PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

फिल्म ‘आप्पा’ ले ल्यायो स्टोरी च्यालेन्ज, आफ्नो बुवाको बारे भिडियो वा फोटो स्टोरी बनाउनु पर्ने



फिल्म ‘आप्पा’ ले ल्यायो स्टोरी च्यालेन्ज, आफ्नो बुवाको बारे भिडियो वा फोटो स्टोरी बनाउनु पर्ने

काठमाडौं : फिल्मको प्रर्दशन मिति नजिकिएसँगै फिल्म निर्माताहरु प्रचारप्रसारको अनेकौँ तरिका अपनाउने गर्छन्। हरेक वर्ष नेपालमा सय बढी फिल्महरु प्रर्दशनमा आँउदा बक्स अफिसमा ठुलो प्रतिस्पर्धा हुनेगर्छ। त्यसैले सबै दर्शक प्रभावित बनाउन सक्ने खालका प्रचार सामाग्री ल्याउन उनीहरुको प्रयास रहन्छ।

असार १३ गतेदेखि नेपालभर प्रर्दशनमा आउन लागेको फिल्म 'आप्पा'ले प्रचारप्रसारको नयाँ योजना तयार गरेको छ। अभिनेता दयाहाङ राईले भिडियो मार्फत आप्पा स्टोरी च्यालेन्जको बारेमा जानकारी दिएका हुन।

यस च्यालेन्जमा दुई तरिकाले सहभागी हुन सकिनेछ। फोटो स्टोरी च्यालेन्जमा भाग लिन चाहनेले आफ्नो बुवासँगको फोटो वा बुवाको मात्र फोटोमा राखेर क्यापसनमा उनको बारेमा केही लेख्नुपर्नेछ। उक्त पोस्टलाई आप्पा नेपाली फिल्मको फेसबुक वा इन्स्टाग्रामको अफिसियल पेजमा ट्याग गर्नुपर्नेछ। अन्तिममा उक्त पोस्ट आफ्नो ३ जना साथीलाई ट्याग गरेर च्यालेन्जको लागि आग्रह पनि गर्नुपर्नेछ।

त्यस्तै भिडियो स्टोरी मार्फत सहभागिता जनाउन चाहनेले पनि फोटो च्यालेन्जमा जस्तै आफ्नो बुवासँगको भिडियो अपलोड गरेर उनलाई भन्न मन लागेको कुरा भिडियोमा भन्नुपर्नेछ। फोटोमा जस्तै ३ जना साथी र आप्पा फिल्मको फेसबुक र इन्स्टाग्राममा भिडियो ट्याग गरेर आप्पा स्टोरी च्यालेन्जको बारेमा बताउनुपर्नेछ।

च्यालेन्जमा सहभागी मध्ये प्रेरणादायी कथा भएको भिडियो र फोटोलाई विजेता घोषणा गरिने बताइएको छ । फोटो स्टोरीको विजेताले २५ हजार नगद र आप्पा फिल्म प्रिमियरको २ ओटा टिकट प्राप्त गर्नेछन्। यस्तै भिडियो स्टोरी तर्फको उत्कृष्ट एक जनाले ५० हजार नगद र आप्पा फिल्म प्रिमियरको दुईवटा टिकट प्राप्त गर्नेछन्।

च्यालेन्जमा सहभागी हुन इच्छुकहरुले असार ६ गते भित्र सहभागिता जनाइसक्नु पर्नेछ।

अनमोल गुरुङ निर्दे्शित फिल्म अप्पामा सिद्दार्थराज तामाङले दयाहाङको छोराको भूमिका निर्वाह गरेका छन्। माउन्टेन स्टोरिज र सिनेमा आर्टको व्यानरमा निर्मित सिनेमामा तुलसी घिमिरे, अरुणा कार्की, अल्लोना कबो लेप्चा, सम्राट विश्वास र रिंकीको अभिनय छ।

रुदेन सदा लेप्चाले निर्माण गरेका फिल्ममा अनमोल गुरुङको संगीत, निमेष श्रेष्ठको सम्पादन, शैलेन्द्र डि कार्कीको छायाँकन र योजना प्रधानको कोरियोग्राफी रहेको छ।

फिल्ममा दयाहाङले आप्पाको भूमिका निर्वाह गरेका छन्। फिल्मले बाबुछोराको सम्बन्धको कथा प्रस्तुत गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell