PahiloPost

Jul 23, 2019 | ७ साउन २०७६


उपचारको आस र प्रहरीको त्रासमा सुरेन्द्र र हरि: अनिश्चिततामा रुमलिएका दुई परिवारको कथा


स्वेच्छा राउत

उपचारको आस र प्रहरीको त्रासमा सुरेन्द्र र हरि: अनिश्चिततामा रुमलिएका दुई परिवारको कथा

ओम अस्पताल, ओपिडी वार्डको क्याबिन।

ढोकाबाट छिर्नासाथ छ -बेड नम्बर २४९ बी। बेडमा पल्टिरहेका छन्, सुरेन्द्र महर्जन। उनको टाउको र दुबै खुट्टामा ब्यान्डेज देखिन्छ। अनुहार र दुबै हातमा चोटका निशाना।

गत जेठ १२ गते सुकेधारामा भएको बम विस्फोटमा परेका हुन् उनी। सरकारले उनीमाथि प्रेसर कुकर बम विस्फोटको आरोप लगायो। गृहमन्त्रीले संसदबाट उनलाई ‘सर्वसाधारण नागरिक’ मान्न नै अस्वीकार गरे। उनैको  दुबै खुट्टाको शल्यक्रिया गर्नुपर्‍यो। देब्रे खुट्टाको शल्यक्रिया सफल भयो। दाहिने खुट्टा भने घुँडादेखि तल काटेर फाल्नु पर्‍यो, इन्फेक्सनका कारण।

त्यस घटनायता कान कम सुन्न थालेका छन्। आफ्नै बुतामा ठडिन पनि सक्दैनन्। बेलाबेलामा 'दुख्यो दुख्यो' भन्दै कराउँछन्, बर्बराउँछन् पनि। हत्तपत्त कसैलाई चिन्दैनन्। त्यही भएर, श्रीमती र कान्छो छोरा सुबोधले फिटिक्कै छाडेका छैनन्।

श्रीमती सीता भण्डारी छिनछिनमा उनको आँखाको डिलमा जमेको फोहोर पुछिदिन्छिन्। बेलाबेलामा उनको गह भरिन्छ। सकेसम्म पीडा दबाएर बोल्छिन्, 'सिधा बाटो हिँडेको भए आज यस्तो हुन्थेन। अब भई त हाल्यो, सक्कियो।'

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, नेवा मुक्ति मोर्चाका अध्यक्ष हुन् सुरेन्द्र।

श्रीमान 'पार्टीको लागि' अनि 'जनताको लागि' भन्दै हिँडेको चित्त त बुझ्दैन थियो, सीतालाई। त्यसैले उनको राजनीतिक बाटोलाई कहिल्यै पनि सिधा मानिनन्। तर, सुरेन्द्र जनवर्गीय संगठनको नेतृत्व नै सम्हाल्ने पदमा पुगेका।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी) मा थिए सुरेन्द्र। २०६९ सालमा पार्टी टुक्रियो। सँगै रोकियो उनको राजनीतिक गतिविधि। जानेको सीप अनुसार डकर्मी बने। घर बनाउने काममा भ्याइ-नभ्याइ। घर बनाउने ठेक्का नमिल्दा जग्गा किनबेचका लागि पनि दौडन्थे। त्यसबाट धेरथोर आम्दानी हुन्थ्यो। दैनिकी चलेकै थियो।

महाराजगञ्जमा रहेको आफ्नो घर भाडामा दिएका थिए, मासिक ११ हजारमा। परिवार चुनिखेलमा बस्दै आएका। सुरेन्द्र चुनिखेलमै खेती किसानी गर्थे। केही अघिसम्म माछापालन पनि गरेका थिए। अहिले चाहिँ कुखुरा पालिरहेका छन्। सिजनल तरकारी पनि रोपेका छन्। यसरी काममै व्यस्त रहने श्रीमान् कुन पार्टीमा छन् भन्नेसमेत पत्तो थिएन सीतालाई।

जेठो छोरो इलेक्ट्रिसियन, घरघरमा बिजुली जडान गर्दै हिँड्छन्। माइलाले मास्टर्स सकेका छन् तर बेरोजगार। कान्छाको स्नातक सकिएको छैन। घर खर्च जुटाउन सीता पनि काम गर्छिन्- कम्पनीमा खाना बनाउने।

तर, श्रीमान् विस्फोटमा परेपछि उनको दैनिकी खल्बलियो। नियमित काममा जान पाएकी छैनन्। काममा नगएको दिनको पैसा पाउँदिनन्। खर्च अभाव छ। उपचार खर्च तिरेको छैन। औषधी महंगो, किन्न गाह्रो। आफन्तसँग पाँच सयदेखि हजारसम्म सापटी लिएर सुरेन्द्रको पेन किलर जुटाएकी छिन्।

'आफूलाई बुढाको पिर। जहाँ पुगे पनि दौडँदै आउँछु। यता नभए उताबाट पैसा जुटाउँछु। उहाँ भने चिन्ता नगर्। यो सबै जनताको लागि हो भन्नुहुन्छ। यस्तो हुँदा पनि चेते पो त,' उनले चिन्ता व्यक्त गरिन्।

छोरा सुबोध आमालाई काममा पठाएर बुबा कुर्न बस्छन्। सुरेन्द्र बर्बराउँदा दोहोरो संवाद गरिदिन्छन् - 'हजुर बुबा। ठिक हुन्छ, आँखा पुछिदिउँ? के भयो भन्नु त।'

उनको फोन घरीघरी बज्छ। साथीहरू सोध्छन्- ओइ तेरो बुबा बित्नु भयो रे त है?

यस्तो सुन्दा चित्त दुख्छ। जवाफ फर्काउन सक्दैनन्। बरु फोन नै उठाउन छोडिदिएका छन्। 

कहिले काहिँ सुबोधको फोन लगातार बज्छ। पर्दा पछाडि बेड नम्बर २४९ 'ए'मा रहेका हरि खड्का चनाखो हुन्छन्। उनी सल्बलाउँदा कुर्न बसेकाहरू उठ्छन्।

'केही अप्ठ्यारो भयो कि?' सोध्छन्। उनले आँखा बन्द गर्दा उनीहरू पुन: आ-आफ्नो ठाउँ लिन्छन्।

कुर्नेहरूको आँखा, अनिदोले हुनुपर्छ, थकित देखिन्छ। मौन र एकोहोरिएका उनीहरूको दु:ख सुरेन्द्रको परिवारको भन्दा कम छैन।

'एक घण्टामा संसार उल्टिए सरह भयो। त्यो दिन सम्झन पनि मन लाग्दैन,' ताराले भनिन्।

हरिको परिवार कपन मिलन चोकमा बस्छ। त्यहाँ उनको किराना पसल छ।

जेठ १२ गते आइतबार। दिनभर पसलमा बसेका थिए। करिब चार बजेपछि जेठी सासु तारा गौतम आइन्, पसलमा बस्ने पालो फेरियो।

लगत्तै, 'कपाल काटेर आइहाल्छु' भन्दै निस्किए हरि। र, डिस्कभर बाइक स्टार्ट गरेर हुँइकिए।

उनी निस्किएको आधा घण्टामात्र भएको थियो। पसलमा कोही आयो, एउटा अपत्यारिलो खबर लिएर। भन्यो- 'हरि दाइ ग्यास विस्फोटमा पर्नुभयो रे! ओम हस्पिटल लगेका छन् रे, है।'

'रे'को कथन पत्याउन मुस्किल पर्‍यो तारालाई।

'अघि भर्खर यहीँ भएको मान्छे। किन जे पायो त्यही बोल्दै हिँडेको? जानुस् तपाईँ गइहाल्नुस्,' अनायास आएको खबरको प्रतिकार गर्दै उनले खबर ल्याउनेलाई नै गाली गरेर पठाइन्।

मुखले जे भने पनि मनमा त चिसो पसिहाल्यो। अनि हान्निएर घर पुगिन्। र, हरिका जेठा छोरा मिलनलाई लिएर ओम अस्पतालतर्फ लागिन्।

मानिसको भिड लागिसकेको थियो। कोही ग्यास पड्क्यो भन्थे। कोही बम। बम शब्दले त्रास बढायो। अनेकथरी मान्छेको भिडबाट अनेकथरी कुरा सुनिए - बम बनाउँदा बनाउँदै पड्क्यो। विस्फोटमा पर्नेहरु विप्लव माओवादीका मान्छे हुन्। बम बनाउने नै परेका रे, 'खुच्चिङ' भन्ने पनि थिए।

हरि रगताम्मे। त्यसमाथि भिडको अनेकथरी आरोप र प्रश्नहरू। सहनै गाह्रो भएको थियो उनलाई।

डाक्टरले 'खतरामुक्त' भनिदिएपछि ढुक्कको सास फेरिन्।

तिनै जेठी सासु तारा अस्पतालमा भेटिइन्। साथमा थिए, माइला छोरा जीवन। घटना हुँदा जीवन चाहिँ पुर्ख्यौली घर काभ्रेको चौरी देउरालीमा थिए। गाउँमा ८५ कटेका हजुरबुबा फौदसिंह खड्का र हजुरआमा लीलामाया खड्का मात्रै। कक्षा ११ को परीक्षा सकिएकाले गाउँ पुगेका थिए उनी।

विस्फोट भएको दिन, घटनाबारे गाउँमा रातिसम्म खबर पुगेकै थिएन। हजुरबा र हजुरआमासँग उनले राति खाना खाए, रेडियो आफ्नै सुरमा बजिरहेको थियो। खबर बुलेटिन सुरु भयो- प्रमुख समाचारमै विस्फोटको कुरा। सबै चनाखो भए।

'विस्फोटमा परी मृत्यु हुनेमा काभ्रेपलाञ्चोकका हरि खड्का…'।

नाम र ठेगाना मिलेपछि अवस्था सामान्य रहने कुरै भएन। रेडियोको आवाजलाई जित्नेगरी रुवाबासी चर्कियो। हजुरआमा बेहोस। जीवन कामठमाडौंमा रहेकालाई फोन डायल गर्नमै व्यस्त।

हस्पिटलमै रहेका दाइ मिलनले फोन उठाए- मृत्युको खबर झुटो भएको बताए। थोरै भए पनि राहत मिल्यो उनलाई। तर, बुबा अस्पतालमै भएको खबरले उनलाई रातभर पिरोल्यो।

'हजुरबुबा हजुरआमा पनि रातभर निदाउनु भएन। सबैको हालत उस्तै। कोही कसैलाई सम्झाउने अवस्थामा थिएनौँ,' जीवन सम्झन्छन्, 'सबै कुरा सपनाजस्तो भइरहेको थियो।'

तेस्रो दिन, आमाबुबा ओम अस्पताल आइपुग्दा, हरि आइसियुमै थिए। दाहिने खुट्टा भाँचिएको, पिडुँलामा गहिरो चोट। शरीरभर घाउ नै घाउ। हरि होसमै थिए। तर, न आमा एक शब्द बोल्न सकिन् न त छोरा नै।

आमाबुबासँग भेट भएको त्यो क्षण सम्झँदा हरि आज पनि बोल्न सक्दैनन्। गहभरी आँसु बनाएर एकोहोरो टोलाउँछन्।

'के गर्नु यस्तै भयो,' हरि मलिन आवाज निकाल्छन्। आँसु पुच्छन् र बेडसँगैको झ्याल बाहिर हेर्छन्। भन्छन्, 'कुनदिनमा त्यहाँ पुगेछु।'

सुरेन्द्र महर्जनलाई जग्गा किनबेचका क्रममा चिने हरिले। घटना भएको दिन उनैले फोन गरेका थिए। सुकेधारामा जीवकुमार ठाकुरको सैलुनमा भेट्ने कुरा भयो। उनी पुगे। कपाल काटे। घाँटीमा टाँसिएको कपालका टुक्रा झारेर छेउमै राखेको 'विन्ड चिटर' लगाउन खोज्दा खोज्दै ड्याम्म आवाज आयो। सैलुनका ऐना टुक्रिए। सामानहरू छिन्न भिन्न।

प्लाइले पार्टेसन गरिएको थियो सैलुन र हजाम जीवकुमारको खाने, बस्ने ठाउँ। भित्र कोठामा पड्कियो बम। भित्र भएकाको शरीरको अङ्ग र रगत उछिट्टिएको दृश्यको प्रत्यक्ष्यदर्शी बने उनी। 

सबै शून्य। भाग्न खोजे। उठ्नै सकेनन्। उनको कम्मर मुनिको भाग नै चलेन।

धुवाँ र धुलो आइरहेको थियो। नजिकै रहेका हजाम र कपाल मिलाउने पालो कुरेर बसेका सुरेन्द्र छट्पटाइरहेका थिए। 'आइया' र 'आत्था'को चीत्कार चर्कँदो। आफ्नै दाहिने खुट्टाको पिडुँला लत्रिएको अवस्थामा देखे। त्यहाँ आएकाहरूलाई अस्पताल पुर्‍याउन आग्रह गरे।

खुट्टा पुन: जोडिन्छ भन्ने आशा थिएन उनलाई। पटक पटकको अप्रेसनपछि डाक्टरले केही सातामै हिँड्न सक्ने आश्वासन दिएका छन्। तर, आफ्नै खुट्टाले अस्पताल बाहिर टेक्ने आश्वासनभन्दा बढी गाँजेको छ त्यहाँबाट निस्किएपछि भोग्नुपर्ने त्रासले।

किनकी, उनीहरूलाई बाहिर प्रहरीले पर्खिरहेको छ। निगरानीका लागि दुई प्रहरी जवान अस्पतालमै खटिएका छन्।

आफू नेपाल कम्युनिस्ट पार्टीको समर्थक भएको स्वीकार्छन् उनी। सुरेन्द्र महर्जन र पार्टीका केही साथी हजामकहाँ भएको थाहा पनि थियो। तर, त्यहाँ जम्मा हुनुको उद्देश्यबारे बेखबर रहेको दाबी गर्छन्।

भने, 'मैले यस्ता गतिविधिको होइन विचार र एजेन्डाको समर्थन गरेको हुँ। आज आफैँमाथि यस्तो बज्रपात पर्छ भनेर सोचेको समेत थिइनँ।'

उनी धेरै बोल्दैनन्। घाउ दुखे वा केही चाहिए कुरुवालाई नजिक आउन संकेत गर्छन्। सुस्त बोल्छन्। छोरा बाहिरिएपछि बोले, 'मलाई त अब जे सजाय दिन्छन् भोग्न तयार छु। मेरा छोराहरूलाई केही नगरिदिए हुन्थ्यो।'

उनका तीन छोरा छन्। तीनै जनाको लक्ष्य डाक्टर बन्नु। जेठो छोरा एमबीबीएस तयारी कक्षामा गइरहेका थिए। घटनापछि कक्षा होइन अस्पताल धाउनुपरेको छ। कक्षा ११ को परीक्षा दिएर बसेका भाइ र उनी पालैपालो अस्पतालमा बस्छन्।

घर धितो राखेर भए पनि छोराहरू पढाउने आँट गरेका हरि शय्यामा छट्पटाइरहेका छन्। उनकी श्रीमती 'ड्रिप्रेसन'मा छिन्। नियमित औषधि सेवन गर्नुपर्छ। ‌औषधि नखाँदा उफ्रने, चिच्याउने, भाग्ने, हात छाड्ने गर्छिन्। चार महिनायता अवस्था सुध्रँदो थियो। घटनापछि फेरि बल्झियो।

छोराहरू सानै भएकाले ऋण खोज्न हम्मेहम्मे परेको छ।

आफ्नो सहारा बनेका छोरा जीवनलाई हेर्दै हरि बोल्छन्, 'पढाइमा अब्बल छन्। एमबीबीएसमा पढ्न आँटे, म पुर्‍याउँछु भन्ने थियो। अब घरको वातावरण बिग्रियो। मेरै कारणले पढ्न पाएनन् भने मलाई सधैँभरि पछुतो हुनेछ।'

हरि र सुरेन्द्रको परिवार पीडाको कुरा साट्छन्। जसलाई घटना, आरोप, प्रत्यारोप, सत्य सबै सपनाजस्तो भइरहेको छ। दुबैको परिवारमा उपचार खर्चको अभाव छ। परिवारले नै तीस-तीस हजार डिपोजिट राखेका छन्। जुन भइसकेको खर्चको दश प्रतिशत पनि नभएको बताउँछ अस्पताल स्रोत।

उनीहरूसँगै विस्फोटमा परी उपचाररत रामकुमार श्रेष्ठको शनिबार निधन भयो। उनको पनि उपचार खर्च नलिएको अस्पतालको दाबी छ।

उपचार खर्चबाहेक औषधिमा पैसा बगेकै छ। हरिका छोरा निराश हुँदै भन्छन्, 'हामीले अफोर्ड गर्न सक्ने भन्दा धेरै खर्च भइसक्यो। ममी बिरामी, खर्च जुटाउने बाबा बिरामी, थाहा छैन यो सब अझै कति दिन कसरी अगाडि बढ्छ?'

छोराले पिर बोकेको सहन सकेनन्, सायद। त्यसैले बोले हरि, 'पार्टीबाट खर्च दिने आश्वासन त मिलेको छ तर अहिलेसम्म केही भइसकेको छैन।'

पार्टीले उनलाई आश्वासन दियो, उनले छोरालाई।

सुरेन्द्र भने पार्टीसँग सम्पर्कमै नरहेको बताउँछन्। नेवा: मुक्ति मोर्चामा रहेर काम गरिरहेको भए पनि पार्टीको आन्तरिक योजना थाहा नहुने उनको कथन छ।

'हामी सांगठनिक रूपमा काम गर्ने कार्यकर्ता। गतिविधिबारे थाहा छैन,' उनी एक छिन बोल्छन्। अनि कान सुन्दिनँ, बोल्न गाह्रो भयो भनेर टार्छन्।

दुई घाइते। तीनका कुरुवा। भेट्न आउने उत्तिकै। धेरै जना भएर पनि सन्नाटा छ क्याबिनमा। सबै मौन अनि गहिरो चोटमा देखिन्छन्। सबै अन्यौलमा पनि। त्रासमा पनि। 'पार्टीको काममा यसरी नहिँड्नु' भन्ने श्रीमती सीता आज पार्टीकै आतंकमा परेर खुट्टा गुमाएका पतिको वैशाखी बनेकी छिन्।

'पार्टीले क्षति गर्। मान्छे मार् भनेको छैन,' भन्ने तर्क राख्ने बुबा पार्टीकै आत्मघाती आक्रमणमा परे। घाइते भए। छोरा भन्छन्, 'मलाई बाबाको पोलिटिकल आइडियोलोजी थाहा छैन। बस् चामल बेचेर हामीलाई पाल्ने मेरो बाबा ठिक हुनुपर्‍यो।'



उपचारको आस र प्रहरीको त्रासमा सुरेन्द्र र हरि: अनिश्चिततामा रुमलिएका दुई परिवारको कथा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट