PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

मेलम्ची खानेपानी आयोजनाको दोस्रो खण्डको काम सुरु, चार वर्षभित्र काम सक्ने लक्ष्य



पहिलोपोस्ट

मेलम्ची खानेपानी आयोजनाको दोस्रो खण्डको काम सुरु, चार वर्षभित्र काम सक्ने लक्ष्य
फाइल फोटो

मेलम्चीः मेलम्ची खानेपानी आयोजनाको दोस्रो खण्डको काम सुरु भएको छ। जसअन्तर्गत पहिलो चरणमा आयोजनाभित्र पर्ने जग्गाको सरकारले अधिग्रहण सुरु गरेको छ।

मेलम्ची खानेपानी आयोजनामा याङग्री र लार्केखोलाको पानी मिसाएर काठमाडौँ लैजानको लागि सरकार लागिपरेको हो। पहिलो चरणमा मेलम्ची आयोजनाले दैनिक १७ करोड लिटर पानी काठमाडौँमा झार्नेछ। त्यसैगरी याङ्ग्री र लार्केखोलाबाट पनि १७÷१७ करोड लिटर पानी लैजाने सरकारको लक्ष्य छ। यो योजना पूरा भए मेलम्चीबाट अहिले लैजान लागिएको पानी तेब्बर क्षमतामा विस्तार हुनेछ।

याङग्री र लार्केखोला क्षेत्रभित्रका जग्गाधनीलाई मुआब्जा लिनका लागि सूचनासमेत जारी गरिएको छ। पाँचपोखरी थाङ्पाल गाउँपालिकाका विभिन्न वडामा प्रस्तावित आयोजना क्षेत्रभित्र पर्ने ३७६ कित्ता जग्गा र सो जग्गामा पर्ने बोटबिरुवा, बालीनाली, गोठटहराको मुआब्जा वितरण गर्न सुरु गरिएको हो। जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले १५ दिनभित्र मुआब्जा लिनका लागि सूचना जारी गरेको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिइन्।

पाँचपोखरी थाङ्पाल गाउँपालिका–१ को १५२ कित्ता र २ को ५५, ४ को ४४, ८ को ३६, ९ को छ र वडा नं ६ को चार कित्ता जग्गा सरकारी अधिग्रहणमा पर्ने भएकाले उनीहरूलाई मुआब्जा लिन आग्रह गर्दै सूचना जारी गरिएको हो। जग्गा अधिग्रहणका लागि जग्गाको दररेट पनि तोकिसकेको छ।

तर, सूचना जारी भए पनि स्थानीयवासी मुआब्जा बुझ्न नआएको पाँचपोखरी थाङ्पाल गाउँपालिका–२ का वडाध्यक्ष पासाङ स्याङबोले जनाए। मुआब्जा लिन स्थानीयवासी नआएकाले सरकारले १५ दिनभित्रमा लिन स्थानीयवासीलाई आग्रह गरेको उनको भनाइ छ।

दोस्रो खण्डअन्तर्गतको याङ्ग्री र लार्केको पानी लैजानको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ। परामर्शदाता कम्पनी इप्टिसाले याङ्ग्री र लार्केखोलाको पानी मेलम्चीमा मिसाउने गरी बनाएको डिपिआर मेलम्ची खानेपानी विकास समितिलाई दिएको हो। यो आयोजना रु ३० अर्ब खर्च गरेर करिब चार वर्षभित्र काम सक्ने लक्ष्यका साथ सुरु गरिएको छ ।

गत माघबाट रोकिएको मेलम्ची खानेपानी आयोजना (पहिलो खण्ड) को काम सुरु गर्न नयाँ ठेक्का आह्वान भइसकेको छ। अब आयोजनाको काम डेढ वर्षभित्र सक्ने लक्ष्य राखिएको छ। सँगै जग्गा अधिग्रहणलगायतका काम सकेर मेलम्चीको दोस्रो परियोजना थाल्न बोलपत्रमा जाने योजना बनेको आयोजनाले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell