PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

प्रधानमन्त्रीको पिएचडी मोह : फेरि जोडियो क्रिस्चियन कनेक्सन



विधुर ढकाल

प्रधानमन्त्रीको पिएचडी मोह : फेरि जोडियो क्रिस्चियन कनेक्सन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक शिक्षाका विषयमा बेलाबेलामा चर्चा र विवाद हुँदै आएको छ। नेपालका राजनीतिक खेलाडी जेल नेल हुँदै मुलुकको सत्ताको नेतृत्व गर्न दुई पटक सिंहदरबार प्रवेश गरिसकेका छन्।

उनको औपचारिक शिक्षा जे भए पनि उनी स्वअध्यनले अगाडि बढेका छन्। उनको राजनीतिक उपलब्धिलाई हेर्दै उनलाई मानार्थ उपाधी दिनेहरुको लाइन लाग्दै आएको छ।

गणतन्त्र दिवस कार्यक्रमको व्यवस्ताबीच बुधवार प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण कोरियाली विश्वविद्यालयको ‘मानार्थ विद्यावारिधि’ उपाधि ग्रहण गरे। प्रधानमन्त्री ओलीले पाएको यो उपाधी पहिलो भने होइन।

यसअघि पनि उनले यस्ता तीन वटा उपाधी प्राप्त गरिसकेका छन्। पहिलो पटक उनले मानार्थ विद्यावारिधीको उपाधी २०१० मा प्राप्त गरेका थिए। सो उपाधी विवादितसमेत भएको थियो।

अमेरिकाको ग्रिनफोर्ड विश्वविद्यालयले काठमाडौंमै कार्यक्रमको आयोजना गरी त्यतिबेला ओलीसहित विजयकुमा गच्छदार, हरिवंश आचार्य, मदन कृष्ण श्रेष्ठ लगायतलाई उपाधी दिएको थियो।

मध्य अमेरिकाको बेलिज भन्ने देशमा रहेको र काठमाडौ शंखमुलमा सम्पर्क कार्यालय रहेको, ग्रिनफोर्ड इन्टरनेसनल यूनिर्भसिटीका नाममा दिइए पनि सो विश्वविद्यालयको वैद्यतामाथि प्रश्न खडा भएपछि मह जोडीले सम्मान फिर्ता गरेका थिए। त्यति मात्र होइन उनीहरुले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिँदै विश्वविद्यालयमाथि छानविन गर्न अनुरोध गरेका थिए।

त्यतिबेला प्रधानमन्त्री नभए पनि तत्कालीन नेकपा एमालेका नेता* ओलीले सो पदक फिर्ता गरेनन्।

उनले पाएको यो पदकको विवाद भए पनि यसअघि उनले पाएका अन्य दुई पदक भने नेपालका प्रधानमन्त्रीको रुपमा आधिकारिक विदेशी विश्वविद्यालयबाट प्राप्त गरेका हुन्।

उनलाई पदक दिने दोस्रो विश्वविद्यालय हो, भारतको उत्तराखण्ड पन्तनगरस्थित गोविन्द बल्लभ पन्त कृषि तथा प्राविधिक विश्वविद्यालय। दोस्रो पटक प्रधानमन्त्री भएसँगै पहिलो विदेश भ्रमणका क्रममा २०७४ चैतमा भारत गएका उनलाई २४ गते त्यहाँको विश्वविद्यालयले मानार्थ विद्यावारिधी प्रदान गरेको थियो।

त्यस्तै ओलीलाई विद्यावारिधि प्रधान गर्ने अर्को विश्वविद्यालय हो युनिभर्सिटी फर पिस। राष्ट्र संघको १९८० को महासभाबाट प्रस्ताव पारित भइ स्थापना भएको अन्तरदेशीय विश्वविद्यालय हो।

संयुक्त राष्ट्र संघको महासभामा गत असोजमा सहभागि हुन न्यूयोर्क पुगेका प्रधानमन्त्री ओली त्यही बाट कोस्टारिका पुगी सो सम्मान ग्रहण गरेका थिए।

विश्वविद्यालयको कार्यक्रममा सहभागी हुन उनी देश बाहिरै रहेका बेला नेपालको सांसदले विश्वविद्यालय सम्बन्धी अभिसन्धीलाई पारित गरेको थियो।

योसँगै ओलीले आज कोरियाली विश्वविद्यादय काङनाम युनिभर्सिटीले सम्मानित गर्‍यो। ओलीलाई सम्मान गर्नका लागि विश्विद्यालयका प्रेसिडेन्ट सिलन युन नेपाल आएका छन्।

काङनाम विश्वविद्यालय कस्तो विश्वविद्यालय हो?

काङनाम एउटा निजी क्रिस्चियन विश्वविद्यालय हो। सन् १९४६ मा स्थापना भएको यो विश्वविश्विद्यालय 'ग्यङ्छन्एइन' मूल भावबाट प्रेरित छ। जसको अर्थ स्वर्ग र मानवताको पूजा गर्नु हो।

सन् १९४६ मा धर्मगुरु यी हो - विनले चोङ-आङ टेक्नोलोजी इन्स्टिच्यूटको रुपमा स्थापना गरेका थिए। सन् १९७६ मा यसको नाम काङनाम सोसल वेलफेयर स्कुल थियो पछि सन् १९९२मा विश्वविद्यालयको मान्यता पायो।

यस विश्वविद्यालयको उदेश्य संसारभरी क्रिस्चियनको प्रचार गर्नु हो। यसले क्रिस्चियन धर्म फैलाउन सहयोग गर्नेहरूलाई मानार्थ विद्यावारिधि र अन्य सुविधा दिने गर्दछ।

क्रिस्चियन स्थापना र क्रिस्चियन धर्म प्रचारका लागि सुरु भएको यही विश्वविद्यालयले प्रधानमन्त्री ओलीलाई बुधवार काठमाडौंमा विद्यावारिधि प्रदान गर्‍यो। क्रिस्चियन धर्म प्रचारमा सहयोग गर्नेलाई प्रदान गरिने यो पदक प्रधानमन्त्री ओलीले थाप्दै गर्दा यसको जरा केही समय अगाडि काठमाडौंमा आयोजित विवादित धर्म सम्मेलनसँग पनि जोडिएको छ।

गत मंसिरमा आयोजित विवादित युनिफिकेशन चर्चसँग आवद्ध संस्था युनिभर्सल पिस फेडेरेशनले आयोजना गरेको एसिया प्यासिफिक समिटमा ओलीले युनिफेकसन चर्चकी प्रमुख माता मुनको हातबाट नगद सम्मान थापेका थिए। केहीले माता मुनको हातबाट होली वाइन खाएका थिए।

यस्तो छ विश्वविद्यालयको युनिफिकेशन चर्च कनेक्सन

विश्व विद्यालयको युनिफिकेसन चर्च कनेक्सन खोज्नु अगाडि युनिफिकेशन चर्चको इतिहास हेरौँ।

१९५४ मा धर्मगुरु मियुङ मुनले स्थापना गरेको यो चर्च विश्वभर विवादित छ। आफूलाई प्रभु यसुको सच्चा पुत्र भन्ने मुनले स्थापना गरेको यो चर्चको संस्थापक अहिले उनकी पत्नी छिन्।

मुनले लेखेको पुस्तक डिभाइन प्रिन्सिपलका आधारमा युनिफिकेशन चर्च चल्दै आएको छ। जुन क्रिस्चियनको सिद्धान्त र यशुको विचारभन्दा फरक छ।

त्यति मात्र होइन यो चर्च कम्युनिस्ट विरोधी चर्च पनि हो। यसका संस्थापक मुन आफ्नो जीवनभर कम्युनिस्टलाई समाप्त पार्ने अभियानमा लागेका थिए। सोभियत युनियनको पतनमा समेत उनको हात रहेको मानिन्छ।

यो पनि पढ्नुस : कम्युनिस्ट विरोधी अभियानमा 'कम्युनिस्ट' सरकारकै सहर्ष साथ'

थोमस जे वार्डले यस विषयमा एउटा पुस्तक नै तयार गरेका छन्, 'मार्च टु मस्को: रोल अफ रेभरेन्ड सन मियुङ मुन इन कोल्याप्स अफ कम्युनिज्म'।

सन् २००७ मा मुनकी पत्नी डाक्टर मुनले वासिङटन टाइम्सको २५ औँ वार्षिकोत्सवका अवसरमा भनेकी थिइन्, 'मुनका लागि वासिङटन टाइम्स सुरु गर्नु सहज थिएन्। सोभियत कम्युनिज्मविरुद्ध उभिएको र राष्ट्रपति रेनाल्ड र शित युद्ध अन्त्यका लागि मद्दत पुर्‍यायो।'

सन् १९९१ मा मुन आफ्नो जन्मभूमि फर्किए। उनले त्यतिबेला कम्युनिस्ट नेता किम इल सङलाई (हालका उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनका पिता) भेट गरे। उनलाई उत्तर कोरियाले सन् १९४८ मा नै समाज विभाजन गरेको भन्दै जेल हालेको थियो।

उनले सैतान माथिको विजयीका लागि कम्युनिस्टहरूलाई पराजित गर्नुपर्छ भनेर आफ्ना अनुयायीहरूलाई शिक्षा दिन्थे।

प्रधानमन्त्री ओलीलाई सम्मान गर्न विश्वविद्यालयका संस्थापक धर्मगुरु यी हो विनको कनेक्सन यिनै युनिफिकेशन चर्चका संस्थापक मुनसँग रहेको छ।

सुरुमा चिनौँ धर्मगुरु योङ डो ली

कोरियाली रहस्यमयी विधर्मीहरुका पिताका रुपमा चिनिन्छ धर्मगुरु योङ डो ली। मुनको चर्चको मुल जरो यिनै धर्म गुरु योङ डो लीसँग जोडिएको छ।

युनिफिकेसन चर्च जब कोरिया र जापान बाहिर बिस्तार भयो त्यसपछि यसमा परिवर्तन हुँदै गयो। सुरुवातमा यो चर्चको मोडेल र धार्मिक विधि उनकै पथ प्रदर्शनका आधारमा हुन्थ्यो।

त्यति मात्र होइन यिनै लिबाट ओलिभ ट्री चर्च पनि प्रभावित भएको थियो। युनिफिकेशन चर्चका संसथापक मुन यिनै लीले स्थापनाको गरेको जियुज चर्चमा सुरुमा प्रवेश गरेका थिए।

प्रधानमन्त्री ओलीलाई सम्मानित गर्ने विश्वविद्यालयका संस्थापक यी हो- विन पनि योङ डो लीको प्रचारबाट प्रेरित थिए। यी हो विनले सुरुमा प्रविधिक विद्यालय सुरु गरेका थिए। पछि यो क्रिस्चियन धर्म प्रचार गर्ने विश्वविद्यालयको रुपमा स्थापना भयो।

प्रधानमन्त्री ओलीको 'क्रिस्चियन मोह'

आज प्रधानमन्त्री ‌ओलीले उपाधी ग्रहण गर्दै गर्दा आफूले पाएको मानार्थ विद्यावारिधी कोरियाले सम्पूर्ण नेपालीले गरेको सम्मानको रुपमा लिएको बताए।

प्रधानमन्त्री भएको अवस्थामा सबै धर्मको सम्मान गर्नु उनको धर्म हो। यद्यपि, नेपाल धर्मनिरपेक्ष भइसकेको अवस्थामा राज्यले कुनै धार्मिक कार्यक्रम आयोजना गर्नु ठीक मानिँदैन।

युनिफिकेशन चर्चको कार्यक्रमको सहआयोजक नै नेपाल सरकारलाई बनाएको थियो। तर, पछि विवाद पछि सहआयोजकबाट हटे पनि सरकारले लगानी भने गरेरै छाड्यो।

यसअघि पनि सो सम्मेलन नेपालमा आयोजनाको प्रयास भएको थियो। तत्कालीन नेपाल परिवार दलका अध्यक्ष ढकाल समानुपातिक कोटाबाट संविधानसभा सदस्य भएका थिए।

त्यतिबेला उनी पटकपटक मन्त्रीसमेत भए। उनी मन्त्री भएकै बेला सम्मेलन आयोजना गर्ने प्रस्ताव उनले क्याविनेटमा लगेका थिए। डाक्टर बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला लगिएको सो प्रस्तावको तत्कालीन परराष्ट्रमन्त्री तथा हालका सत्तारुढ दल ने क पाका प्रवक्ता नाराणकाजी श्रेष्ठको विरोध गरेपछि प्रस्ताव अगाडि बढ्न सकेको थिएन।

२०६९ सालमा ढकाल गरिबी निवारण तथा सहकारी मन्त्री हुँदा क्याविनेटले अस्वीकृत गरेको प्रस्ताव ६ वर्ष पछि ने क पाको दुई तिहाईको सरकारले अगाडि बढायो। अहिले ढकाल स्वयम् ने क पाका नेता हुन्।

उनकै पहलमा युनिफिकेसन चर्चको कार्यक्रममा ओली प्रमुख अतिथि भए। सम्मान थापे।

आज त्यस्तै प्रकृतिको धार्मिक विश्वविद्यालयबाट नेपालको राजनीतिमा योगदान पुर्‍याएवापत् भन्दै चौथो डाक्टरको उपाधी लिए प्रम ओलीले।

(*सन् २०१० मा ओली नेकपा एमालेका अध्यक्षका हैसियतमा रहेको प्रकाशित भएको सही थिएन। उनी नेता थिए, अध्यक्ष हैनन्। गल्ती भएकोमा माफी माग्दै समाचार सच्याइएको छ।)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell