PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

रेल दुर्घटनामा बाबुछोराको मृत्यु, आमा घाइते



रेल दुर्घटनामा बाबुछोराको मृत्यु, आमा घाइते

भद्रपुर: झापाको मेचीनगर नगरपालिका–७ स्थित काँकडभिट्टाका एउटै परिवारका दुईको रेल दुर्घटनामा परी मृत्यु भएको छ। शनिबार बिहान ११ बजे भारतको बाघपुल नजीक मङ्पुमा काँकडभिट्टा निवासी ३३ वर्षीय इन्द्र श्रेष्ठ र उहाँका ११ वर्षीय छोरा रोहनको रेलले किचेर घटनास्थलमै मृत्यु भएको हो। 

दुर्घटनामा इन्द्रका श्रीमती डम्बरकुमारी श्रेष्ठ घाइते अवस्थामा रहेको उनीहरुका छिमेकी पत्रकार लक्ष्मी उप्रेतीले जानकारी दिए। उनको शरीरको पछाडिको भागमा गम्भीर चोट लागेको छ। उपचारका लागि डम्बरकुमारीलाई विराटनगरस्थित नोवेल मेडिकल कलेज भर्ना गरिएको इन्द्रका दाजु खेमराजले बताए। 

उनका अनुसार जेठा छोरा १३ वर्षीय रोशुसहित बुधबार इन्द्रको चार जनाको परिवार आफ्न्त भेटघाटका लागि मावली घर टिष्टा पुगेका थिए। बिहानको खाना खाएर रेलको लिक नजीकै रूखको फेदमा शीतल तापेर बसेका इन्द्रलाई तीव्र गतिमा आएको रेलले किचेको र श्रीमती डम्बरी बचाउन जाँदा कान्छो छोरासमेत सँगै पुगेको बताइएको छ। 

आमा गएको देखेर कान्छो छोरा रोहन पछिपछि कुदेर जाँदा रेलले उनलाई पनि किचेको थियो। जेठो छोरा भने केही पर रहेकाले दुघर्टनाबाट बच्न सफल भएको परिवारजनले जनाएको छ। मृतक रोहन काँकडभिट्टास्थित लोफोफोरस अङ्ग्रेजी मावि कक्षा ६ मा अध्ययरत रहेको प्रधानाध्यापक सागर गुरुङले बताए। 

भारतीय प्रहरीले सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरी शव आफन्तलाई बुझाएको छ। भारतको एक मेडिकल कलेजमा शव परीक्षणपश्चात् आज मात्र बाबुछोराको शव नेपाल ल्याइने भएको छ। इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक महेश थापाले दुर्घटनामा मृत्यु भएको सुने पनि आधिकारिक जानकारी प्राप्त नभएको बताए। उनले भारतीय प्रहरीसँग बुझ्दा घटना भएको स्वीकार गर्दै आज शव नेपाल पठाउने तयारी भइरहेको जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell