PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सत्ता र शक्तिको पछि बलिउड सेलिब्रिटी: 'कमल' फूल्दा चलेन कांग्रेसी कलाकारको जादु



सत्ता र शक्तिको पछि बलिउड सेलिब्रिटी: 'कमल' फूल्दा चलेन कांग्रेसी कलाकारको जादु

काठमाडौं : भारतीय राजनीतिमा कलाकारहरुको रुची र सहभागी बढ्दो छ। निर्वाचनका समयमा कलाकारहरु राजनीतिक दलहरुमा बाँडिन्छन्। विचारका आधारमा भन्दा पनि बढी शक्ति र सत्ताका आधारमा कलाकारहरु राजनीतिमा जोडिँदै आएका छन्। भारतीय राजनीतिमा हेर्ने हो भने कलाकारहरुले सत्ता र संसदको यात्रा तय गरेका छन्।

यसपटक भएको लोकसभा निर्वाचनमा पनि भारतीय कलाकारहरु संसदमा इन्ट्री र एक्जिट भएको छ। कतिपय नयाँ कलाकारहरु संसदमा प्रवेश गर्न सफल भएका छन् भने कतिपय संसदबाट बाहिरिएका छन्। केही कलाकारहरु संसदमा दोहोरिँदै छन् भने कतिपयको राजनीतिक इन्ट्री दु:खद् सावित भएको छ।

स्मृति इरानीको संसद इन्ट्री

यसपटकको निर्वाचनको हट टपिक बन्यो, स्मृति इरानीको संसद इन्ट्री। २०१४ को निर्वाचनमा राहुल गान्धीसँग अमेठीबाट एक लाख बढी मतान्तरले पराजित भएकी इरानीले नरेन्द्र मोदी क्याविनेटमा स्थान बनाइन्। मोदी क्याविनेटकी मन्त्री इरानीले अमेठीमा घर नै किनेर पछिल्लो चार वर्ष अमेठीमा आफ्नो प्रभाव विस्तार गरिन्।

फोटो:  द हिन्दु 

यसैको परिणाम स्वरुप यसपटकको निर्वाचनमा उनले कांग्रेस अध्यक्ष राहुल गान्धीलाई ५५ हजार बढी मतान्तरले पराजित गर्न सफल भइन्। कांग्रेसको परम्परागत गढको रुपमा रहेको अमेठीमा पहिलो पटक ‘कमल’ फूलाइन्। यस लोकसभा सिटमा कांग्रेसका अध्यक्षहरु लड्दै आएका थिए। स्वयम् राहुल गान्धी पनि यसअघि यहाँबाट तीन पटक सांसद भइसकेका छन्। उनीभन्दा अगाडि यही क्षेत्रबाट युपीए गठबन्धनकी अध्यक्ष तथा राहुल गान्धीकी आमा सोनिया समेत संसद बनेकी थिइन्।

२००३ बाट भारतीय जनता पार्टीमा प्रवेश गर्दै राजनीति सुरु गरेकी इरानी पूर्व अभिनेत्री, मोडल समेत हुन्। कुनै समयमा निकै चर्चित रहेको टेलिसिरियल ‘सास भी कभी बहु थी’ की अभिनेत्री इरानी २००४ मा दिल्लीको चाँदनी चोकबाट लोकसभा निर्वाचनमा उम्मेदवार बनिन्। पहिलो पटक निर्वाचनमा होमिएकी इरानी कांग्रेसका कपिल सिब्बलसँग पराजित भइन्। इरानी तब मिडियामा फेरि चर्चित बनिन् जब उनले मोदीका कारण भाजपाले राम्रो प्रदर्शन गर्न नसकेको भन्दै मोदीविरुद्ध अनशन बसेर समेत चेतावनी दिएकी थिइन्। पछिल्लो पटक मोदीको विश्वास पात्रको रुपमा रहेकी उनलाई मोदीले निर्वाचनमा पराजित भएपनि क्याविनेटमा लगेका थिए। यसपटक उनले मोदी–अमित शाह र भाजपालाई अमेठीबाट जितको सुन्दर उपहार लिएर दिल्ली आउँदै छिन्।

आमा–छोराको संसद प्रवेश

बलिउड ड्रिम गर्ल हेमा मालिनीले उतर प्रदेश माथुरा क्षेत्रबाट चुनाव जितेकी छिन्। सन् १९९९ मा भारतीय जनता पार्टीका उम्मेदवार तथा अभिनेता विनोद खन्नाको चुनावी अभियानबाट राजनीतिमा प्रवेश गरेकी उनी २००४ मा औपचारिक रुपमा भाजपामा प्रवेश गरेकी थिइन्।

सन् २००३ देखि २००९ सम्म उनले भारतको माथिल्लो सदन राज्यसभामा सदस्यको रुपमा काम गरेकी थिइन्। सन् २०१० मा मालिनी भाजपाको महासचिव भइन। २०१४ को लोकसभा निर्वाचनमा उनी मथुराबाट विजयी भएकी थिइन्। यसपटक पनि मथुराबाटै २ लाख ८७ हजार ८ सय ९२ मतान्तरले विपक्षीलाई पराजित गर्दै हेमा मालिनीले लोकसभा यात्रा तय गरेकी छिन्।

उनी मात्र होइन यसपटकको निर्वाचनमा बलिउड अभिनेता तथा उनका छोरा सन्नी देवलले पनि संसद यात्रा तय गरेका छन्। पञ्जावको गुरदासपुरबाट उम्मेद्वार बनेका उनी ५ लाख ४७ हजार ७८१ मत प्राप्त गर्दै विजयी भएका हुन्। निर्वाचनको केही हप्ता अगाडि मात्र भाजपा प्रवेश गरेका उनले राजनीतिको पहिलो यात्रामा सफलता हात पारेका हुन्।

भारतीय जनता पार्टीबाटै यसपटक पनि किरण खेरले आफ्नो निरन्तरतालाई सुनिश्चित गरेकी छन्।

बलिउड अभिनेत्री खेर सामाजिक अभियानता हुँदै राजनीतिमा प्रवेश गरेकी थिइन्। उनी सन् २००९ मा भाजपा प्रवेश गरेकी थिइन्। सन् २०१४ मा मोदीको उम्मेदवारी घोषणा नहुँदै देखि उनी मोदीको प्रचारमा उभिएकी थिइन्। उनले सन् २०१४ मा चन्डीगढबाट तत्कालीन सांसद पवन बन्सललाई करिब दुई लाख मतान्तरले पराजित गरेकी थिइन्। यसपटक पनि उनले पुरानो जितलाई निरन्तरता दिँदै कांग्रेसका बंशललाई नै पराजित गर्दै संसदको उपस्थितिलाई निरन्तरता दिन सफल भएकी हुन्।

भोजपुरी र बंगाली कलाकारको सक्रियता

गोरखपुरबाट चुनावमा उठेका भोजपुरी अभिनेता अभिनेता रवि किशन ३ लाख १ हजार ६६४ मत ल्याएर विजयी भएका छन्। उनले समाजवादी पार्टीका रामभुआल निषाद र कांग्रेसका मधुसुधन त्रिपाठीलाई भारी मतसहित हराएका हुन्। उनलाई भोजपुरी फिल्मको 'अभिताभ बच्चन' भनेर पनि चिनिने गरेको छ। बलिउडमा समेत आफ्नो छवी बनाउन सफल रविको राजनीति भने भारतीय राष्ट्रिय कांग्रेसबाट सुरु भएको हो।

उनले २०१४ को निर्वाचन अगाडि कांग्रेसमा प्रवेश गरी उत्तर प्रदेशको जुनपुरबाट चुनाव लडेका थिए। त्यतिबेला उनले जम्म ४२ हजार मत ल्याएका थिए। सन् २०१७ मा कांग्रेस पार्टी परित्याग गर्दै भाजपा प्रवेश गरेका रवि निर्वाचन जित्दै सांसदको रुपमा लोकसभामा प्रवेश गर्दैछन्।

यता भोजपुरी क्षेत्रकै अर्का हस्ती मनोज तिवारीले दिल्लीबाट दिल्लीका पूर्वमुख्यमन्त्री शिला दीक्षितलाई पराजित गर्दै संसदको यात्रा तय गरेका छन्। उनी दिल्लीको उत्तर पूर्वी क्षेत्रबाट भाजपाको उम्मेदवारको रुपमा चुनावमा होमिएका थिए। उनी २०१४ देखि भाजपाको राजनीतिमा छन्।

यता बलिउडका गायक बाट नेता बनेका बाबुल सुप्रियोले पनि यसपटक संसदमा निरन्तरता पाउने छन्। सन् २०१४ मा राजनीतिमा प्रवेश गरेका उनले पश्चिम बंगालमा ममता बनर्जीको तृष्णमुल कांग्रेसको गढ भत्काउँदै लोकसभामा निर्वाचित भएका थिए। त्यसपछि उनी मोदी क्याविनेटमा सदस्यको रुपमा काम गर्दै आएका छन्। उनले २०१६ सम्म मोदी क्याविनेटको शहरी विकास आवास तथा शहरी गरिवी निवारण राज्यमन्त्रीको रुपमा काम गरेका थिए। पछि उनले उद्योग तथा सार्वजनिक व्यवसाय राज्यमन्त्रीको रुपमा काम गर्दै आएका थिए।

त्यस्तै थुप्रै बंगाली फिल्महरुमा अभिनय गरिसकेकी अभिनेत्री मिमी चक्रवर्तीले तृष्णमूल कांग्रेसबाट २ लाख ९५ हजार भन्दा बढी मत ल्याएर जित हासिल गरेकी छिन्। अर्कि बंगाली चलचित्रकी अभिनेत्री नुसरत जहान पनि तृष्णमुल कांग्रेसबाट संसदको यात्रा तय गरेकी छिन्।

कांग्रेसी कलाकारको पराजय

सत्तारुढ दल भारतीय जनता पार्टीबाट निर्वाचनमा होमिएका अधिकांश कलाकारहरुले संसदको यात्रालाई तय गरे पनि भारतीय कांग्रेसबाट निर्वाचनमा होमिएका कलाकारहरुका लागि भने यसपटकको राजनीतिक यात्र सफल भएन।

भाजपा छोडेर कांग्रेसमा सामिल भएका अभिनेता शत्रुघ्न सिन्हाले चुनाव हारेका छन्। शत्रुघ्नलाई भाजपाका रविशंकर प्रसादले करिब ३ लाख मतान्तरले पराजित गरेका छन्। त्यस्तै निर्वाचनको केही समय अघि मात्रै समाजवादी पार्टी प्रवेश गरेकी उनको श्रीमती पूनम सिन्हा लखनउ लोकसभाबाट चुनावमा उठेकी थिइन्। उनलाई गृहमन्त्री राजनाथ सिंहले भारी मत ल्याएर पराजित गरेका छन्।

शत्रुघ्न सिन्हा १९९० को दशकमै राजनीतिमा प्रवेश गरेका थिए। सन् १९९६ देखि २००८ सम्म राज्यसभाको सांसदको रुपमा बिहारबाट चुनिएका उनी २००९ देखि बिहारको पटना साहिबदेखि दुई कार्यकाल लोकसभा सदस्यको रुपमा भाजपाबाट निर्वाचित भएका थिए। उनले अटल विहारी बाजपेयी क्याविनेटमा सन् २००२ जुलाइ देखि २००३ जनवरी सम्म छोटो कार्यकाल स्वास्थ्य मन्त्रीको रुपमा जिम्मेवारी पाएका थिए। त्यस्तै २००३ को जनवरी देखि २००४ मे सम्म सिपिङ मन्त्रीको रुपमा रहेका थिए। निर्वाचन अगाडि भाजपाले पटना साहिबबाट टिकट नदिएपछि उनी कांग्रेस प्रवेश गरेका थिए।

त्यस्तै, यसैपटक निर्वाचन अगाडि कांग्रेस प्रवेश गरेकी अभिनेत्री उर्मिला मातोंडकरको राजनीतिक सुरुवाती सुखद् हुन सकेन्। निर्वाचन अगाडि कांग्रेस प्रवेश गरेर फिल्म सिटी मुम्बईबाट नै उम्मेदवार बनेकी उनी भारतीय जनता पार्टीका उम्मेदवारसँग पराजित भइन्।

त्यस्तै अर्का अभिनेता राज बब्बरले पनि आफ्नो राजनीतिक उचाइलाई यसपटक बचाउन सकेनन्। कांग्रेसको उत्तर प्रदेश कमिटीको अध्यक्षसमेत रहेका बबर चुनावमा पराजित भए। सन् १९९४ मा राज्य सभा सदस्य भएका उनी सन् १९९९ मा आगराबाट दुई कार्यकाल लोकसभा सदस्यका रुपमा निर्वाचित भएका थिए। त्यस्तै २००९ देखि २०१४ सम्म फिरोजावादबाट संसदमा निर्वाचित भएका उनी २०१५ मा उत्तराखण्डबाट राज्यसभा सदस्यका रुपमा मनोनित भएका थिए।

सेलिब्रिटी जसको कमल फूलेन

सत्तारुढ दल भाजपाबाट निर्वाचनमा होमिएका अधिकांश कलाकार तथा सेलिब्रिटीहरु विजयी भए पनि केही कलाकारहरु भने पराजित भए।

निर्वाचन अवधिभर लाइमलाइटमा रहेकी भाजपा उम्मेदवार जया प्रदा पराजित भइन्। १९९४ देखि नै राजनीतिमा प्रवेश उनी पटक पटक राज्य सभा, लोकसभा र विधानसभाको सदस्यको रुपमा निर्वाचित भएकी थिइन्। यसपटक निर्वाचनको केही समय अघि मात्रै भाजप प्रवेश गर्दै निर्वाचनमा लड्दा भने उनले सफलता हासिल गर्न सकिनन्। राजनीतिमा शक्तिको पछि लाग्ने उनी चन्द्रबाबु नायडुको पक्षमा लागेर आन्द्र प्रदेशबाट राज्यसभामा सन् १९९६ मा मनोनित भएकी थिइन्। उनले तेलगु महिलाको अध्यक्षको रुपमा काम गरिन्।

फोटो:  स्क्रोल इन

पछि चन्द्रबाबु नायडुसँग मनमुटाव पछि समाजवादी पार्टीमा प्रवेश गरेकी उनी रामपुरबाट २००४ मा लोकसभा निर्वाचनमा विजयी भएकी थिइन्। २०११ मा उनीले आफ्नो छुट्टै दल राष्ट्रिय लोक मञ्च गठन गरिन्। २०१२ मा भएको विधानसभा निर्वाचनमा उनीको पार्टीले एक सिट पनि जित्न सकेन्। पछि उनी आरएलडी प्रवेश गरिन्। आरएलडी पार्टीबाट २०१४ को लोकसभामा विजनोरबाट उम्मेदवार बनेकी उनी त्यतिबेला पराजित भएकी थिइन्। निर्वाचन अगाडि भाजपा प्रवेश गरेर उत्तर प्रदेशको रामपुरबाट उम्मेदवार बनेकी जयप्रदा देशभर भाजपाको लहर आउँदा आजम खानसँग पराजित भइन्।

त्यस्तै यसपटक कमल फुलाउन नसक्ने भाजापका सेलिब्रिटी उम्मेदवार हुन दिनेशलाल यादव ‘निरहुवा’। भोजपुरीका अभिनेता तथा लोकगायक निरहुवा महागठबन्धन उम्मेदवारसँग टिक्न सकेनन्। निर्वाचन अगाडि भाजापा प्रवेश गरेका उनले उत्तर प्रदेशको आजमगढमा उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री अखिलेश यादवको गढ भत्काउन सकेनन्। समाजवादी पार्टी पार्टीका अध्यक्ष अखिलेशको साइकल कमल भन्दा अगाडि पुग्यो।

बजेन प्रकाश राजको सिट्टी

कलाकारहरु राजनीतिक पार्टी र सत्ताको आडमा अगाडि बढ्दै गर्दा राजनीतिक दलहरुले प्रजातन्त्रलाई मास्दै गएको भन्दै निर्वाचनमा होमिएका थिए अभिनेता प्रकाश राज। बैंगलुरु सेन्ट्रलबाट स्वतन्त्र रुपमा सबै राजनीतिक दलका उम्मेदवारहरुलाई चुनौती दिएका अभिनेता प्रकाश राजको चुनाव चिन्ह थियो सिट्टी।

फोटो:  प्रकाश राज ट्वीटर

चलचित्रमा खलपात्र, भ्रष्ट राजनीतिका नेताको रुपमा दमदार अभिनय दिने प्रकाश राज वास्तिविकतामा भने राजनीतिमा भ्रष्टचारीहरु मौलाएका भन्दै निर्वाचनमा होमिएका थिए। तर, उनको प्रदर्शन राम्रो हुन सकेन। उनी यहाँ तेस्रो स्थानमा रहे। आफ्नो क्षेत्रको निर्वाचन पछि उनी देशभर विभिन्न उम्मेदवारको प्रचारमा पुगेका थिए। बिहार वेगुसरायमा पुगेर कन्हैया कुमार देखि दिल्लीमा आम आदमी पार्टी सम्मका उम्मेदवारको प्रचार गरे पनि उनले समर्थन गरेका कुनै उम्मेदवारहरुले जित हात पार्न सकेनन्। निर्वाचनमा पराजयसँगै उनले आफू स्वतन्त्र भारतको लागि सँधै लडिरहने बताएका छन्।

‘मेरो मुहारमा एउटा गतिलो झापड...तिरस्कार... ट्रोलहरु... र अपमानहरु मेरो बाटोमा आउने छन्। म मेरो धरातलमा उभिने छु। म धर्मनिरपेक्ष भारतको प्रतिको संकल्पको लडाइलाई निरन्तरता दिने छु। एउटा कठिन यात्रा भर्खर सुरु भएको छ। मेरो यो यात्रामा साथमा हुनुहुने सबैमा धन्यवाद,’ निर्वाचन परिणाम पछि उनले ट्वीट गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell