले दुईवटा कोठामा भने हेर्न पाएनन्। उनीहरुको मनमा शङ्का झनै बढ्यो।

‘केही साथीले लात्तीले हानेर खोल्ने पनि कुरा भयो। तर, फेरि बहिनी त्यहाँ नभेटिए हामीमाथि नै चोरी लुटपाटको आरोप लाग्छ भनेर केही गरेनौं,' उनले सुनाए।

अस्पतालमा नभेटिएपछि उनीहरू निराश हुँदै फर्किए। बाटोमा गस्तीमा रहेका प्रहरीसँग उनीहरुको जम्काभेट भयो। उनीहरूले बिमला हराएको जानकारी दिए। प्रहरीले सहयोग गर्ने बचन दियो। बिमलाको फोटो लिएर उनीहरू महानगरीय प्रहरी वृत्त बौद्ध पुगे।

‘डिएसपीलाई भेटेर सबै कुरा सुनायौं। दुईवटा कोठा नखोलेको र त्यहाँ जे पनि हुने बताएका थियौँ। उहाँले म सबै बुझ्छु तपाईँहरू गएर सुत्नुहोस् भनेर पठाउनु भयो,' श्यामले सुनाए।

बौद्धका डिएसपी नरेन्द्र चन्दले राति उनीहरु आएको र खोज्ने प्रतिवद्धता दिएर पठाएको पहिलोपोस्टसँग भने।

प्रहरीबाट यस्तो आश्वासन पाएपछि उनीहरू फर्किए।

बिहान करिब साढे ८ बजेतिर श्याम आफ्नो अफिस पुगेका थिए। उनै ज्वाइँको फोन आयो।

‘बिमला त हिजो छिर्न नपाएको रुममा नै झुन्डिएको अवस्थामा फेला परी।‘

यो आवाजले उनी छाँगाबाट झरेजस्तै भए।

अस्पतालभित्रै झुन्डिएको अवस्थामा शव फेला परेपछि त्यहाँ भिड लाग्यो। मानिसहरु हत्यारा पहिचान हुनुपर्ने भन्दै आन्दोलित हुन थाले। स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास समेत प्रहार गर्‍यो।

झुन्डिएको अवस्थामा फेला परेको शवको खल्तीमा रहेको 'चिट'लाई आधार बनाउँदै प्रहरीले सञ्चालक उत्तम सञ्जेल र उनकी पत्नीसहित चार जनालाई दिउँसो पक्राउ गर्‍यो।

सस्तोमा शिक्षा र उपचारसमेत गर्ने भन्दै सक्रिय रहेका सञ्जेल त्यही 'सुसाइड नोट'का आधारमा परेका हुन्। उत्तम सञ्जेलसँगै उनकी पत्नी र दुई अन्य कर्मचारीलाई प्रहरीले समातेको हो।

अस्पतालमा झुन्डिएको अवस्थामा फेला पर्नु, जुन कोठामा झुन्डिएको अवस्थामा भेटियो, त्यो राति खोल्न रोक लगाउनु र सञ्चालकको अनुमतिविना सुरक्षा गार्डले कोठा खोल्न नपाउनेजस्ता आधारले सञ्जेल र उनकी पत्नीसमेत पक्राउ परे।

कस्तो थियो त बिमला र अस्पताल प्रशासनको सम्बन्ध? मृत्युपछि स्वभाविक रुपमा प्रश्न उठ्ने भइहाल्यो। बिमलाका आफन्तहरुको तर्कलाई मान्ने हो भने, तलबको विषयलाई लिएर अस्पताल प्रशासन र बिमलाबीच विवाद भएको थियो। आफन्तहरुले त यतिसम्म भनेका छन् कि - अस्पतालमा बिमलामाथि हातपात नै भएको थियो।

‘बहिनीले काम गर्ने वातावारण नभएको, कुटपिट र दवाव दिने भएकाले जागिर छोड्ने कुरा गर्दै आएकी रहिछिन्। तलब दिए तत्काल छोड्ने कुरा पनि रहेछ,' श्यामले भने, 'तर अस्पतालले तलब नै नदिएको रहेछ।'

+++

सोमबार साँझ ७ बजेर ३२ मिनेट जाँदा बिमलाका श्रीमान् बुद्धिराजलाई फोन आयो। उनी साइकल चढेर घर जाँदै थिए। गौरीघाटमा उनले साइकलमा रोके र फोन उठाए। फोन अस्पतालबाट आएको रहेछ। अस्पतालबाट फोन गर्नेले उनलाई - बिमला अस्पताल नै नआएकाले किन रहेछ भन्दै फोन गरेको बताए।

त्यसपछि उनी छोरा लिन नजिकैको अरुणिमा स्कुल पुगे। ६ बजेसम्म ट्युसन पढ्ने र बिमलाले लिन जाने गरेका कारण उनी आफैँ स्कुल पुगे।

'उनी कहाँ गइन् भन्दै म त्यसपछि अस्पताल पुगेको थिएँ। अस्पतालमा पनि नभएको जानकारी पाएँ,' बुद्धिराजले भने, 'त्यहाँबाट मोबाइल र बच्चाको लुगा दिए, त्यही लिएर फर्किएँ।'

बिमला अस्पतामा काम गर्न थालेको असार ११ गते दुई महिना पुग्दैछ। तर, अहिलेसम्म बिमलाले तलब नपाएको उनका श्रीमानले पनि बताए।

‘दुई महिना हुन लागिसकेको थियो। तर तलब दिएका थिएनन्,' उनले भने।

पहिलो महिना ८ हजार र दोस्रो महिना १० हजार रुपैयाँ दिने सहमति भएको थियो।

‘तर, पहिलो महिनादेखि नै काम गर्ने मनस्थितिमा थिइनन्। कामको एकदमै टर्चर थियो,' श्रीमान बुद्धिराजले श्रीमतीले काम छोड्न खोज्नुको कारण सुनाए।

दुई महिनाको तलब छाडेर बस्न सकिनन्, बिमला। ‘जागिर छोड्छु पैसा दिनुहोस् भन्दा सधैं म्याम रिसाउनु हुन्थ्यो रे। सायद पहिले नै जागिर छोडेको भए यस्तो हुँदैन थियो कि?,' बुद्धिराजले भने।

उनको शंका सोझै अस्पतालतिर छ। प्रहरीले घटनास्थलबाट तीन जनाको नाम लेखिएको चिट फेला परेको छ। चिटमा अंग्रेजी भाषामा नाम लेखिएको छ।

‘चिटमा पनि शंका देखिएको छ। उनी साधारण महिला हुन्। उनले अंग्रेजीमा त्यसरी लेख्न सक्छिन्? उनको लेखाइ हो कि होइन अनुसन्धान गरिरहेका छौं,' अनुसन्धानमा सक्रिय एक प्रहरी अधिकृतले भने।

घटनास्थलमा भेटिएको चिटले अनुसन्धानमा ट्विस्ट ल्याएको छ। उनको हेन्डराइटिङ नभए अरु कसले यस्तो गर्‍यो? कारण के थियो? बिमलाले नै लेखेकी भए किन लेखिन् त?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell