PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

टुँडिखेलमा मच्चियो साकेला, झ्याम्टा र ढोलको तालमा नाचे किराती समूदाय, हेर्नुस् २२ फोटोमा

टुँडिखेलमा मच्चियो साकेला, झ्याम्टा र ढोलको तालमा नाचे किराती समूदाय, हेर्नुस् २२ फोटोमा

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं: किरात समुदायको महान् चाड साकेला उभौली–५०७९ का अवसरमा किरात राई यायोक्खाले आज टुँडिखेलमा विशेष साकेला नाच कार्यक्रमको आयोजना गर्‍यो।

कार्यक्रममा विभिन्न समूहमा किराती समूदायका युवायुवतीदेखि बालबालिका र वृद्धवृद्धासम्म नाचमा रमाएका थिए।

किरात समुदायका राई, लिम्बू, याक्खा, सुनुवारलगायतका जातिले उभौली पर्व मनाउँछन्। यस अवसरमा जेठ ४ गते किराती परम्पराअनुसार भूमिको पूजा गरिएको थियो। 

अन्नबाली लगाउने समयमा लगाएको अन्नबाली राम्रोसँग सप्रियोस्, पानी परोस्, किराफट्याङ्ग्रा तथा जङ्गली जनावरले दुःख नदिऊन, सबैमा सुख शान्ति, सुस्वास्थ्य होस्, दैवी प्रकोप तथा विपत्ति नआओस् भन्दै उभौली पर्व मनाइन्छ। 

राई, लिम्बू, याक्खा र सुनुवार लगायतका किरात जातिको यो पर्वको पहिलो दिनमा घरघरमा लिपपोत शुद्ध बनाइन्छ। आफ्ना पिता पुर्खाले मानेको तीन चुल्हो ढुङ्गाको विधिपूर्वक पूजा गर्छन् । गाउँ, समाज, टोलमा पहिलेदेखि नै स्थापना गरी राखिएको साकेला थान, भूमेथान र त्यो नभएको ठाउँमा कटुसको हाँगा गाडी थान स्थापना गरेर भूमि र नागनगेनीको पूजाआजा गरिन्छ।
 
पूजा आराधना गर्ने पुजारी नागिरे धामी र यस्ता व्यक्ति नभएमा विधिसम्बन्धी ज्ञान भएकाले पूजा गर्छन्। पूजाका लागि कुखुरा, सुँगुर, जाँड, रक्सी, अदुवा, केराको पात, धूप, अक्षता, पाती, सेउली, ढोल, झ्याम्टा, धनुकाँडालगायत सामग्री आवश्यक पर्दछ। पूजा सम्पन्न भएपछि सो थानकै वरिपरि सामूहिकरुपमा परम्परागत बाजा, ढोल, झ्याम्टा, अर्ना भैँसीको सिङ आदि बजाएर नाच्ने गरिन्छ। पहिलो दिन पूजा स्थलमा नाचिए पनि त्यसपछिका दिनमा अन्य स्थानमा जम्मा भई नाचेर रमाइलो गरी १५ दिनसम्म उभौली मनाइन्छ।
 



ट्रेन्डिङ पोस्ट

Ncell