PahiloPost

Jul 23, 2019 | ७ साउन २०७६


निकुञ्जमा जीप सफारी: संरक्षण कि संहार?


पहिलोपोस्ट

निकुञ्जमा जीप सफारी: संरक्षण कि संहार?
चितवन जिप सफारीको यो फोटो प्रतीकात्मक रुपमा राखिएको हो। साभार : मेघौली सेराइ

  • अनुज घिमिरे-

संरक्षण विज्ञान संकटको विषय हो - माइकल सुले।

संरक्षणको कुरा गर्दा रक्षा र संरक्षणको भिन्नताबारे कुरा गर्न जरुरी हुन्छ। संरक्षण एउटा योजनाबद्ध रुपमा एउटा कुनै प्रजातिको हकका लागि गरिने प्रबर्द्धनको नीति हो। कुनै पनि प्रजाति संरक्षण गर्न त्यसको पारिस्थिति, निवास, खानपान, व्यवहार र जैविक प्रणाली बुझ्न जरुरत हुन्छ। कट्टर संरक्षणले जंगलका प्रजातिलाई चोरी सिकारीबाट बचाउँछ, तर दीर्घरुपमा त्यो प्रभावकारी नहुन सक्छ। प्रजातिको अनुसन्धान र संरक्षण सँगसँगै जानुपर्छ।

संरक्षणमा मात्र जोड दिने तर अध्ययन र अनुसन्धानलाई कायम नराख्नाले संरक्षणमा सहयोग पुर्‍याउँदैन। कुनै जनावरको संख्या कति छ, त्यसको सिकार वा आहार कति छन्, यी सबैको अध्ययन नभइ कुनै प्रजातिमात्र बचाउँछु भनेर हुँदैन।

काठमाडौं वरिपरि जङ्गल धेरै छ तर किन चितुवा शहर छिर्छ र कुकुरको सिकार गर्छ? जङ्गल भएरमात्र नहुने रहेछ किनकि चितुवाले घाँस खान्न। खाने भनेको मृग, हरिण वा बँदेल नै हो। शिवपुरीकै कुरा गर्दा धेरैजसो अध्ययनले चितुवाको प्रमुख आहार रतुवा मृग, न्याउरी मुसा, पहरे र रातो बाँदर तथा केही मात्रामा बँदेल भएको देखाउँछ।

 

अब प्रश्न उठ्छ काठमाडौं किन छिर्छन् त चितुवा?

उत्तर हो, आहारको खोजीमा। जङ्गल त छ तर आहार कति छ? केही तथ्याङ्क छ हामीसँग? संरक्षणका नाममा टन्नै पैसा आउने बाघको केही वर्षको अन्तरालमा गणना भइरहेको देखिन्छ। तर, चितुवाको गणना सरकार वा अरु कुनै सरोकारको निकायले गरेको छ त? कि चितुवा संरक्षणको विषयमा नै पर्दैन? या चितुवाको जरुरत नै छैन?

अर्कातिर, काठमाडौं पसेको धेरैजस्तो चितुवाको भाग्य के हुन्छ? डार्ट गनको सिकार वा पिस्तोलको? त्यतिखेर कहाँ जान्छ संरक्षणको सिद्धान्त?

एउटा कोही अनुसन्धानकर्ता एउटा कुनै प्रजातिबारे खोज गर्छु भनेर जाँदा निकुञ्जका कर्मचारीलाई अनुमति दिनकै लागि पनि दाँतबाट पसिना निस्किन्छ। अझ, त्यो विद्यार्थीले चोरी सिकारी गर्न लागेको त होइन जस्तो सोचिन्छ। शिवपुरीमै छिर्नका लागि रकम उठाइन्छ, बाइकको बेग्लै र मान्छेको बेग्लै। के उठाइने त्यही पैसाको सानो हिस्सा त्यहीँ रहेका जनावरको अध्ययनमा लगाउन सकिन्न? स्नातक गरिरहेका विद्यार्थीलाई अनुसन्धानका छुट्याउन सकिन्नँ?

यसो गर्दा एउटा त आफूसँग गहकिलो तथ्याङ्क हुने भयो भने अर्कोतिर विद्यार्थीलाई अनुसन्धानका लागि आर्थिक सहयोग मिल्ने र सिक्ने अवसर जुट्ने भयो। प्राणीशास्त्रका विषयमा अझै धेरै हुन बाँकी छ, नेपालमा।

अनुसन्धानका अनुसार भाले चितुवाको गृह दायरा १७ देखि ७६ वर्गकिलोमिटरको हुन्छ। पोथीको भने ७ देखि १७ वर्गकिलोमिटरसम्मको। थोरै प्राथमिक उत्पादकत्व भएको ठाउँमा भने भाले र पोथी दुवैको गृह दायरा बराबरजस्तो नै रहेको पाइन्छ। चितुवा आफैँमा एक्लै बस्न रुचाउने प्रजातिमा पर्छ जो आफ्नो गृह दायराभित्र अरुको प्रवेशलाई रुचाउँदैन र आक्रमक बन्छ। अब सोचौं, शिवपुरीको त्यो १ सय ५९ वर्गकिलोमिटरभित्र कतिवटा चितुवा छन्? पहिलो त तथ्याङ्क नै छैन। भएको खण्डमा, धेरै छन् भने के त्यो १ सय ५९ वर्गकिलोमिटरले कतिवटा चितुवा धान्न सक्छ? शिवपुरीमै ध्वाँसे चितुवा पनि पाइन्छ। आफ्नै प्रजातिबीचको प्रतिस्पर्धामात्र नभएर खान र बस्न दुवैका लागि अन्तर प्रजातीय प्रतिस्पर्धा पनि भइरहेको हुन्छ त्यहाँ। यतिले मात्र चितुवा काठमाडौं शहर छिरेको भने होइन। यसो हुनुमा धेरै कुराले असर गरिरहेको हुनसक्छ। ती चितुवाले खाने आहार कति छन्? भएका आहारलाई केले असर पारेको छ? वा तिनको अवस्था कस्तो छ? यति बुझ्न प्राणीशास्त्र पढ्नै पर्दैन, विशेष गरी जङ्गली जनावर मानिसबाट टाढै बस्छन्। पहिलेपहिले त चाबहिलमै स्याल कराएको सुनिन्थ्यो। बुढानिलकन्ठतिर पनि केही वर्ष अगाडिसम्म नि सुनिन्थ्यो। तर अहिले बिस्तारै किन स्याल हराउँदै गयो त? किनकि बिस्तार भएको मानव बस्तीले तिनलाई जङ्गलतिर धकेल्दै लग्यो।

साथीहरुबाट अक्सर आउने एउटा प्रश्न हो- 'राष्ट्रिय निकुञ्ज भन्छन् तर जहिले गयो कुनै जनावर देखिन्नँ। किन हो त्यस्तो?'

जनावरहरु खासै हल्लाखल्ला रुचाउँदैनन् र त्यस्तो क्षेत्रमा बस्न पनि मन पराउँदैनन्। शिवपुरीमा बाँदरबाहेक आक्कलझुक्कल रतुवा देख्न पाइनुको कारण त्यही हो। तपाईँले देख्नु भएको छ भने याद गर्नु भएको होला- तपाईंलाई देख्न नपाई ती जनावर आँफै भाग्छन्। धेरै अनुसन्धानले देखाउँछ - धेरैजसो जनावर हल्लाखल्ला नजिक बस्न रुचाउँदैनन्।

एक त सानो ठाउँको निकुञ्ज, त्यसमाथि कुन जनावरको सङ्ख्या कति छ अनुमान समेत छैन। अब भन्नुस्, उपत्यकासँगै जोडिएको यस्तो निकुञ्जमा जीप सफारी थप्न कति उचित हुन्छ?

पहिलो कुरो, त्यहाँ जीप सफारी सुरु गरे पनि जनावर देखिन्नँ। अहिले कमसेकम शान्त हुँदा जति भूभाग वन्यजन्तुले उपयोग गर्छन् त्यो पनि मासिँदै जान्छ। यो कस्तो संरक्षणको विधि हो? यसरी चलाइने सफारीले वातावरणलाई पार्ने असरको कुराको त अर्कै लेख तयार हुन्छ।

सफारी चलाउनुले चाहिँ जनावरको बासस्थान खुम्च्याउनुबाहेक केही गर्दैन। र, चितुवाजस्तो जनावरको अहारलाई असर गर्न गएको खन्डमा चितुवा सजिलो आहारा जस्तै कि कुकुर र खसी-बाख्रा खोज्दै उपत्यका पस्ने प्रवृत्ति झनै बढ्छ। एउटा स्याङ्चुरीको रुपमा विकास गर्नु त कहाँ, उल्टै गाडी छिराएर हल्ला खल्ला बढाउनाले संरक्षणमा सहयोग पुग्छ भन्ने तर्क हाँस्यास्पदमात्र हो।

फेरि दोहोर्‍याउँ, कुनै पनि जनावरको संरक्षणका लागि त्यसको बारेमा जान्न जरुरी छ - त्यसको खानपान, बासस्थान आदि। पर्खाल नै लगाएर बाहिरबाट रक्षा गरेरमात्र जनावरको संरक्षण हुन सक्दैन। शिवपुरीमै पनि सुरक्षा व्यवस्था त कडा नै छ। तर, के थाहा त्यहाँ तीन चारवटामात्रै चितुवा पो बाँकी छन् कि। आहार नपाएर त्यहाँबाट पलायन नै पो भइसके कि?

कसैले चोरी सिकारी गरेरमात्र जनावर सकिने होइन। रोगले सकिएलान्, भोकले सकिएलान्, गृह दायरा सानो भएर एक अर्कासँग भिडेर सकिएलान्।

त्यतातिर ध्यान पुर्‍याउनु नै पहिलो काम हुनुपर्छ। अनुसन्धानकालागि आफूसँग जनशक्तिको स्रोत छैन भने इच्छुक विद्यार्थीलाई सहयोग गरेर त्यतातिर लगाउन सकिन्छ। यसरी सम्भावना भएको तरिका अपनाएर अनुसन्धान गर्न गाह्रो मान्ने अनि जनावरलाई असर पार्ने सफारी चाहिँ चलाउने संरक्षणको मोडालिटीलाई उदेकलाग्दो नै भन्नुपर्छ।

अहिले नै केही नहुँदा फोहोरको डुङ्गुर हेर्नुस्। यसलाई त व्यवस्थापन गर्न सकिएको छैन भने थपिने प्रदुषणले के होला?

जनावरले प्लास्टिक खाँदा वा प्लास्टिक यसरी वातावरणमा रहनुले कति असर गर्छ भन्ने फेरि अर्को लेखको विषय हो। सफारी र होहल्ला बढ्नेखालको कार्यक्रम संचालन गर्ने र यस्ता कुराको व्यवस्थापन नगर्दा कमाउने धुन सवार भएकाहरुको मात्र संरक्षण हुने हो।

अनुत्तरित प्रश्न हो- संरक्षणलाई मध्यनजर गरेर जीप सफारी ल्याउन खोजिएको हो कि आम्दानीका लागि मात्रै?

निकुञ्जकै कुरा गर्ने भए, गोसाइकुण्डमा बन्ने भनिएको केबलकारको कुरा पनि उस्तैखाले छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अनुसार राष्ट्रिय निकुञ्जभित्र कुनै पनि मानव निर्मित संरचना बनाउन पाइन्नँ। जुन कुरा ढलान गर्ने वा कालोपत्रे सडक बनाउने सन्दर्भमा पनि लागू हुन्छ। यसका लागि हुलाकी राजमार्ग बनाउने बिषयमा सर्वोच्च अदालतले चितवन राष्ट्रिय निकुञ्जको बारेमा २०७५ को फागुनमा दिएको फैसला हेरे पनि हुन्छ।

अब केबलकार जस्तो कुरा हिमाली भेगमा रहेको राष्ट्रिय निकुञ्जमा बनाउन कति उपर्युक्त हुन्छ? हिमाली भू-संरचना आँफैमा कमजोर हुन्छ। त्यस्तो ठाउँमा गएर जङ्गल फडानीमात्र नभएर जनावरको बासस्थानलाई नै असर पार्ने काम गर्न अनुमति दिनु संरक्षण हो? जुन ठाउँमा हिउँ चितुवा, हाब्रे, कस्तुरी मृग, ध्वाँसे चितुवाजस्ता लोपोन्मुख र अरु असुरक्षित तथा संरक्षणको आवश्यकता भएका जनावर पाइन्छ, तिनको बासस्थान मिचेर कस्तो संरक्षण हुन्छ? केही अरु दिगो उपाय सोच्न सकिन्न र?

अहिले केबलकार छैन र सानासाना टि हाउसहरु छन् गोसाइकुण्डमा। केबलकारपछि रिसोर्ट बन्लान्, पसलहरु थपिएलान्, त्यो हुनु आर्थिक रुपमा सहि लाग्ला धेरैलाई। तर, गोसाइकुण्डजस्तो ठाउँ धार्मिकमात्र नभएर ट्रेकिङका हिसाबले पनि प्रख्यात ठाउँ हो। प्रख्यात हुनुको कारण त्यसको सुन्दरता, ग्रामिणपन, त्यहाँको हावा र पानी नै हो। ती सबै मास्ने भए के अर्थ?

ठीकै छ, तर्क होला - सबैलाई जान सजिलो बनाउन नि पर्छ। तर कति मानिस होलान् जसलाई हिँडेर जान गाह्रो पर्ला? थोरै लगानी र वातावरणलाई असर नपर्ने अरु केही उपाय लाउन सकिन्न? हेलिकप्टर मै लगेर किन नहोस्? महँगो हुन्छ भन्ने पनि होला।

केबुलकारसँगै बन्ने रिसोर्टले खान बस्नकै शुल्क कम लिने छैनन्। धुन्चेसम्म जाने भाडा पनि बढ्न सक्छ। धुन्चेको होटेलको भाउ पनि बढ्ला। र, अन्तिममा हेलिकप्टर चढेर जाँदा लाग्ने खर्चकै नजिक पुगिहाल्छ भने किन त्यस्तो संरचना बनाउन जोड दिने?

त्यत्रो जङ्गल मासेर, जनावरको बासस्थान मिचिने गरी, पूरै वातावरण र जैविक विविधतालाई मास्न जरुरी छ? फेरी पनि प्रश्न दोहर्‍याउँ - यो कस्तो संरक्षण हो?

आफूलाई जनावरहरु मन पर्ने र जहाँ जाँदा नि जनावरहरु हेर्दै फोटो खिच्दै जाने बानी छ। गोसाइकुण्ड १३ चोटि पुगेकै अनुभवमा कहाँकहाँ कुनकुन जनावरको बासस्थान छ र तिनीहरुलाई कसरी असर गर्छ भन्ने प्रारम्भिक पर्यावरणीय प्रभाव मूल्यांकन गर्नसक्छु। र, भन्न सक्छु कि यो प्रोजेक्टले कुनै पनि हालतमा दिगो रुपमा संरक्षणलाई मद्धत गर्दैन।

संरक्षण आफैँमा गाह्रो कुरा हो। यसलाई उपयुक्त वैज्ञानिक प्रविधिको प्रयोगले बलियो बनाउने कि संरक्षणकै नाममा कमजोर? प्रश्नको उत्तर नखोजी चालिने कदम निश्चय पनि प्रत्युत्पादक नै हुनेछ।

लेखक अमेरिकाको नर्थ डाकोटा विश्वविद्यालयमा 'इभोलुस्नरी इकोलोजी' बिषयमा पिएचडी गर्दैछन्।



निकुञ्जमा जीप सफारी: संरक्षण कि संहार? को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट