PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

श्रीमतीको हत्यारालाई १९ वर्षपछि जब तुल्सीभक्तले भेटे ...



सविन ढकाल

श्रीमतीको हत्यारालाई १९ वर्षपछि जब तुल्सीभक्तले भेटे ...

काठमाडौं : ‘तपाइँको श्रीमतीको हत्यारालाई हेर्नुहुन्छ? तर प्रश्न भने गर्न पाउनुहुन्न है,' झोला भिरेका दुब्लो कदका एक व्यक्तिलाई प्रहरी अधिकृतले भनिरहेका थिए।

दबिएको स्वरमा ती व्यक्तिले टाउको हल्लाउँदै 'हस्' भने।

उनलाई त्यहाँ रहेका प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी)को हिरासततिर आउन भने। उनी भनेअनुसार पछिपछि लागे।

हिजोमात्रै प्रहरीले समातेका देवीरमन अधिकारीलाई हेर्न पुगेका यी हुन्, तुल्सीभक्त प्रजापती।

१९ वर्ष अघि श्रीमतीको हत्या गरी फरार भएका अभियुक्त अधिकारीलाई प्रहरीले पक्राउ गरेपछि हेर्न पुगेका थिए उनी।

२०५७ असार ८ गते ३३ वर्षीया विजेयश्वरी प्रजापतीको हत्या गरेर फरार रहेका अधिकारीलाई प्रहरीले आइतबार पक्राउ गरेको थियो। हत्या भएको दुई दशक बित्नै लाग्दा न्याय पाउने आशा मारिसकेका प्रजापती एक्कासी सिआइबी पुगेका थिए। प्रहरीले भनेअनुसार उनी सरासर भित्र गए, एकछिन अलमलिए अनि पहिलेकै ठाउँमा फर्किए।

उनीसँगै आएका एक आफन्तले सोधे- के त्यही नै रहेछ त?

तुल्सीभक्तले मसिनो स्वरमा भने - 'हो।'

पर्साको जिल्ला वन अधिकृत हुँदा तुल्सीभक्त प्रजापतिले त्यहीँ करारमा कार्यरत अधिकारीलाई आफ्नो सरुवासँगै घरेलु कामदारका रूपमा ल्याएका थिए। पर्सामा अधिकारी माली पदमा करारका रूपमा कार्यरत थिए।

‘मैले नै जागिर दिन काठमाडौँ ल्याएको थिएँ। वन विभागमा जागिर पाइएला कि भनेर खोजी हिँडे तर कतै मिलेन,' भर्खरै जसलाई हिरासतमा हेरेर फर्केका थिए तिनैबारे बोलिरहेका थिए - तुल्सीभक्त।

करार सकिएर बेरोजगार भएको युवकलाई काम दिनु उनका लागि बिषालु साँप पाल्नुसरह हुन पुग्यो। जागिर पाए उसको जीवन सुध्रेला भन्दै काम नै खोज्दै पनि हिँडेका थिए उनी।

‘कहीँ जागिर नपाइने देखेँ। अनि मैले घरमा काम गर्छौ त? भने। उसले हुन्छ भन्यो। अनि मैल घरमा काम गर्न राखेको थिए,' २० वर्ष अघिको घटनालाई स्मरण गरे उनले।

प्रहरीले समातेको बताएपछि तुल्सीभक्त समातिएका व्यक्ति देवीराम नै हुन् कि होइनन् भन्ने निर्क्यौल गर्न सिआइबी हिरासतसम्म पुगेका थिए।

'मलाई हेर्नसमेत सकेन। मुन्टो निहुर्‍याइरह्यो मात्र,' उनले भने।

जुन दिन विजयश्वरी प्रजापतीको हत्या भयो, त्यही दिनदेखी देवीराम अधिकारी फरार थिए। प्रहरीले खोजे पनि भेट्न सकिरहेको थिएन। प्रजापती परिवारले पनि उसको खोजतलास नगरेको होइन, तर भेट्न के सक्थे?

‘नागरिकताकै आधारमा पुरानो घरसम्म पत्ता लगाएका थियौँ। पछि बनारस पुगेकोसम्म थाहा भएको थियो,' त्यतिखेरको अवस्थालाई तुल्सीभक्तले सम्झिए।

विजयश्वरीका पाँच दिदी बहिनी थिए। उनी साइँली। विजेश्वरीकी तीन बहिनीहरु पनि आज सिआइबी पुगेका थिए - दिदीको हत्यारालाई हेर्न।

‘१२/१५ वर्ष अगाडिका घटनामा पनि हत्यारा पत्ता लागेको त सुनेका थियौँ। तर, आशा मरिसकेको थियो हाम्रो। हिजो हत्यारा पत्ता लाग्यो भनेको सुन्दा जिउ नै हल्का भयो,' उनकी बहिनी श्रीलक्ष्मी प्रजापतीले भनिन्।

यस्तो थियो घटनाक्रम

२०५७ असार ८ गते। भक्तपुर कटुञ्जे ८ स्थित घरमा ३३ वर्षीय विजयश्वरी र देवीरमनमात्र थिए। विजयश्वरी १२ वर्षीय छोरा र १४ वर्षीया छोरीलाई स्कुल जाने बसमा छोडेर घर फर्किएकी थिइन्। देवीरमन र विजयश्वरीबीच केही दिनदेखि पैसाको विषयलाई लिएर विवाद चलिरहेको थियो। श्रीमान् तुल्सीभक्त पनि कामको सिलसिलामा चितवन गएका थिए।

तुल्सीभक्तले मासिक १ हजार ५ सय रुपैयाँ दिने शर्तमा काम गर्न घरमा राखेका थिए। तर, ७ महिनासम्म पैसा नदिएपछि देवीरमनले एकमुष्ठ १३ हजार रुपैयाँ मागे।

'पैसाको विषयलाई लिएर विवाद भएको देखियो,' ब्यूरोका डिआइजी नीरज शाहीले भने।

छोराछोरीलाई स्कुल बसमा हालेर आएपछि फेरि देवीरमनले पैसा माग्न थाले। दुईबीच विवाद भयो। त्यसपछि उनको टाउकोको पछाडि हाने र भान्सामा भएको चक्कु प्रहार गरी हत्या गरेको प्रहरीको अनुसन्धानमा देखिएको डिआइजी शाहीको दाबी छ।

हत्या गरेपछि देवीरमनले घरमा भएको ८ तोला सुन, ४ हजार पर्ने लेडिज ज्याकेट र ४ हजार रुपैयाँ लिएर निस्किए।

‘एउटा झोला बोकेर निस्किएको देख्ने मान्छेसमेत छन्,' अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने।

भारत छिरेर गाडी चालक, उतै बिहेबारी

हत्यालगत्तै देवीरमन भारत छिरेको प्रहरीको अनुसन्धानमा खुलेको छ। पर्सा हुँदै बनारस, महाराष्ट्रको पुणे र मुम्बई गएका थिए उनी।

‘ऊ पर्सा तराईमा घर भएको मान्छे हो। उसलाई भारत जान कुनै समस्या नै भएन। सोही दिन भारत लागेको देखियो,' डिआइजी शाहीले भने।

मुम्बई पुगे पनि देवीरमन ढुक्क भने बसेनन्। प्रहरीले पक्राउ गर्ने त्रास उनीसामु सधैँ रह्यो। त्यसैले मुम्बइमा छद्म नाम 'प्रकाश अधिकारी'बाट सवारी चालकको अनुमतिपत्र बनाए। गाडी चलाउन थाले। देवीरमनले त्यहीँ भारतीय युवतीसँग घरजम गरे।

उनकी श्रीमती र छोराछोरी अहिले पोखरामा आएर बसोबास गरेका छन्। १९ वर्षको अवधिमा ४ पटकसम्म नेपाल आएको प्रहरी अनुसन्धानमा खुलेको छ।

‘हामी पुरानो घटना हेरिरहेका थियौँ। त्यसै क्रममा चार महिनादेखि यो केसको फलो गरेका थियौँ। केही सूचना हात परेकाले भारतसम्म गएर अनुसन्धान गरेर पक्राउ गर्न सफल भयौँ,' डिआइजी शाहीले भने।

सम्वन्धित समाचार

विजयश्वरीको हत्या गरेर इन्डियातिर फरार देवीरमन प्रहरीको फन्दामा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell