PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

इरानसँग तनाव बढ्दै गर्दा अमेरिकाले मध्यपूर्वमा थप एक हजार सेना तैनाथ गर्ने



इरानसँग तनाव बढ्दै गर्दा अमेरिकाले मध्यपूर्वमा थप एक हजार सेना तैनाथ गर्ने
फोटो: AP

अमेरिकाले मध्यपूर्वी क्षेत्रमा थप एक हजार सेना तैनाथ गर्ने भएको छ।

इरानसँग तनाव बढ्दै गएपछि अमेरिकी कार्यवाहक रक्षामन्त्री प्याट्रिक सानाहनले मध्यपूर्वमा थप सेना तैनाथ गर्ने निर्णय गरेको बताएका हुन्। अमेरिकाले ओमनमा तेल बोकेको दुई पानीजहाजमाथि आक्रमण हुनुमा इरान दोषी रहेको दाबी गर्दै आएको छ। यद्यपि, इरानले भने अमेरिकी दाबी निराधार रहेको बताउँदै आएको छ।

अमेरिकाले केही साता अघि मध्यपूर्वमा ठूलो संख्यामा युद्धपोत र मिसाइलहरु तैनाथ गरेको बताएको थियो। इरानले भने अमेरिकी कदमले मध्यपूर्वमा थप अशान्ती फैलिने तर्क गर्दै आएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको आणविक सम्झौता रद्द गरेपछि दुवै राष्ट्रको सम्बन्धमा तनाव उत्पन्न हुँदै आएको थियो।

आणविक सम्झौता रद्द गरेको अमेरिकाले इरानी सेनाको एक समूह 'इस्लामिक रिभोलुसनरी गार्ड कर्प' लाई 'आतंकवादी संगठन' घोषणा गरेपछि दुई देशबीच युद्धको अवस्था सिर्जना भएको हो।

'इस्लामिक रिभोलुसनरी गार्ड कर्प' लाई 'आतंकवादी संगठन' घोषणा गरेको बदलामा इरानले समेत अमेरिकालाई काउन्टर दिँदै गत चैतमा अमेरिकालाई 'आतंकवादको प्रायोजक' घोषणा गर्दै मध्यपूर्वी क्षेत्रमा रहेका अमेरिकी सैनिकलाई 'आतंकवादी संगठन' घोषणा गरेको थियो।

इरानले अमेरिकी सेनालाई 'आतंकवादी संगठन' घोषणा गरेपछि मध्य पूर्वी क्षेत्रमा सुरक्षा चुनौती बढेको भन्दै अमेरिकाले युद्धपोत र मिसाइल तैनाथ गरेको थियो।

सिरिया, अफगानिस्तान, इराक,यमन र मध्यपूर्वी क्षेत्रहरुमा अमेरिकी सेनाको उपस्थितिले त्यहाँ अझै युद्धको अवस्था सिर्जना भएको इरानले आरोप लगाउँदै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell