PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको यो हबिगत : मुलपानी मैदानमा म्याट ओछ्याएर खेलाइँदै, २० फोटोमा हेर्नुस्

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको यो हबिगत : मुलपानी मैदानमा म्याट ओछ्याएर खेलाइँदै, २० फोटोमा हेर्नुस्

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौँ: दुई दिनअघि शुक्रबार नै मुलपानी क्रिकेट मैदानमा प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको उद्घाटन गर्ने र त्यहाँ खेलहरु खेलाइने आयोजक राष्ट्रिय खेलकुद परिषद राखेपले जनाएको थियो।

तर मैदान पूर्ण रुपमा तयार नभएको भन्दै दुई दिनसम्म त्यहाँ खेल भएन। तेस्रो संस्करणको प्रधानमन्त्री कप अन्तर्गत पहिलो खेल शुक्रबार कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भयो। दोस्रो दिनको खेल पनि त्रिवि मैदानमै हुँदा मुलपानीमा भने खेल हुन सकेन।

आइतबारमात्र मुलपानी क्रिकेट मैदान (तल्लो) को शुरुवात गर्ने र प्रतियोगिताका खेलहरु पनि सुरुवात गर्ने तयारी भयो।

तर आयोजकले सोचेजस्तो अवस्था भएन। विभागीय टोली नेपाल पुलिस र कर्णाली प्रदेशबीच हुने भनिएको खेल पिचमा नभई म्याट ओछ्याएर गर्नुपर्ने भयो।

आइसीसीको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाइसकेको राष्ट्र नेपालको राष्ट्रिय प्रतियोगिता, त्यो पनि सरकारी स्तरबाट गरिएको, को खेल भने म्याटमा भयो।

पीच पूर्ण रुपमा तयार नभएकोले म्याट राखेर खेलाउनुपरेको राखेपका सदस्य सचिव केशवकुमार विष्टले बताए।

उनले मुलपानीको मैदान खेल खेलाउने योग्य छ कि छैन? भनेर परीक्षण गर्न पनि प्रतियोगिताको केही खेल मुलपानीमा गर्न लागेको प्रतिक्रिया दिए।

'खेल्न योग्य छ कि छैन भनेर हामीले परिक्षणको रुपमा यो ग्राउण्ड प्रयोग गरिरहेका छौँ। ५० ओभरको खेल भएकोले हामीले दुईवटा मैदान प्रयोग गरेका हौँ र प्रतियोगिताको अवधि लामो हुने र बजेट पनि सीमित भएकोले हामीले दुई मैदानमा खेलहरु गरेका हौँ।'

विष्टले केही नहुनुभन्दा बिस्तारै खेल सुरु गर्दै जाने योजना अनुसार खेल खेलाएको बताए। 'मैदान पूर्ण रुपमा तयार नभएको भन्ने विषय यथार्थ हो। तर नहुनु भन्दा मुलपानी मैदानमा पनि क्रिकेट सुरु हुँदैछ भन्ने सन्देश जाओस् भनेर पनि हो।'

उनले थपे, 'मैले अनुगमन गरिरहेको छु निरीक्षण गरिरहेको छु। कहाँ के गर्नुपर्ने हो।'

यस्तै सदस्यसचिव विष्टले म्याटमा खेलाउनु नयाँ विषय नभएको समेत बताए। 'म्याटमा खेल्ने भन्ने कुरा नयाँ पनि होइन। अन्तर्राष्ट्रिय रुपमा ठूला प्रतियोगिता पनि म्याटमा खेलाइएका छन्।'

आफूहरुको मनसाय पिचमै खेलाउने भएपनि काम गर्दै गर्दा यस्तो भएको उनको दाबी थियो। 'खेलाडीहरुको पनि आकांक्षा छ मुलपानी मैदान तयार भएपछि यसमा खेल्ने। तर अब गर्दै जाँदा खेरी यस्तो भयो। हाम्रो मनसाय पनि म्याटमा खेलाउने होइन। पिचमै खेलाउने हो। प्राविधिक रुपमा 'एप्रुभ' भइसक्यो पनि भनेको थियो। गर्दा गर्दै बीचमा केही काम पूरा भएनन् र हामीले यसमै सम्झौता गर्नुपर्‍यो,' उनले भने। मूलपानीको अन्तर्राष्ट्रिय क्रिकेट मैदान विसं २०६० पुसदेखि मैदान निर्माण शुरु भए पनि निर्माण कार्य अझै सम्पन्न हुन सकेको छैन। 



ट्रेन्डिङ पोस्ट

Ncell