PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

जितेकै पुरस्कार पाउन पनि अदालतको साहरा : ७२ सालको उपाधी ७६ मा



स्वेच्छा राउत

जितेकै पुरस्कार पाउन पनि अदालतको साहरा : ७२ सालको उपाधी ७६ मा

कवि प्रोल्लास सिन्धुलीय मङ्गलबार राष्ट्रपति कार्यालय, शितल निवास पुगे। औपाचरिक पोशाकमा उनी ठटिएर पुरस्कार लिन गएका हुन्। पुरस्कार चाहिँ कविता प्रतियोगितामा प्रथम भएकाले। तर, प्रतियोगिता र पुरस्कार घोषणा ताजा भने होइन।

नेपाल प्रज्ञा प्रतिष्ठानले २०७२ सालको माघमा आयोजना गरेको राष्ट्रिय कविता महोत्सवमा जितेका हुन्। महोत्सव सोही वर्ष असारमा हुने भनिएको थियो। तर, भएन। एकेडेमीले विनासकारी भूकम्पले पारेको क्षतिलाई कारण देखाउँदै माघमा महोत्सव गर्‍यो। विजेताहरु घोषणा भए।

प्रथम भएका कवि सिन्धुलीयको कविताको शीर्षक थियो - 'गाउँको वृद्धालय'। कविताले बेरोजगारीका कारण विदेशिएका युवा र वृद्धवृद्धा मात्र रहेका गाउँको चित्रण गरेको छ।

पुरस्कार राशी थियो बीस हजार रुपैयाँ र स्वर्ण पदक।

तर, आयोजकले २०७३ सालमा उनलाई पुरस्कार नदिने जानकारी दियो - चिट्ठीमार्फत्। कारण थियो, प्रतियोगितामा उत्कृष्ट घोषित कविता पहिले नै प्रकाशित हुनु। उनको कविता २०७२ सालको कार्तिक महिनामा मधुपर्कमा प्रकाशन भएको थियो।

तर, एकेडेमीको निर्णय स्वीकार्य थिएन सिन्धुलीयलाई। उनी प्रज्ञा प्रतिष्ठानको निर्णयविरुद्ध मुद्धा दर्ता गर्न जिल्ला अदालत पुगे। किनकि प्रतियोगिताको नयाँ मिति तोकिएको थिएन, त्यसबीचमा कविता कतै प्रकाशित गर्न हुने, नहुनेबारे शर्त वा नियमावली थिएन। उनी प्रश्न गर्छन्, 'कसैमाथि ठाँडो निर्णय लाद्न मिल्छ?'

२०७४ को पुसमा जिल्ला अदालतले उनको पक्षमा निर्णय गर्‍यो। तर, विपक्षमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानले उच्च अदालत पाटनमा पुनरावेदन गर्‍यो।

सोही मुद्धामा उच्च अदालतले जिल्ला अदालतकै फैसला सदर गर्‍यो। र, फैसला सिन्धुलीयको पक्षमा भयो।

अदालतले फैसलामा '२०७२ सालको कविता महोत्सवको सूचना उल्लेखित शर्त बन्देजभन्दा अन्य शर्त बन्देज लगाएर पुरस्कृत नगर्ने कार्यले नेपालको साहित्यकार र कलाकारहरुको अभिभावकको रुपमा रहेको संस्थाको विश्वसनीयतामा शंका हुन जान्छ' भनेर उल्लेख गरेको छ।

प्रोल्लासले यो मुद्धा संस्थामा व्याप्त बेथितिको विरुद्ध रहेको बताएका छन्।

'म पुरस्कारको लागि होइन सिस्टमविरुद्ध आवाज उठाउन अदालत पुगेँ। अन्तत: मैले जितेँ। एउटा नजिर स्थापित भयो', पहिलोपोस्टसँगको कुराकानीमा उनले भने।

संस्थामा गैर-साहित्यिक व्यक्तिहरु हावी हुनु र जिम्मेवारी सम्हाल्नुले समस्या सिर्जना गरेको उनको दाबी छ। 'पार्टीको सिफारिसमा आएका व्यक्तिले साहित्यकारमाथि सासन गरेका छन्। साहित्यकार अन्यायमा परेका छौं', उनले भने।

त्यस्तै प्रतियोगितामा दोस्रो घोषित भएकी पाँचथरकी सरस्वती दुमी राईको ‘आमा, जाँतो र मेरो जिन्दगी’ कवितालाई पनि पुरस्कार नदिने घोषणा गरेको थियो। उनको कविता भने व्यक्तिगत संग्रहमा छापिएका कारण विवादमा तानियो। उनी पनि मङ्गलबार पुरस्कृत भइन्। कार्यक्रमा २०७५ सालमा आयोजित महोत्सवको समेत पुरस्कार वितरण हुने कवि सिन्धुलीयले जानकारी दिएका छन्।

नेपाल प्रज्ञा प्रतिष्ठानले वैशाख २२ गते सूचना जारी गरी आजको मितिमा पुरस्कार थाप्न आउन जानकारी दिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell