PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

यस्ता छन् १२ औं आइसीसी एकदिवसीय क्रिकेट विश्वकपको १२ तथ्य



गोविन्दराज नेपाल

यस्ता छन् १२ औं आइसीसी एकदिवसीय क्रिकेट विश्वकपको १२ तथ्य
फोटो: Getty Image

काठमाडौँ: फुटबलपछि दोस्रो चर्चित खेलको रुपमा रहेको क्रिकेटको विश्वकप यही मे को अन्तिममा सुरु हुँदैछ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आइसीसी) ले गर्ने १२औँ संस्करणको एक दिवसीय क्रिकेट विश्वकप २०१९ मे ३० देखि २०१९ जुलाई १४ सम्म इङ्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुँदैछ।

प्रतियोगिताका लागि सहभागी टोलीहरु अहिले तयारी अवस्थामा रहेका छन् भने क्रिकेट दर्शक र समर्थकको ध्यान अबको डेढ महिना इङ्ल्यान्ड र वेल्सतिर नै सोझिने छ।

क्रिकेट विश्वकपको यस संस्करणको १२ विशेषताहरु यस्ता छन्:

पाँचौ पटक आयोजना गर्दै इङ्ल्यान्ड

विश्वकप क्रिकेटको सुरुवात नै इङ्ल्यान्डबाट भएको हो। सुरुको तीन संस्करण आयोजना गरेको इङ्ल्यान्डले क्रिकेट विश्वकप गर्न लागेको यो पाँचौ पटक हो। सन् १९७५ देखि  १९८३ सम्मको लगातार तीन संस्करण एक्लै आयोजना गरेको इङ्ल्यान्डले सन् १९९ को सातौँ विश्वकप पनि वेल्ससँग मिलेर गरेको थियो। वेल्ससँग संयुक्त रुपमा आयोजना गर्न लागेको यो दोस्रो पटक हो।

 

१० टिमले प्रतिस्पर्धा गर्ने

यस संस्करणमा विश्वका उत्कृष्ट १० राष्ट्रले प्रतिस्पर्धा गर्दैछन्। एसोसिएट राष्ट्रलाई कम अवसर दिएको भन्दै विश्वभर आलोचना भइरहेपनि आइसीसीले प्रतिस्पर्धा कायम राख्न भन्दै १० राष्ट्रलाई मात्र सहभागी गराएको हो। आइसीसीको १२ फुल मेम्बर भएपनि २ राष्ट्रले यस पटक विश्वकपमा स्थान बनाउन सकेनन्।

आयोजक इङ्ल्यान्डसहित अष्ट्रेलिया, भारत, पाकिस्तान, न्यूजिल्याण्ड, दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश गरी ८ राष्ट्र सिधै छनोट भएका हुन् भने वेष्ट इन्डिज र अफगानिस्तान क्वालिफायरमा उत्कृष्ट हुँदै छनोट भएको हो। आइसीसीको फुल मेम्बर जिम्बावे र आयरल्याण्ड भने यस पटक छनोट हुन सकेन।

सिंगल राउण्ड रोविनमा हुने

सहभागी १० राष्ट्रबीच समूह चरणमा सिंगल राउण्ड रोविनमा प्रतिस्पर्धा हुनेछ। प्रत्येक टिमले एक आपसमा ९-९ खेल खेल्नेछन्। समूह चरणमा कूल ४५ खेल हुनेछ। त्यसपछि अंकतालिकामा शीर्ष चार स्थानमा रहने टिम सेमिफाइनल प्रवेश गर्नेछन्। जहाँ पहिलो र चौथो तथा दोस्रो र तेस्रो हुनेबीच सेमिफाइनल हुनेछ र वजेता टिमले उपाधिका लागि फाइनल खेल्नेछन्।

 

पुरस्कार रकम

क्रिकेट विश्वकप २०१९ को च्याम्पियन टोलीले ट्रफीसँगै नगद पुरस्कार पनि प्राप्त गर्नेछन्। यस पटक विजेताले ४० लाख अमेरिकी डलर (नेपाली रुपैयाँ ४० करोड भन्दा बढी) प्राप्त गर्नेछन्। यस्तै उपविजेताले २० लाख अमेरिकी डलर प्राप्त गर्नेछन्।

यस्तै सेमिफाइनलमा पराजित हुने टिमले ८ लाख पाउनेछन् भने प्रत्येक खेल जित्नेले ४०-४० हजार पाउनेछन्।

 

म्याच अफिसियल्स

यस पटक १६ अम्पायर र ६ रेफ्रीले वर्ल्ड कप क्रिकेट सञ्चालन गर्नेछन्। जसमा आयोजक इङल्यान्डबाट सर्वाधिक ५ तथा अष्ट्रेलियाबाट ४ अम्पायर सहभागी हुनेछन्।

इङ्ल्यान्डका इयान गोउल्डले यस प्रतियोगितापछि अम्पायर बाट सन्यास लिने बताइसकेका छन्।

 

सबैभन्दा पाका उमेरको खेलाडी

यस विश्वकपमा खेल्ने सबैभन्दा पाका उमेरका खेलाडी दक्षिण अफ्रिकाका इमरान ताहिर हुनेछन्। उनी ४० वर्षको उमेर विश्वकप खेल्दैछन्।

 

सबैभन्दा कम उमेरका खेलाडी

यस्तै सबैभन्दा कम उमेरका खेलाडी अफगानिस्तानका मुजीव उर रहेमान हुन्। उनी १८ वर्षका भए।

 

एक दिवसीयमा डेब्यु गर्न बाँकी

अहिलेसम्म सहभागी टोलीले घोषणा गरेको टोलीमा परेका खेलाडीमध्ये एक खेलाडीले एकदिवसीयमा डेब्यु गरेन बाँकी रहेको छ। उनी हुन् न्यूजिल्याण्डका टम ब्लन्डेल।

यस्तै वेष्ट इन्डिजका निकोलस पुरनले १ मात्र एकदिवसीय खेलेका छन् भने बंगलादेशका अबु जायदले २ एकदिवसीय खेलेका छन्।

 

एकदिवसीयमा धेरै खेल खेल्ने खेलाडी

यस विश्वकपको लागि टिममा परेका मध्ये धेरै एकदिवसीय खेल्ने खेलाडी भारतका महेन्द्र सिंह धोनी हुन्। विकेटकिपर ब्याट्सम्यान धोनीले अहिलेसम्म ३४१ खेल खेलका छन्। यस्तै वेष्ट इन्डिजका क्रिस गेलले २८९ खेल खेलेका छन्। दुवै खेलाडीको लागि सम्भवत यो अन्तिम क्रिकेट विश्वकप हुनेछ।

 

७ खेलाडीले विश्वकपमा कप्तानीमा डेब्यु गर्दै

१२औँ संस्करणको वर्ल्डमा १० राष्ट्रले प्रतिस्पर्धा गर्दा ७ कप्तानले विश्वकपमा कप्तानीको डेब्यु गर्नेछन्। जसमा भारतीय कप्तान विराट कोहलीसहित अष्ट्रेलियाका आरोन फिन्स सम्म छन्।

आयोजक इङ्ल्यान्डका इयान मोर्गन, वेष्ट इन्डिजका ज्यासन होल्डर र बंगलादेशका मोसरफ मोर्तासँग मात्र यसअघि विश्वकपमा कप्तानी गरेको अनुभव छ।

कोहली र फिन्ससँगै अफगानिस्तानका गुल्वादिन नइब, पाकिस्तानका सर्फराज अहेमद, दक्षिण अफ्रिकाका फाप डु प्लेसिस, न्यूजिल्याण्डका केन विलियम्सन, श्रीलंकाका दिमुथ करुणारत्नेले पहिलो पटक विश्वकपमा कप्तानी गर्दैछन्।

 

२४ जना कमेन्टेटर

चार वर्षअघि घरेलु मैदानमा भएको विश्वकप आफ्नै कप्तानीमा अष्ट्रेलियालाई जिताएका माइकल क्लार्कसहित कूल २४ कमेन्टेटरले यस पटक विश्वकपको कमेन्ट्री गर्दैछन्।

जसमा नाम चलेका कमेन्टेटरदेखि पूर्व खेलाडीहरु समेत छन्।

माइकल क्लार्क, नासेर हुसेन, इयान बिसोप, सौरभ गांगुली, मेलानी जोन्स, कुमार सांगाकारा, माइकल अथेरटन, अलीसन मिचेल, ब्रेण्डन म्याकुलम, ग्रेम स्मिथ, शन पोल्लाक, वासिम अक्रम, माइकल स्लेटर, मार्क निकोलस, माइकलह होल्डिङ, इशा गुह, पोमी एमबाङ्ग्वा, सन्जय मान्ज्रेकर, हर्शा भोग्ले, सिमोन डल, इयान स्मिथ, रमिद राजा, आथर अली खान, इयान वार्ड छन्।

 

११ क्रिकेट मैदान

१२औँ संस्करणको विश्वकप कूल ११ मैदानमा खेलाइनेछ। जसमध्ये लण्डनको लर्ड्स र ओभल गरी दुई मैदानमा खेल हुनेछ भने बाँकी ९ शहरको १-१ मैदानमा खेल हुनेछ। ब्रिमिङहम, ब्रिस्टोल, कार्डिफ, चेस्टर ले स्ट्रिट, लिड्स, म्याचेष्टर, नटिङहम, साउथह्याम्पटन  र टाउन्टनको शहरको मैदानमा खेल हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell