PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

अपडेट : समातिएको भारु गन्ती जारी, ३ करोड ५० लाख गनिसकियो, अझै थुप्रो बाँकी



सविन ढकाल

अपडेट : समातिएको भारु गन्ती जारी, ३ करोड ५० लाख गनिसकियो, अझै थुप्रो बाँकी

काठमाडौं : युनुस अन्सारीसहितको समूहबाट प्रहरीले आज जफत गरेको नक्कली नोट गन्ती गर्नेक्रम जारी छ। दिउँसो १:३० बजेसम्म प्रहरीले ३ करोड ५० लाख रुपैयाँ गनिसकेको छ। विमानस्थल प्रहरीका अनुसार गन्ती हुन बाँकी रकम अझै आधाभन्दा माथि छ।

'अझै आधाजति रकम गन्न बाँकी छ,' नेपाल प्रहरीका प्रवक्ता डिआइजी विश्वराज पोखरेलले भने, 'अहिलेको हिसाबमा ६ करोडभन्दा माथिको रकम जफत भएको हो।'

पक्राउ पर्नेमा तीन नेपाली र तीन पाकिस्तानी रहेका छन्। युनुस भने विमानस्थलमा रकम रिसिभ गर्न पुगेका थिए।

अपडेट : अपडेट : समातिएको भारु गन्ती जारी, ३ करोड ५० लाख गनिसकियो, अझै थुप्रो बाँकी

***

दुई सुटकेस नक्कली भारुसहित फेरि समातिए युनुस अन्सारी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले ठूलो परिमाणमा भारतीय जाली नोटसहित एक जनालाई नियन्त्रणमा लिएको छ। प्रहरी नक्कली नोटसहित युनुस अन्सारीलाई शुक्रवार बिहान नियन्त्रणमा लिएको हो।

पक्राउ परेका युनुस अपराधिक पृष्ठभूमिसँग पटक पटक जोडिएका छन्। उनीमाथि केन्द्रीय कारागारमै गोली प्रहारसमेत भएको थियो। नक्कली नोटकै प्रकरणमा उनी पटकपटक समातिएका छन्। कुनै समय टेलिभिजन संचालनमा समेत सक्रिय रहेका अन्सारी नक्कली नोटसहित सन् २०१४ मा पनि पक्राउ परेका थिए।

उनीबाट बरामद भएको नक्कली नोटको गन्ती भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ। उनले दुई सुटकेस भारु कतारबाट नेपाल भित्र्याउने क्रममा प्रहरीले पक्राउ गरेको त्रिभुवन विमानस्थलका सुरक्षा प्रमुख संदीप भण्डारीले जानकारी दिए। उनीसँगै अन्य ३ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

अन्सारीलाई पाँच वर्षअघि विशेष व्यूरोको टोलीले ३५ लाख नक्कली भारतीय रुपैयाँ सहित पक्राउ गरेको थियो। त्यस्तै २०६५ पुसमा जाली नोट सहित पक्राउ परेका उनी जेल सजाय भुक्तान गरी निस्किएका थिए।

नक्कली नोटको कारोबारमा जेलभित्र नै रहेको बेला उनलाई २०६७ साल फागुनमा सुन्धारास्थित केन्द्रीय कारागार भित्रै गोली प्रहार भएको थियो।

को हुन् युनुस?

राजनीति र अपराधको दुनियामा युनुस नयाँ नाम होइन। नक्कली नोट काण्डमा पटक पटक परेका युनुस नेशनल टेलिभिजनका संस्थापकसमेत रहे। टेलिभिजन र सिनेमामा समेत लगानी गरेका युनुस पूर्वमन्त्री सलिम मिया अन्सारीका छोरा हुन्। सलिम मिया अन्सारीको ५ वर्ष अघि मृत्यु भइसकेको छ। सलिम मिया तत्कालीन नेकपा एमाले हुँदै शाही शासनकालमा राजवादी बनेका थिए। त्यसपछि राप्रपा हुँदै फेरि माओवादी प्रवेश गरेका थिए। 

युनुसको राजनीति पनि बाबुको राजनीतिक पदचापअनुसार नै अघि बढेको थियो। तर, पछिल्लो चरण यिनी नक्कली नोट प्रकरणमा पर्न थालेपछि राजनीतिक भूमिकाबाट टाढै रहे। त्यसमाथि जेलभित्रै रहँदा यिनीमाथि गोली प्रहारसमेत भयो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell