PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

नेपालकै 'हर्ट लकर' स्टोरी: जसले बमसँग खेल्दै जोगाउँछन् जनताको ज्यान

नेपालकै 'हर्ट लकर' स्टोरी: जसले बमसँग खेल्दै जोगाउँछन् जनताको ज्यान

सविन ढकाल/पहिलोपोस्ट


सोमबार ललितपुरको चापागाउँ जाने बाटोमा राखिएको बम सेनाले डिस्पोज गर्‍यो। मिडियाहरु बम डिफ्युज गर्दाको क्षण कैद गर्न यहाँ केन्द्रित भइसकेका थिए। बमलाई असफल बनाएपछि ‘कूल’ पारामा यिनी हिँडेको देख्दा धेरैलाई अनौठो लाग्यो।

कम्ब्याटमा रहेका यिनले हातमा प्रेसर कुकर बोकेका थिए। मिडियाले यिनको तस्बिर खिचे। बम पड्केर क्षति हुन नदिन गरेको मेहनत यिनको मुस्कानमा छचल्किएको थियो। लुक्स ठ्याक्कै हलिउड अभिनेता जेरमी रेनर झै। ६ वटा एकेडेमी अवार्ड जितेको हलिउड फिल्म दी हर्ट लकरका हिरोभन्दा कम देखिएन यिनको शैली। कथा पनि उस्तै। फिल्मले इराकमा बम डिस्पोजको कथा बोल्छ, यिनले यहाँ आफ्नै यथार्थ। 

फोटोमा मुस्काउँदै गरेको देखिने यी हुन्, पारस कटुवाल। नेपाली सेनाका अमलदार। 

‘दुष्मनले मार्ने वा क्षति हुने गरी नै बम राखेका हुन्छन्। त्यसमा गएपछि मर्न पनि सकिन्छ जीवित पनि घर आउन सकिन्छ। कुनै भर हुँदैन,’ मंगलबार हामीसँगको कुराकानीमा पारसले सुनाए।

सोमबार विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेपाल बन्दको आह्वान गर्‍यो। बन्दको पूर्व सन्ध्यामा राजधानीमा भएको बम विस्फोटले मानिस आतंकित बने। बम फेला पार्ने र विस्फोटन हुन रोक्ने काम दिनभर नै चलिरह्यो। त्यही क्रममा सक्रिय भएकाहरुसँग हामी कुरा गरिरहेका छौं।

‘हाम्रो काम नै हो। कर्तव्य हो यसलाई हामी सहज रुपमा नै लिन्छौं,’ छेउमै रहेका आफ्ना सिनियरतिर पुलुक्क हेर्दै अमलदार पारस बोले।

हातमा कुकर बोकेर मन्द मुस्कानसहित फोटो मिडियामा आएपछि यिनी चर्चामा रहे। फोटोमा उनको अनुहार प्रफुल्लित देखिएको थियो। मुस्काउनुको पछाडिको कारणलाई हामीले प्रश्नका रुपमा तेर्स्यायौं।

‘जब आफ्नो काममा सफलता हात पर्छ, आफू र अन्यलाई बचाएको जस्तो महसुस हुन्छ। अनुहारमा खुसीको मुस्कान आफैं आउँदो रहेछ,’अनुभव सेयर गर्दा फेरि मुस्कुराए उनी।

अहिलेसम्म कति रिस्क मोलेर बम डिस्पोज गराए भन्ने चाहिँ उनलाई पनि याद रहेनछ। बम डिस्पोज गर्नु चाहिँ सामान्य नै लाग्न थालेको छ उनलाई। तर, के उनलाई डर लाग्दैन त?

हस्यौली पारामा भने, ‘डर त छ। तर… डरभन्दा अघि जित छ।‘

+++

सोमबार बिहान साढे ८ बजेतिर बम भएको खबर आयो। अमलदार पारस ललितपुरको राजदल गणमा थिए। १५ वर्षदेखि नेपाली सेनाको डिस्पोजल टोलीमा रहेर पारसले काम गर्दै आएका छन्।

खबर पुग्ने वित्तिकै सेनाको बम डिस्पोजल टिम घटनास्थल पुग्यो। त्यतिखेर बम भेटिएको खबर चारैतिर फैलिएको थियो। यो खबरबाट कटुवालको परिवार चाहिँ टाढै रहने कुरा भएन। उनको मोबाइल बज्न थाल्यो।

‘श्रीमतीले फोन गरेकी रहिछिन्। मैले फोन गरेर फलानो ठाँउमा बम भेटियो जादैछु भनेको थिएँ,’ पारसले सुनाए, ‘सधै घरबाट फोन आइहाल्छ नि।‘

घटनास्थलमा प्रेसर कुकर देखियो। छेउमा तीनवटा झोलामा बम पनि। घटनास्थलमा उनी लगायतलाई कमान्ड गर्न बाहिनीबाट क्याप्टेन अजित थापाको कमान्डमा टोली पाँच जनाको टोली जुटेको थियो। डिस्पोज गर्न तम्सिए कटुवाल।

‘हाम्रो टिममा सबै एक्सपर्ट छन्। उनीहरु जोखिम मोल्न डराउँदैनन्,‘ क्याप्टेन थापा निर्धक्क सुनिए।

कटुवाललाई बम डिस्पोज गर्न जाँदा लगाउनुपर्ने सुट लगाइयो। हेलमेटसहित करिब ३५ केजीको तौल हुन्छ जसमा हावासमेत छिर्न सक्दैन। भित्र गर्मी नहोस् भनेर हावा पास गर्न फ्यान जोडिएको हुन्छ। क्याप्टेन थापाले कटुवालको बम सुट चेक गरे। त्यसपछिमात्रै डिस्पोज गर्नका लागि अनुमति दिए।

‘बम सुट लगाएपछि दिमागले केही सोच्नै पाउँदैन,’ कटुवालले भने, ‘डर आफैं भाग्छ।’

केही समयको प्रयासपछि बम निस्तेज भयो। कटुवाल प्रेसर कुकर बोकेर मुस्काउँदै निस्किए। नेतृत्व गरिरहेका क्याप्टेन थापाको अनुहारमा पनि बेग्लै खुसी छल्कियो।

‘सकुशल फर्किए र फर्किन पायौं भन्ने हुन्छ। मैले क्षति नभई काम पूरा गरेँ भन्ने खुसी हुन्छ। नेतृत्व गर्ने भएकाले डिस्पोजपछिमात्र म ढुक्क हुन्छु,’ थापाले भने।

कटुवाललाई बम निस्तेज भएपछि थापाले बधाई दिए। पानी पिलाए। बम कस्तो थियो सोधे।

तत्कालै फेरि अर्को ठाँउमा बम फेला परेको खबर आयो। उनीहरु फेरि अर्को मिसनतिर मोडिए। त्यही बीचमा पारसले मोबाइल स्वीच अन गरेर श्रीमतीलाई ‘सक्सेस’ सुनाउन पनि भ्याइहाले।

+++

२०६२ सालमा नेपाली सेनामा भर्ना भएका अमलदार रवीन्द्र बास्कोटाको सुरुदेखि नै रुचि डिस्पोजमा। २०६४ सालमा ट्रेनिङ लिएपछि उनी यसमै खटिए।

‘डर छ, रिस्क छ भनेर सबै पछाडि हट्ने भए गर्ने कसले त? अरुको ज्यान जोगाउँदाको खुसी बेग्लै पाइन्छ,’ रवीन्द्रले सुनाए।

जोखिमपूर्ण काममा उनको रुचि भए पनि परिवारको समर्थन भने थिएन। परिवारबाट यस्तो काम नगर भन्ने बारम्बार आइरहन्थ्यो।

‘तर अहिले त खासै केही भन्नुहुन्न। बम निस्तेज नभएसम्म चिन्ता चाहिँ गरिरहनुहुन्छ,’ उनले भने।

२०६६ सालमा तनहुँमा भएको एउटा घटना भने उनी बिर्सन सक्दैनन्। डिस्पोजका लागि सेनाको टोली त्यहाँ पुगेको थियो। डिस्पोजकै क्रममा एक जना सैनिकको हात नै उड्यो। ती रवीन्द्रका साथी थिए। त्यस घटनाले भने कहिल्यै नपलाएको डर उनमा छायो। लामो सास फेर्दै उनले भने, ‘साथीको हात नै नभएको देख्दा डर लाग्यो। लामो समय सँगै बसेर यस्तो भएको होला।‘

त्यो डरले उनको पथ भने रोकिएन। ‘बम भेटियो भनेपछि यस्ता कुरा बिर्सने रहेछ। डर सबै हराए जान्छ,’ उनले भने।

दर्जनभन्दा बढी डिस्पोजको फ्रन्टमा रहेर उनले काम गरेका छन्। बम सुट लगाएपछि उनी भगवानलाई सम्झिन्छन्। ‘आस्थाको कुरा हो। अरु सोच आयो भने काम नै गर्न सकिँदैन। भगवानलाई सम्झिनेमात्र हो,’ उनले भने।

बम निश्क्रिय बनाउन कति समय लाग्छ कुनै टुङ्गो हुँदैन। धेरैको सोच बम डिस्पोज भनेको कुनै तार काट्ने होला भन्ने हुन्छ। तपाईँहरुले पनि त्यसरी नै तार काट्ने हो? हाम्रो सोझो प्रश्न।

लामो हाँसोसहित रवीन्द्रको जवाफ, ‘फिल्ममा त त्यस्तै देखाउँछ। वास्तविकता फरक हुन्छ। फिल्ममा चक्कु निकालेर काटेपछि सकिन्छ। तर, कहाँ त्यस्तो सजिलो हुन्छ?’

बम डिस्पोज कि परीक्षा?

क्याप्टेन अजित थापाको दैनिकी बमसँगै नै बित्छ। राजधानीमा जति पनि डिस्पोजका घटना हुने गरेका छन् प्रायमा उनको नेतृत्वको टोली पुग्छ। एउटा डिस्पोज टिममा पाँच जना हुन्छन्। उनीहरुको काम नै बम बनाउने र डिस्पोज गर्ने हो।

‘दिनदिनै हामी बम बनाउँछौं। त्यसलाई कसरी निस्तेज गर्ने सिक्छौं। हाम्रा लागि यो नौलो कुरा नै हुँदैन,’ क्याप्टेन थापाले भने।

अहिलेसम्म नेपाली सेनामा १ सय ६४ जना यस्ता तालिमप्राप्त सैनिक छन् जसले बमलाई निस्तेज गर्छन्।

‘बम डिस्पोज गर्नेले बनाउन पनि जान्नुपर्छ। हामी दुवैमा ट्रेन गराउँछौं,' थापाले भने।

ट्रेनिङको अवधिमा एउटाले बम बनाएर राख्ने, अर्काले खोज्ने र गल्ती भए सुधार्ने अभ्यास दैनिक हुने गरेको उनले सुनाए।

२०६४ सालदेखि सेना प्रवेश गरेका थापाले सुर्खेतको एक पेट्रोलपम्पमा भेटिएको बमबाट डिस्पोज गरेर नै निस्तेजको अभ्यास थालेका थिए। परिवारको साथ र भरपर्दो तालिम तथा उपकरणले उनमा डर पस्न दिएन।

‘खै डर नै लागेन। मैले मेरो ट्रेनिङ र उपकरणमा विश्वास गरेको छु,’ कन्फिडेन्ट सुनिए उनी।

‘अहिले त हामीलाई बम भेटियो भनेर जाँदा टेष्ट दिन गए जस्तै लाग्छ। किनकि हामी दैनिक नै बमसँग खेलिरहेका हुन्छौं,’

ज्यान जोखिममा राखेर सुरक्षामा खटिने उनीहरुलाई कहिले काहीँ सर्वसाधारणको व्यवहारले भने इरिटेड गराउने रहेछ।

‘मानिसमा धेरै चेतना छैन। हामी जब काममा जान्छौं। उहाँहरु त्यो चिज पड्कने भए त्यहाँ किन जान्थ्यो भनेर टिप्पणी गर्छन्,’ क्याप्टेन थापाले भने।

नेपाली सेनाले रोबोट र सेमी रोबोटको प्रयोग गरेर डिस्पोज गर्छ।

‘हामी जस्तोसुकै बम पनि डिस्पोज गर्ने क्षमता राख्छौं। तर, भेट्ने वित्तिकै सूचना र जानकारी राम्रोसित हामीलाई दिनुपर्‍यो। रिस्क उठाएर जनताको ज्यान सुरक्षित राख्न जनशक्तिको कमी छैन,‘ क्याप्टेन थापाले भने।

सन् २००८ मा रिलिज भएको निर्देशक क्याथरिन बिग्लोको फिल्म दी हर्ट लकरले दिने सन्देश हो - मार्नेभन्दा बचाउने कयौं गुना महान हुन्छ। सिनेमाको सन्देशभन्दा कम छैन - बम डिफ्युजमा जुट्ने यो टीमले दिएको सन्देश।



ट्रेन्डिङ पोस्ट

Ncell