PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

मुलपानीको 'म्याट'मा खेलेपछि कप्तान पारस भन्छन् : अबदेखि यस्तो गल्ती नदोहोरियोस्



गोविन्दराज नेपाल

मुलपानीको 'म्याट'मा खेलेपछि कप्तान पारस भन्छन् : अबदेखि यस्तो गल्ती नदोहोरियोस्

काठमाडौं: राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा नेपाल इन्टरनेसनलको व्यवस्थापनमा तेस्रो प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट शुक्रवारबाट शुरु भएको छ। शुरुको दुई दिन कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा मात्र खेल भएका थिए। आइतबार र सोमबार भने मुलपानी क्रिकेट ग्राउन्ड (तल्लो) मा पनि खेल भए।

प्रतियोगिताको उद्घाटन नै मुलपानीमा गर्ने भनिए पनि समयमै तयार नहुँदा दुई दिन पछि सारियो। तर आइतबार नेपाल प्रहरी र कर्णाली प्रदेशबीचको खेल हुँदासम्म अवस्था भने फेरिएन। सरकारीस्तरबाट आयोजना भएको राष्ट्रिय प्रतियोगिता पिचमा नभएर म्याट ओछ्याएर खेलाइयो।

आइसीसीबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाइसकेको राष्ट्रमा म्याट राखेर राष्ट्रिय प्रतियोगिता गराउनु आफैँमा बिडम्बना हो।

तर राष्ट्रिय टिम कप्तान पारस खड्कालगायत अन्तर्राष्ट्रिय खेल खेलिसकेका खेलाडीलेसमेत त्यही म्याटमा खेले।

सोमवार प्रदेश ५ विरुद्ध प्रदेश ३ को कप्तानी गर्दै मुलपानी मैदानमा खेलेका पारस खड्काले बलिङमा ४ विकेट लिए। १० ओभरमा ३ मेडन राख्दै २४ रन खर्चेर ४ विकेट लिए पारस ब्याटिङमा भने १ रन बनाएर आउट भए।

यस्तै अन्य खेलाडीको लागि पनि म्याचमा खेल्नु सहज भने थिएन। जसले गर्दा खेलाडी र टिमको प्रदर्शनमै फरक समेत देखिएको छ। आइतवार भएको पहिलो खेलमा राष्ट्रिय खेलाडीहरु रहेको नेपाल पुलिसका खेलाडीसमेत यहाँ ब्याटिङ गर्न संघर्ष गरिरहेका थिए।

कीर्तिपुरस्थित टीयू मैदानमा पहिलो खेल खेलेर सोमबार मुलपानीमा खेलेका कप्तान पारस खड्काले खेलपछि राखेको विचार संक्षेपमा:

अपेक्षाअनुसार पिच तयार हुन सकेन। त्यसैले म्याटमा खेलिरा'छौँ। अब कम्प्लेन गर्दा कम्प्लेन गरेको जस्तो हुन्छ। जिम्मेवार को त भन्ने कुरा आउँछ। एउटै प्रतियोगिताको एउटा खेल पिचमा भइरा'छ अर्को खेल म्याटमा भइरा'छ। यसले टिमलाई फरक पार्छ। इन्टरनेसनल स्ट्यान्डर्ड हेर्ने हो भने मैदान त्यो अनुसार छैन। यसलाई आगामी दिनमा अझै राम्रो बनाउन सकिन्छ। हामीसँग इन्फास्ट्रक्चर छ। अब त्यसलाई व्यवस्थित गर्नुपर्ने बेला भइसकेको छ।

यसले खेलाडीको प्रदर्शनमासमेत असर पार्छ। अब खेलाडीले प्लाटफर्म पाओस् भन्ने हो, जसले गर्दा आफ्नो क्षमता देखाउन सकोस्। यो सरफेसमा ब्याटिङ गर्न त्यति सजिलो छैन। आउट फिल्ड पनि फास्ट छैन। अब एडजस्ट गर्नैपर्‍यो। अरु कुनै उपाय पनि छैन। प्रतियोगिता भइसकेपछि सबै टिमले खेल्नैपर्‍यो।

आशा छ कि आगामी दिनमा चाँही यस्तो प्रतियोगिता हुँदा राम्रो व्यवस्थापन गर्नुपर्छ।

मुलपानीमा दोस्रो पटक खेलेको हो। माथिल्लो ग्राउण्डमा च्यारिटी म्याच खेलेका थियौँ। त्यसपछि तल्लोमा खेल्दैछौँ।

यो प्रतियोगिताको जिम्मेवार व्यक्ति को त? क्युरेटर, आयोजक, परिषद, कसले जवाफ दिने हो। प्रश्नहरु धेरै छन्। यो भएन त्यो भएन भनेर कन्ट्रोभर्सी नै क्रिएट गर्न सजिलो छ। तर आगामी दिनमा यस्तो गल्ती नदोहोरियोस्। किनकी पिच तयार भएन भनेर एक पटक कन्सिडर गर्न सकिन्छ तर अलीकति स्ट्याण्डर्डमा ध्यान नदिएको जस्तो देखियो। बनाउनुपर्ने धेरै छन्। हुने भइसक्यो। आशा छ आगामी दिनमा यस्तो नहोस्। अब नेपालमा कुनै पनि प्रतियोगिता हुँदा अन्तर्राष्ट्रिय स्तरमा समाचार जाने भइसक्यो। आफ्नो घर भित्रको जुन भौतिक संरचना छ त्यसलाई सुधार गर्नुपर्ने जरुरी छ र आगामी दिनमा यो ग्राउण्डको स्तर बनोस् भन्ने हामी सबैको चाहना हो।

कन्ट्रोभर्सी क्रिएट गर्नेभन्दा पनि म्याट राखेर खेलाउने भनिएको छ। सबै टिमले त्यसमा सहमति जनाइसकेपछि त्यसमा एउटाले खेल्छु एउटाले खेल्दन भन्न पाउँदैन।

यो पाली जे जस्तो भए पनि अर्को पटकका लागि हामीसँग समय छ। राम्रो काम गर्ने हो भने पिच र ग्राउण्डलाई अझै व्यवस्थित बनाउन सकिन्छ।

म्याटमा खेल्दाको अनुभव

धेरै वर्षपछि म्याटमा खेलेँ। पछिल्लो ८-९ वर्षमा मलाई याद भएअनुसार विराटनगरमा सातौँ राष्ट्रिय प्रतियोगिता हुँदा म्याटमा खेलेको थिएँ। त्यसपछि अहिले म्याटमा खेलें। सुरु सुरुमा क्रिकेट सुरु गर्दा म्याटमा खेल्थ्यौं।

स्कुल म्याच, कलेज म्याच म्याटमा खेलेका थियौँ। नेपालमा टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बाहेक पोखरामा अन्तर्राष्ट्रिय स्तर ग्राउण्ड देखिने पिच बनेको छ। त्यसबाहेक अन्य ठाउँमा पिच छैन र ध्यान पनि दिएका छैनौँ। पिच तयार पार्नु खासै चुनौतीपूर्ण छैन। एक्सपर्टहरु ल्याएर काम गर्ने हो भने पिच तयार गर्न सकिन्छ। तर अब सबैले त्यसको जिम्मेवारी चाँही लिनुपर्छ।

 

५० ओभर क्रिकेट हुनुपर्छ

एउटा मात्र प्रतियोगिताले क्रिकेटको विकास हुने हैन। २० ओभर क्रिकेट नेपालमा एकदम पपुलर छ। ५० ओभरको क्रिकेट आयोजना हुनुपर्छ। संघ/संस्था बोर्ड नभा'को अवस्थामा निजी क्षेत्र र परिषद्बाट प्रतियोगिता भइरहेको छ। तर यो स्ट्याण्डर्ड भन्दा चाँही राम्रो हुनैपर्ने हो। फेरि कुरा लगानीको आउँछ। जब हामी बोल्छौँ। समाचार आउँछ। त्यसपछि एक हप्ता हुन्छ। सबै कुरा सेलाउँछ फेरि अर्को प्रतियोगिता आउँछ जान्छ। खेलाडीले राम्रो गर्‍यो भने आलोचना हुन्छ। नराम्रो गरे पनि आलोचना हुन्छ। जे भए पनि खेलाडीले गर्ने भनेको आफ्नो प्रदर्शन देखाउने हो।

घरेलु क्रिकेटको कुरा गर्दा ५० ओभरको क्रिकेट एकदमै जरुरी छ। टु डे थ्री डे फर्म्याट अझै जरुरी छ। आशा गरौँ यो फर्म्याटको प्रतियोगिता अझ बढी होस्। अब कसले गर्ने भन्ने कुरा आउँछ। त्यसका लागि क्रिकेट बोर्ड चाँडो भन्दा चाँडो बनाउनुपर्‍यो। एउटा व्यवस्थित बोर्ड बनाउने हो भने चाँही यस्ता समस्याहरु दोहोरिने छैन।

 

राम्रो मान्छे आए भने 'चेन्ज' हुन्छ

एउटा प्रतियोगिताबाट खेलाडीहरुको जज गर्न गाह्रो हुन्छ। अब राम्रो गर्न सके त सबैको आँखामा परिहाल्छ। सबै खेलाडीहरु कुरिरहेकै हुन्छन्।

क्रिकेटको सीमित वातावरण रहेको अवस्थामा यस्तो प्रतियोगिताले खेलाडीहरुलाई एउटा प्लेटफर्म चाँही बनाएको छ। जे जति सीमित स्रोतहरु छन्। त्यसबाटै अहिले नेपाली क्रिकेट यहाँ आइपुगेको छ। जबसम्म व्यवस्थित संघ वा बोर्ड बनाउँदैन। जति राम्रो कुरा गरे पनि खासै केही परिवर्तन होला जस्तो लाग्दैन।

जिम्मेवार व्यक्तिहरु आएर काम गर्ने हो भने आगामी दिनमा चेन्ज बनाउने सम्भावना छ। नत्र भने हामी खेलाडीहरुले बाहिरबाट केही होला भन्ने आशाभन्दा पनि फिल्ड भित्र के गर्न सकिन्छ भन्ने आशाले यहाँसम्म आइपुगेका छौँ र आगामी दिनमा पनि त्यही छ। राम्रो व्यक्ति आए चेन्ज अवश्य हुन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell