PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

ने क पाको एकताको बाँकी काम टुंग्याउन प्रधानमन्त्री ओलीकै आलटाल, बजेटपछि लाग्ला त पार?



विधुर ढकाल

ने क पाको एकताको बाँकी काम टुंग्याउन प्रधानमन्त्री ओलीकै आलटाल, बजेटपछि लाग्ला त पार?
फाइल फोटो

काठमाडौं: सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को एकताको बाँकी काम अझै अलमलमा परेको छ। तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच २०७५ जेठ ३ मा एकता भएको थियो।

एकता हुँदा तीन महिनाभित्र एकताका सबै काम टुंग्याउने घोषणा भएको थियो। तर, एकताका अझै कामहरु पूरा हुन सकेका छैनन्।

पटक पटक भाका सार्दै एकताको एक वर्ष पूरा भएको छ। एकताको वर्ष दिन पूरा हुँदै गर्दा एकताका बाँकी काम सक्ने ने क पाका नेताहरुले गरेका थिए। तर सबै काम पूरा हुन सकेनन्। ने क पाको जेठ २ गते बसेको सचिवालयको बैठकले जनवर्गीय सङ्गठनको नेतृत्वमा सहमति जुटाए पनि विभागहरुको गठन हुन सकेको छैन

ने क पाको अन्तरिम विधानले ३२ वटा विभागहरुको व्यवस्था गरेको छ। त्यसका अतिरिक्त जेष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार परिषद, सम्पर्क मञ्चहरुको व्यवस्था पनि विधानमा रहेको छ।

तर, विधान अनुसारका यी कमिटीहरु एकता भइसकेको एक वर्ष हुँदा समेत ने क पाले पाउन सकेको छैन। त्यस्तै ने क पाको विधानअनुसार गठन हुनुपर्ने पोलिटब्यूरोसमेत अझै गठन हुन सकेको छैन। केन्द्रीय सदस्यहरुले जिम्मेवारी पाउन सकेका छैनन्।

जेठ २ गत बसेको सचिवालय बैठकले ५ गते बस्ने सचिवालय बैठकबाट पोलिटब्यूरोको गठन र केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँड गर्ने निर्णय गरेको थियो। तर, ५ गतेको बैठकले पोलिटब्यूरो गठन गर्न सकेन।

किन ढिलाइ हुँदै छ जिम्मेवारी बाँडफाँड र पोलिटब्युरो गठनमा?

ने क पाभित्र यतिबेला गुट मौलाउँदै गएको छ। यही गुट र सक्ति सञ्चय गर्ने होडका कारण एकताका कामहरु अगाडि बढ्न सकेका छैनन्।

स्रोतका अनुसार पार्टी एकता गर्दा यसअघि तय गरिएको मापदण्ड मिचिँदै गएको छ। दुई अध्यक्षहरुले मापदण्डलाई आफू अनुकुल व्याख्या गर्ने प्रविधि बढ्दै गएको छ। 'अध्यक्षहरु विशेषगरी ओली कामरेडले मापदण्डलाई आफूअनुकुल व्याख्या गर्ने गर्नुभएको छ। यसले सचिवालयभित्र पनि विवाद छ,' स्रोतले भन्यो, 'यही कारणले पोलिटब्यूरोको गठन हुन सकिरहेको छैन।'

पोलिटब्यूरो गठन भए तत्कालिन एमालेमा ओली समुह कमजोर हुने देखेपछि पोलिटब्यूरो गठनमा अध्यक्ष ओलीले रुचि देखाएका छैनन्। ने क पा भित्र पोलिटब्यूरोमा पूर्व एमालेबाट ८१ र पूर्व माओवादी केन्द्रबाट ६६ जना गरी १४७ जना पोलिटब्यूरो रहने गरी भागबन्डामा सहमति भएको छ।

पोलिटब्यूरोमा रहने सदस्यको नाम पनि अध्यक्षहरुको हातमा पुगेको छ। तर, सहमति जुट्न नसकेको स्रोतले जनाएको छ।

यसरी गर्दा स्थायी कमिटीका सबै ४५ सदस्य पोलिटब्यूरो हुने छन्। त्यस्तै पूर्व एमालेमा रहेका एमालेभित्रका ५९ जना पोलिटब्यूरो सदस्य स्वत ने क पाको पोलिटब्यूरोमा पर्ने छन्। बाँकी २२ जना पूर्व एमालेबाट थप्नुपर्ने देखिन्छ। यही २२ मा कुरो मिलेको छैन।

पोलिटब्यूरोमा पूर्व एमालेभित्रको गुटले आफ्नो भाग खोज्दा अध्यक्ष ओली अल्पमतमा पर्ने भयमा छन्। त्यसैले पोलिटब्यूरो गठनले मूर्त रुप पाउन सकेको छैन।

बाहनामाथि बाहना: बजेटपछि मात्र बाँकी काम

पटक पटक कार्यदल र कार्यदलमाथि कार्यदल बनाउँदा पनि एकता टुंगिन सकेको छैन। जेठ तीन गते एकताको प्रचार गरिएको थियो। जेठ १ गत राष्ट्रियसभा गृहमा युवा संघको स्थापना दिवसमा झलनाथ खनालले अनिश्चिततालाई सार्वजनिक रुपमा पोखेका थिए।

कार्यक्रममा महासिचव पौडेलले केही घण्टामा एकताको बाँकी काम टुंगिने भन्दै जेठ ३ गते सबै घोषणा हुने बताएका थिए।

तर नेता खनालले त्यतिबेला आशंका व्यक्त गरेका थिए। 'जेठ ३ गते नै पार्टी एकता हुन्छ भन्न म सक्दिनँ। यस्ता आशाहरु हिजो धेरै पाइयो निरासा भइयो,' उनले भने, 'तीन गते नै नहोला तर जेठ महिना भित्र टुंग्याउँछौं कि?' जेठ ३ गतेको सचिवालय बैठकले एकता टुंग्याउन सकेन। ५ गतेको सचिवालय बैठकलाई जिम्मेवारी दिइयो। तर ५ गतेको सचिवालय बैठकमा शक्तिको आर्जन, नेताहरुको जिम्मेवारीका विषयमा विवाद भयो। निर्णय हुन सकेन।

अहिले ने क पामा एकताको विषय ओझेलमा पर्दै छ। देश बजेटको मुडमा जाँदा प्रधानमन्त्री व्यस्त छन्। यसैका कारण अबको काम बजेट पनि हुने नेताहरु बताउँदै आएका छन्।

'सरकारको नेतृत्व पार्टीले गरिरहेको छ। सरकारको काममा ध्यान दिँदा पनि एकताको विषय अलि पछाडि धकेलिँदै गएको हो,' महासचिव विष्णु पौडेलले भने, 'बजेट निर्माण योजना तर्जुमाका विषयमा प्रधानमन्त्री जी व्यस्त हुनुहुन्छ। यसबीच हामीबीच छलफल भइरहेको छ। एकताको बाँकी काम बजेट पछि टुंगिन्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell