PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

'रिस्की मिसन': थाइल्यान्ड गएर पीडित आफैंले पक्राए ठगलाई



सविन ढकाल

'रिस्की मिसन': थाइल्यान्ड गएर पीडित आफैंले पक्राए ठगलाई

काठमाडौं : बैंककका लागि उड्दा घर परिवारकाले उनलाई भनेका थिए, 'जोखिम हुन्छ भैगो नजाउ।'

क्यानडामा व्यवस्थित जीवन बिताउने सपना बोकेर सेनाको जागिर छाडेका यिनी यसपटक फरक उद्देश्य लिएर थाइल्यान्ड जाँदै थिए। एउटा विशेष 'मिसन' बोकेका यिनी त्यस्तो जोखिमपूर्ण काम गर्न हिँडिरहेका थिए जुन हत्तपत्त कसैले आँट्दैन।

थाइल्यान्ड जाँदै गरेका यिनी अर्थात्, थाम्पु परियार। यसअघि उनी क्यानडा जानका लागि थाइल्यान्ड पुगेका थिए। यसपाला भने उद्देश्य फरक थियो।

क्यानडा कनेक्सनको कथा

सेनाको जागिर छाड्ने कुरा सहज थिएन। तर, क्यानडा जाने सपना सानो पनि थिएन। सपनासँगै रकमको खाँचो थियो। नेपालीहरुले क्यानडामा पिआर पाइरहेको बुझेका उनले त्यसका लागि रकम जोहो गर्न थाले। जोहो भएको ११ लाख रुपैयाँ परशुराम गुरुङलाई बुझाए पनि।

परशुरामले थाइल्यान्ड हुँदै क्यानडा जाने आइटनरी पठाएका थिए। त्यसैले थाइल्यान्ड ट्रान्जिट बन्यो। उनीसँगै १५ जनाले ११ लाखका दरले रकम बुझाएका थिए। सबै थाइल्यान्ड पुगे। बैंककबाट टाढा नै थियो उनीहरु बस्ने ठाउँ, थाइल्याण्ड नै भए पनि लाओसको सीमा नजिकै। नोभेम्बर १२ मा बैंककबाट क्यानडाको फ्लाइट थियो।

यहाँसम्म त सबै ठीक नै थियो। तर, जति क्यानडा जाने दिन नजिकियो, त्यो सपनामाथि घात हुँदै थियो। १२ नोभेम्बर अघिदेखि नै परशुरामसँग एकाएक सम्पर्क हुन छाड्यो। 'लाहोस सीमा नजिकै पैसा बुझाएका थियौं,' थाम्पुले सुनाए, 'क्यानडा जाने डेट नजिक आउँदा त उनलाई भेट्नै सकिएन।'

त्यसपछि उनीहरु बैंकक नै फर्किए, १२ घन्टा लाग्यो बसमा। यतिखेरसम्म थाम्पु र उनका साथीहरुले फँसिएको अनुभूति गरिसकेका थिए। सोझै नेपाली दूतावास गए र खबर गरे - हामी ठगियौं।

 

संकटको सुरुवात

भएको जागिर माया मारेको कुरामात्र होइन, क्यानडा सपना चकनाचुर भयो भन्नेमात्र पनि रहेन। रह्यो त ऋणको भारी। 'परशुराम सरले त राम्रो जागिर हुने भन्दै पैसा लग्नु भएको थियो,' थाम्पुले सम्झिए। नेपाली दूतावासमा पुग्दा त थप झसंग हुने अवस्था बन्यो। परशुराम त ठूलो मान्छेका रुपमा स्थापित रहेछन्, त्यहाँ।

परशुराम

ऋण काडेर रकम बुझाएको चिन्ता एकातिर थियो, अर्कोतिर साथ कसैबाट मिलिरहेको थिएन। धेरैको रकम फसेको थाहा पाएपछि त झन बढी चिन्ता। अझ दूतावासका कर्मचारीले दिएको सुझावले घाउमा नुनचूक लगाएजस्तोमात्र। 'ऊ ठग हो भनेर एउटा लेटरमात्र बनाइदिनु भनेको थिएँ,' उनले भने, 'त्यहाँ त झनै डर देखाउने कुरा गर्नुभयो। राजाकै शक्ति लगाए पनि केही हुन्न भनियो।'

विकल्प केही रहेन, बल्लबल्ल रकम जोहो गरेर उनी फर्किए काठमाडौं।

'तर भोक निन्द्रा सबै हरायो। के गर्ने?,' त्यतिखेर उनीसँग प्रश्नमात्र थियो, जवाफ थिएन। उनी ठगिए भनेर ऋणको ब्याज त रोकिने त थिएन। प्रहरीकहाँ उजुरी गरे।

 

ठगिनेहरुकै सूची लामो

जसलाई विश्वास गरेर उनले रकम बुझाउँदै ठगिएका थिए, उनीभन्दा अगाडि ठगिनेहरु पनि उत्तिकै रहेछन्। यसअघि उजुरी नै परेको रहेछ परशुराम गुरुङविरुद्ध। थोरैले मात्र उनलाई परशुराम भनेर चिन्दा रहेछन्। उनको नाम त कमल, पारस, मनोज, किम, अधिराज थापा मगर, प्रताप आदिआदि रहेछ। यी सबै नामबाट ठगिनेहरुको सूची त प्रहरीले २ सयभन्दा बढी रहेको जनाएको छ।

उजुरीमात्र होइन, जसलाई उनले ११ लाख रुपैयाँ बुझाएका थिए उसको त राहदानी नै रद्द गरिसकेको रहेछ सरकारले। आफै भिजिट भिसा मिलाएर थाइल्यान्डमा बस्दै आएका रहेछन्, त्यहीँ बसेर चलिरहेको रहेछ, उनको ठगी धन्दा।

प्रहरीकहाँ आएका उजुरीमा परशुरामले प्रयोग गर्ने २० वटा मोबाइल नम्बरहरु पनि सूचीकृत रहेछन्। नटवरलाल परशुरामको जालोमा थाम्पु परियार पनि परिसकेका थिए, उनीभन्दा अघि ठगिनेको सूची देखेर उनी आफैँ चकित।

अनि बन्यो फरक प्लान...

प्रहरीसँग नियमित सम्पर्कमा रहेका थाम्पुले एकाएक आफैँ प्लान गरे - थाइल्यान्ड जान्छु, त्यसलाई समात्छु। प्रहरीसँग सहकार्य गर्नेगरी उनले मुड बनाइसकेका थिए। थाइल्यान्ड जान उनी तयार भए पनि घर परिवारका मानिसले मानुन् कसरी?

'मेरो त सबै गुमेको थियो। अब बाँकी के नै छ र भन्ने सोचेँ,' उनले भने। सुरक्षा निकायमा रहेर काम गरेका उनमा वेग्लै आत्मबल थियो। त्यही आधारमा उनले थाइल्यान्डका प्रहरीसँग पनि यसबारे जानकारी गराए। परशुराम गुरुङलाई प्रहरीले यसै पनि इन्टरपोलको डिफ्युजन नोटिसमा राखिसकेको थियो। २०७२ असार १८ गते नै उनको विवरण इन्टरपोलले अपडेट गरेको थियो।

त्यसपछि उनी काठमाडौंबाट उडे।

थाइल्यान्डमा नै बस्ने दिदीको सहयोगमा उनले गुरुङको सेल्टर पत्ता लगाए। परशुराम लाओस नजिकै रहेछन्। नेपाल प्रहरीले थाइल्यान्डमा रहेको नेपाली दूतावास, त्यहाँको प्रहरीसँग नियमित सम्पर्क जोडेको थियो। परशुरामको 'रेकी' गरेर सोझै उनी थाइ प्रहरी र दूतावासको सम्पर्कमा आए। उनले दिएको सूचनाकै आधारमा थाइल्यान्डको प्रहरीले गत चैत १३ गते परशुराम समातिए। परिवारले नजाउ... भन्दाभन्दै पनि थाइल्यान्ड पुगेका थाम्पुको मिसन एक हदसम्म पूरा भइसकेको थियो।

थाइ प्रहरीले नाखोन न्हाम भन्ने ठाउँबाट परशुरामलाई समातेको थियो। त्यहाँबाट उनलाई बैंककस्थित सुवान प्लु कारागारमा राखिएको थियो। यो कारागार त्यहाँको अध्यागमन मातहतमा छ।

कैदमा परेका परशुरामलाई यही १० गते थाइ प्रहरीले डिपोर्ट गरेर नेपाल पठायो। आज प्रहरीले परशुरामलाई सार्वजनिक गरिरहँदा थाम्पु पनि उपस्थित थिए। उनको सहयोगले २ सय भन्दा धेरै ठगिएका मानिसहरुसामु न्यायको आशा जागेको छ। त्यसैले पनि प्रहरीको पत्रकार सम्मेलनमा निक्कै सन्तुष्ट देखिन्थे उनी।

'एउटा ठूलो सफलता त भयो नि। अरु केही नभए पनि जेल त गयो,' थाम्पुको स्वरमा दृढता झल्किन्थ्यो।

सम्बन्धित समाचार : 

नेपाली पासपोर्ट रद्ध, तै पनि थाइल्यान्डमै रहेर तस्करी र ठगी, 'डिपोर्ट'पछि काठमाडौंमा सार्वजनिक



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell