PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

'नो अब्जेक्सन लेटर'ले भारतमा अलपत्र पर्दै नेपाली



विधुर ढकाल

'नो अब्जेक्सन लेटर'ले भारतमा अलपत्र पर्दै नेपाली

काठमाडौं: सोमबार काठमाडौंबाट कुवेतका लागि नेपाल एयरलाइन्सको विमान चढेका रुपन्देही कञ्चन गाउँपालिका ५ का निर्मल आचार्य अहिले नयाँ दिल्लीमा अड्किएका छन्।

नेपाल एयर लाइन्सको विमानबाट दिल्ली पुगेका उनी त्यहाँबाट १५ घण्टाको ट्रान्जिट पछि कुवेत एयरवेजबाट कुवेत जाँदै थिए। विमानस्थलमै १५ घण्टा विताएका उनलाई कुवेत एयरवेजको विमान चढ्न लाग्दा भारतीय अध्यागमनका अधिकारीहरुले रोक लगाए।

उनीसँगै कुवेत हिँडेका ८ जना नेपालीलाई त्यहाँको अध्यागमनले रोकेको थियो।

भारतले आफ्नो मुलुक हुँदै तेस्रो मुलुक जाने नेपालीका लागि अध्यागमनमा कडाइ गरेकाले उनीहरु भारतीय भूमिमा अलपत्र परेका हुन्।

पछिल्लो समय भारत हुँदै तेस्रो मुलुक जाने नेपालीहरुले भारतीय अध्यागमन पार गर्दा दूतावासको नो अब्जेक्सन लेटर (एनओसी) देखाउनुपर्ने अनिवार्य व्यवस्था लागु भएसँगै नेपालीहरु समस्यामा पर्न थालेका हुन्।

'हामीलाई नयाँ नियमको बारेमा जानकारी भएन। यसअघि पनि दिल्ली ट्रान्जिट पारेर जाँदा रोकिएको थिएन,' आचार्यले पहिलोपोस्टसँग टेलिफोन कुराकानीमा भने, 'अहिले रोक्यो। एक त समयको नास भयो। अर्को दु:ख पाइयो।'

उनीसहित अलपत्र परेका ८ नेपालीहरु सरितुल्लाह मिया, मोहन चलाउने, निजम मद, प्रदीप कामत केवट, प्रदीप दास, सफिद मिया अन्सारी र रघुकुमार यादव आज कुवेतको लागि उड्दै छन्। आज साँज ६ बजेर पाँच मिनेटमा इन्दिरा गान्धी एयरपोर्टबाट उनीहरुको विमान चेन्नाइ हुँदै कुवेतका लागि उडान भर्ने छन्। चेन्नाइबाट राति ११:३५ मा उडान भर्ने छ।

'हामीलाई मेनपावरले पनि जानकारी गराएन। नत्र एयरलाइन्सले नै हामी दिल्ली उड्नु अगाडि जानकारी दियो,' आचार्यले भने, 'हामीलाई जानकारी गराएको भए हामी यो यताबाट आउने नै थिएनौँ होला। मेनपावरले सस्तो खोजेर हामीलाई यहाँ ल्यायो। उसलाई त यस विषयमा जानकारी हुनुपर्ने नि।'

नेपालीहरु अवैध रुपमा भारतीय बाटो हुँदै विदेश जान थालेपछि नेपाल सरकारले साउदी अरब, कुवेत, बहराइन, कतार, युएई मलेसिया लेबनानलगायतका देशमा भारतीय बाटोबाट जानका लागि कडाइ गर्ने निर्णय सरकारले २००९ मा गरेको थियो। सोही आधारमा नयाँ दिल्लीस्थित नेपाली दूतावासले भारतीय विदेश मन्त्रालय र त्यहाँका विमानस्थल अधिकारीलाई पत्राचार गरी नो अब्जेक्सन लेटर विना यी मुलुक जान रोक लगाउन पत्राचार गरेको थियो।

तर, गत वर्ष भारतीय विदेश मन्त्रालयले नेपाल र भुटानका नागरिकलाई तेस्रो मुलुक जान त्यहाँस्थित सम्बन्धित देशका दूतावासबाट नो अब्जेक्सन लेटर बिना रोक लगाएको थियो। तर यस विषयमा नेपाल सरकार र दूतावासले सेवाग्राहीलाई जानकारी नदिँदा नेपालीहरु पटक पटक अलपत्र पर्ने गरेका छन्।

भारतको यो व्यवस्थासँगै नेपाल सरकारले रोक लगाएका बाहेकका मुलुक जान पनि नेपालीले नो अब्जेक्सन लेटर पेश गर्नुपर्ने छ।

नयाँ दिल्लीस्थित नेपाली दूतावासले यस विषयमा छलफल भइरहेको बताएको छ। यस विषयमा सरकारी स्तरबाट छलफल भएर समस्या समाधान हुनुपर्ने दूतावासका एक अधिकारीले बताए। 'हामीले यहाँबाट गर्ने समन्वय गरिरहेका छौँ। यस विषयमा सरकारी स्तरबाटै समस्याको समाधान हुनुपर्छ,' ती अधिकारीले बताए।

सरकारले यस विषयमा नेपालमा सार्वजनिक सूचना जारी गर्नुपर्ने ती अधिकारीले बताए। दूतावासले वैशाख ३१ मात्र यस विषयमा सूचना जारी गरेर जानकारी गराएको थियो। तर नेपालमा यस विषयमा सार्वजनिक सूचना जारी भएको छैन।

दूतावासले एनओसी बनाउनका लागि तेस्रो मुलुक जानुपर्ने मनासिव कारणसहित निवेदन दिनुपर्ने छ। साथै यात्रा गर्ने व्यक्तिको राहदानी र सोको प्रतिलिपि, यात्रा गर्ने देशको भिसा र हवाइ टिकटको प्रतिलिपि पनि दूतासावसमा बुझाउनुपर्ने छ।

रोजगार भिसामा विदेश जाने व्यक्तिले वैदेशिक रोजगार विभागबाट जारी भएको श्रम स्विकृतिको प्रतिलिपि पनि दिनुपर्ने सूचनामा उल्लेख छ। त्यस्तै यसअघि भारतबाहेकका तेस्रो मुलुकहरुको भ्रमण गरेको भए यात्रा अभिलेखको प्रतिलिपि बुझाउनुपर्ने छ।

हाल भारतमा अध्ययन तथा व्यवसायी गरिरहेका नेपालीको हकमा भने अध्ययन वा व्यवसायसँग सम्बन्धित परिचयपत्र वा कागजपत्र देखाउनुपर्ने छ।

पछिल्लो समय भारत हुँदै तेस्रो मुलुकमा मानव तस्करीको संख्यामा वृद्धि भएसँगै भारतले नेपालीहरुमाथि अध्यागमन पार गर्न कडाइ गर्दै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell