PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

उपचारमा लापरवाही, महिलाको मृत्यु : आक्रोशित आफन्तको नाराबाजी र प्रदर्शन



उपचारमा लापरवाही, महिलाको मृत्यु : आक्रोशित आफन्तको नाराबाजी र प्रदर्शन

  • उन्नत सापकोटा -

काठमाडौं : चाबहिलमा रहेको ओम हस्पिटलमा उपचारका क्रममा एक विरामीको मृत्युपछि तनाव उत्पन्न भएको छ।

पत्थरीको उपचार गराउन अस्पताल पुगेकी सिन्धुपाल्चोककी ५० वर्षीया रामप्यारी थापा मगरको आज बिहान निधन भएको हो।

आफन्तहरुले अस्पतालको लापरबाहीले विरामीको निधन भएको भन्दै नाराबाजी गरिरहेका छन्। पत्थरीको उपचार गराउन मगर ६ दिनअघि अस्पताल पुगेकी थिइन्। पित्तथैलीमा रहेको पत्थरीको अप्रेसन गत शुक्रबार भएको थियो। अप्रेसन गर्दा आन्द्राको केही भाग च्यतिएको बारे डाक्टरले ब्रिफिङ गरेको परिवारका सदस्य नानु मगरले जानकारी दिइन्।

अवस्था नबिग्रिँदै डाक्टरको त्यही ब्रिफिङले परिवारलाई आन्दोलित बनाएको हो। आफन्तका अनुसार डाक्टरले रोगबारे थाहा पाउँदा पाउँदै आन्द्राको उपचार प्रक्रिया समयमा अघि नबढाएका कारण विरामीको मृत्यु भएको आरोप परिवारका सदस्यले लगाएका छन्। उपचारका क्रममा उचित सावधानी नअपनाउँदा आन्द्राको घाउमा संक्रमण हुँदा विरामीको निधन भएको उनको दावी छ।

ओम हस्पिटलका मेडिकल डाइक्टर केपी देवकोटाका अनुसार विरामीका आफन्त र चिकित्सकको सहमति अनुसारै अप्रेसन भएको थियो। विरामीको यसअघि नै पाठेघरको अप्रेसन भएकाले चिकित्सकले आइपर्ने जोखिमबारे पहिले नै जानकारी र आँकलन गरेको देवकोटाले बताए। विरामीको जीउमा यसअघि गरिएका अप्रेसनबाट चिरिएका खतहरु थिए। जेलिएको आन्द्राका कारण पित्त थैलीलाई निकाल्न सहजै नमिल्ने भएकाले फरक प्रक्रिया अपनाएर अप्रेसन सुरु गरेको उनले जानकारी दिए।

'आन्द्राले पित्तको थैलीलाई छोपेको अवस्थामा अप्रेसन भएको हो, उनले भने, 'अप्रेसन सफल पनि भएको थियो।'

शनिवार राति विरामीको अवस्था सुधार नदेखिएपछि फेरि चेक गरिएको थियो। यसक्रममा छातीमा निमोनिया देखिएको उनले बताए। अप्रेसन गर्दा नै शनिवार राति विरामीलाई असहज भएपछि आइतवार सर्जनले परीक्षण गरी आइसीयुमा सारेर थप उपचार अगाडि बढाइएको थियो।

'हामीले थाहा नपाइ आन्द्रामा इन्ज्यूरीबाट ब्लिडिङ भएको हो कि भनेर विरामीको अल्ट्रासाउण्ड गर्‍यौं,' देवकोटाले बताए। यसबाट पनि केही नदिखएपछि विरामीको अवस्थामा सुधार नभएको उनले बताए।

संक्रमण बढ्दै गएपछि पुन: सिटी स्क्यान गरिएको र यसबाट पनि कुनै कम्प्लिकेसन नदखिएको जानकारी दिए। तर, पनि विरामीको अवस्था सुधार नभएपछि ल्याप्रोसकोपी गर्दा लगाइएको टाँका खोलेर हेर्दा अलिकती 'बोगसिस' देखिएको उनले बताए। त्यसपछि विरामीको आफन्तसँग सल्लाह गरेर पुन आइतवार अप्रेशन गरिएको थियो। आन्द्राको घाउ हिलिङ हुने अवस्था नभएकाले सबै चिकित्सकहरुको टिमको सल्लाहले क्विक अप्रेसन गर्नुपर्ने अवस्था आएको उनले जनाए। त्यसपछि पनि विरामीको अवस्थामा सुधार आएन। उनले भने, 'राम्रो एण्टिवायोटिकले पनि काम गरेन। किड्नीले पनि काम गर्न छाड्यो। डायलसिस गरेर किड्नीको सुधार गर्न सकिन्छ कि भनेर प्रयास भयो।'

अस्पतालका मेडिकल डाइक्टर देवकोटाले यसअघि पनि यस्ता घटना भएको स्वीकार गर्दै जटिल अवस्थामा आएका विरामीलाई अस्पताल प्रशासनले उपचारमा कुनै कमजोरी हुन नदिएको भन्दै उपचारमा संलग्न डाक्टरको बचाउ गरे। कानूनी उपचारमा अस्पतालको पनि साथ रहने उनले बताए।

ओम अस्पतालका जनरल सर्जिकल डिपार्टमेन्टका डा. रबिन कोइरालासहितको टिम उपचारमा संलग्न थियो।

परिवारले दोषी डाक्टरमाथि अनुसन्धान गरी कारवाही अघि बढाउन माग गरेको छ। उचित क्षतिपूर्तिको व्यवस्था गरी भविष्यमा यस्ता घटना दोहोरिन नदिन माग गरेका छन्। परिवारले निधन भएकी महिलाको सम्पुर्ण मेडिकल रिपोर्टहरुसहित मेडिकल काउन्सिलसहितका निकायहरुमा उजुरी गर्दै कानूनी उपचार सुरु गरिसकेको बताएको छ। ‌ओम हस्पिटलले यसअघि पनि पटकपटक उपचारमा लापरवाही गरेको भन्दै मृतकका आफन्तहरुले अस्पतालमा तोडफोड र नाराबाजीका घटना बाहिर आएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell