PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

एउटा नियमित आकस्मिकता: युनुसको जेल यात्रा कति अपराध कति बाँच्ने रहर?



सविन ढकाल

एउटा नियमित आकस्मिकता: युनुसको जेल यात्रा कति अपराध कति बाँच्ने रहर?

काठमाडौं : पूर्व मन्त्री सलिम मिया अन्सारीका छोरा युनुस अन्सारी शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परे। 'चुच्चे ढुङ्गो उही टुङ्गो' भने झै विमानस्थलमा उनको गिरफ्तारी लामो समयका लागि पुन: जेल यात्राको मेलो बनिरहेको त होइन? आशंका स्वभाविक थियो।

यसपटक समातिँदा पनि उनी पुरानै धन्दाका कारण जोडिए - नक्कली भारतीय नोट। रोचक चाहिँ के हो भने, भारतमा मोदीले पुन: सत्ता सम्हाल्ने गरी जित हासिल गरेको भोलिपल्टै नक्कली भारुसहित उनी समातिए। यसले एउटा प्रष्ट संदेश दिएको छ, राजनीतिक रुपमा - भारतीय नक्कली नोटको कारोबारविरुद्ध नेपाल सरकार कडा छ। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षीलाई दिएको जितको बधाई र शुभकामना सन्देशभन्दा यस्तो 'उपहार'ले रणनीतिक रुपमा महत्व राख्छ।

सिक्काको अर्को पाटो पनि छ जसलाई नजर अन्दाज गर्न सकिन्न। विमानस्थलबाट बाहिरिएको ठूलो परिमाणको रकम बुझ्न यति सहजै अन्सारी विमानस्थल किन पुग्छन्? पत्रकार सम्मेलनमा उनको मुस्कान र हीनतावोधविनाको प्रस्तुतिले संशय नै प्रकट गर्छ। अर्थात्, प्रहरीले उनलाई रकम बुझ्दै गर्दा समातेको हो, या घटनाक्रमको यो 'प्लट' उनैले तय गरेका हुन्? यस्तोखाले सन्देह फगत उठाइएको भने होइन। त्यसका लागि बलिया आधार पनि छन्।

नक्कली नोटको सिलसिलेबार कारोबार

२०६६ साल पुस १८ गते युनुस पहिलो पटक भारतीय नक्कली नोट र लागू औषधसहित पक्राउ परे। २५ लाख भारतीय रुपैयाँसहित प्रहरीले उनलाई दपेचेको थियो। उनीविरुद्ध मुद्दा चल्यो। नक्कली नोटको कारोबार गरेको ठहर्‍यायो अदालतले। २०६६ माघ १७ गते हिरासतबाट उनी जेल सरुवा भए।

सुन्धारास्थित केन्द्रीय कारागारमा युनुसलाई राखियो। तर, कारागारभित्र रहे पनि उनको चर्चा रोकिएन। जेल परेको एक वर्ष पूरा भइसकेपछि २०६७ फागुन २६ गते एउटा अप्रत्यासित घटना भयो, नेपालको सुरक्षा निकायलाई नै झस्क्याउने गरी। सबैभन्दा सुरक्षित मानिएको सुन्धारको केन्द्रीय कारागारभित्र गोली चल्यो। कारागारको सुरक्षा घेरा तोडेर उनीमाथि गोली बर्साउने व्यक्ति थिए, जगजित सिंह। सिंह सार्प सुटरका रुपमा कुख्यात। उनले हानेको गोलीको निसाना थोरै चुक्यो र घाइते भए प्रहरी जवान प्रमोद कुमार चौरसिया। बालबाल बचे युनुस्। यस घटनाले सुरक्षा निकायको कमजोरी छताछुल्ल भयो। सलाई वा लाइटरसमेत भित्र लैजान नसकिने केन्द्रीय कारागारभित्र पेस्तोलसहित सार्प सुटर पुग्नु प्रहरीसँगको सेटिङको परिणाम थियो या सुरक्षा व्यवस्थामा रहेको कमजोरी? उत्तर कहिल्यै बाहिरिएन।

युनुसका बाबु सलिम मियाँ अन्सारीको राजनीतिक कनेक्सन बलियो थियो। नेकपा एमालेदेखि राजा ज्ञानेन्द्रसम्म उनको प्रभाव बलियो थियो। पछि राप्रपा र माओवादीसँगै पनि सलिम जोडिएका थिए। त्यसैकै प्रभावमा उनी बाहिरिन सक्ने अड्कलबाजी पनि भइरहे। तर, उनी छुटेनन् या छुट्न चाहेनन्। उनलाई गोली हान्न कडा सुरक्षा भएको केन्द्रीय कारागारभित्रै पेस्तोलसहित कोही पुग्न सक्छ भने बाहिर युनुस कति सुरक्षित रहन सक्थे? सायद, युनुसले जेल जीवन चाहे।

चार वर्ष जेल बसेपछि २०७० असोज १८ गते उनी छुटे। उनको छुटेको विषय खासै चर्चामा रहेन। तर, लामो समय उनी खुला जीवनमा रहन सकेनन्। या भनौं, अपराधकर्ममै सक्रिय रहे। तीन महिना नपुग्दै फेरि उनी समातिए। २०७० माघ १० गते उनलाई नेपाल प्रहरीको विशेष व्यूरोको टोलीले ३५ लाख भारतीय रुपैयाँ सहित ललितपुरको नख्खुपोटबाट नियन्त्रणमा लियो। यसपटक पनि उनको जेल बसाई सानो समयका लागि रहेन। अर्को ४ वर्ष। २०७४ फागुन २ गते उनी फेरि छुटे। दुईपटक नक्कली नोटसहित कैद भुक्तान गरिसकेका युनिस त्यसपछि कहाँ हराए? कसैको चासोमा उनी परेनन्।

सधैं सुरक्षा 'थ्रेट'मा

जेलबाट बाहिरिनु युनुसका लागि सधैं सुरक्षा खतराको विषय बनिरह्यो। यसमा अरु ठूला कारण छैनन्, राजनीतिक या अपराधसँग कनेक्सनका नाममा मुसलमानहरु बारम्बार भारतीय थ्रेटको सिकार बन्दै आएका छन्। यसरी मारिनेहरुको सूची पनि लामै छ।

‘पटकपटक जेल पर्दै र छुटेका व्यक्ति हुन् उनी। उनमा सुरक्षा थ्रेट हुनसक्ने देखिन्छ,' पूर्व डिआइजी हेमन्त मल्ल ठकुरीको विश्लेषण छ।

इस्लामिक संघ नेपालका महासचिव फैजान अहमद २०६८ असोज ९ गते राजधानीको घण्टाघर अगाडि गोली हानी मारिए। रानीपोखरीमा रहेको प्रहरीको तत्कालीन महानगरीय आयुक्तको कार्यालयभन्दा डेढ सय मिटर दुरीमा फैजानको हत्या भएको थियो। फैजानको हत्यामा भारतीय पेशेवरको संलग्नता रहेको प्रहरी अनुसन्धानले देखाएको थियो। नेपाल प्रहरीले फैजानको हत्यामा संलग्न भन्दै २७ वर्षीय धनबहादुर थापा मगर पक्राउसमेत गरेको थिए।

२०६६ माघ २४ गते लाजिम्पाटमा गाडीमा रहेका संचार उद्यमी जमीम शाहमाथि गोली प्रहार भयो। जमीम सधैं भारतीयको सूचीमा 'अन्डर वर्ल्ड'सँग जोडिएका पात्र थिए। आफ्नो टेलिभिजनमा नेपाली बाहेक हिन्दी र अंग्रेजी भाषाका सामग्रीसमेत प्रस्तुत गर्न नदिने उनलाई भारतीय अन्डर वर्ल्ड डन छोटा राजन समूहले गोली हानी हत्या गरेको बताइयो।

जमीमजस्तै ब्ल्याक लिस्टमा रहेका पात्र हुन् युनिस अन्सारी। उनीमाथि पाकिस्तानी एजेन्टको 'दाग' छ। ‘जेलबाट छुटे पनि उनीमाथि थ्रेट कम थिएन,' अनुसन्धानमा खटिएका एक प्रहरीले भने।

त्यसो त जेल बाहिर हुनासाथ उनी मलेसिया पुगेको प्रहरी अनुसन्धानमा देखिएको छ। गत पुस यता दुईचोटी उनी मलेसिया गएका थिए।

अनि नाटकीय रुपमा पक्राउ...

लामै समयदेखि चर्चामा नआएका अन्सारी शुक्रवार एकाएक पक्राउ परे। त्रिभुवन विमानस्थलमा नक्कली भारतीय रुपैयाँ बुझ्न गएको बेला उनी सहित ६ जनालाई नियन्त्रणा लिएको थियो। अनि नाटकीय भन्नै पर्ने आधार चाहिँ यतिमात्र हो - यति ठूलो नक्कली रकम बुझ्न उनी आफैँ विमानस्थल किन पुगे? प्रहरीले अहिलेसम्म यसबारे मुख खोलेको छैन।

उनीसँगै सोहेल खान समातिएका छन्। उनका चालक सुजन रानाभाट पनि पक्राउ पर्नेमा एक हुन्। त्यसो त प्रहरीले उनलाई समातेको विषयमा औपचारिक अभिव्यक्तिमात्र दिएको छ। ‘पटकपटक खोटा चलनमा पक्राउ परेका व्यक्ति भएकाले यिनी हाम्रो निगरानीमा थिए,' युनुस समातिएपछि महानगरीय प्रहरी कार्यालयका डिआइजी शैलेश थापाले औपचारिक 'कोट' यही हो।

युनिस पटके र भरिया प्रकृतिका अपराधी चाहिँ होइनन्। यसअघि पनि उनी ठूलो परिमाणमा नक्कली नोट सहित पक्राउ परेका/पारिएका थिए। प्रहरीले उनलाई होटेल र आफ्नै घरबाट नियन्त्रणमा लिएको थियो, यसअघि। तर, यसपटक ती दृश्यहरुको प्लट फेरियो। र, समातिए विमानस्थलमा।

सामान्यतया भरिया र चेन बनाएरमात्रै अपराधीले 'काम' गर्छन्। पटकपटक सुन समातिँदा भरियामात्र समातिनु यसको उदाहरण हो। अनुसन्धानमा रहेका एक प्रहरी अधिकृतको भनाइले त्यसको पुष्टि गर्छ - ‘उनलाई कसैले ट्र्यापमा पार्‍यो। नत्र उनी नै विमानस्थलमा गएर सामान रिसिभ गर्नुपर्ने अवस्था थिएन।'

यो पनि पढ्नुहोस्

नक्कली नोटसँगै समातिएका युनुसको मुस्कानसहितको 'इन्ट्री', बयानमा भने : मगाएको भन्दा धेरै नै पठाएछन्

युनुस फन्दामा पर्नेगरी विमानस्थलमा भएको त्यो ४ घन्टा लामो 'कोभर्ट अप्रेसन'

अपडेट : पाँच जनाले साढे तीन घन्टा गन्दा ७ करोड ६७ लाख!



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell