PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

ह्विलचियर एसिया कप क्रिकेट : नेपालको दोस्रो हार, भारतको लगातार दोस्रो जित



पहिलोपोस्ट

ह्विलचियर एसिया कप क्रिकेट : नेपालको दोस्रो हार, भारतको लगातार दोस्रो जित

काठमाडौँ : घरेलु टोली नेपालले प्रथम ह्विलचियर एसिया कप टी २० क्रिकेटमा लगातार दोस्रो हार बेहोरेको छ। यस हारपछि शीर्ष दुईमा पुग्दै फाइनल पुग्ने नेपालको अभियानमा धक्का लागेको छ।

चार राष्ट्र सम्मिलित प्रतियोगितामा बिहीवार भएको पहिलो खेलमा नेपाल बंगलादेशसँग ८ विकेटले पारजित भएको हो। पहिलो खेलमा नेपाल भारतसँग पराजित भएको थियो।

उता भारतले भने लगातार दोस्रो जित हात पार्ने क्रममा बिहीवारै पाकिस्तानलाई १७ रनले हरायो।

कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९.१ ओभरमा सबै विकेट गुमाएर १४८ रन बनाएको थियो।

नेपालको लागि होमनाथ राईले ३६ र कप्तान दिग चेम्जोङले ३५ रन जोडे। नेपाललाई अलआउट गर्न बंगालदेशका मुहम्मद मोइदुल इस्लाले ३ विकेट लिए।

१४९ रनकमो लक्ष्य बंगलादेशले १८.३ ओभरमा २ विकेट मात्र गुमाएर पूरा गर्‍यो। बंगलादेशका लागि मुहम्मद रिपो उद्दिधनले सर्वाधिक ५० रन बनाए भने जावेद अहेमदले ३८ तथा सजाद होसेनले ३१ रन जोडे।

पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको बंगलादेशले यस जितपछि शीर्ष दुईमा रहने सम्भावना कायमै राखेको छ।

यस्तै पहिलो खेलमा जित हात पारेको भारत र पाकिस्तानबीचको खेलमा प्रशुराम देसाले शतक बनाएपछि भारतले जित हात पारेको छ।

देसालेको १०९ रन मद्दतमा भारतले पाकिस्तानलाई पराजित गर्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ।

टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १९३ रन बनाएको थियो। भारतका लागि देसालेले १०९ रन बनाए भने सौरभ मलिकले ६१ रन जोडे।

१९४ रनको लक्ष्य पछ्याएको पाकिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १७६ रन मात्र बनाउन सक्यो। पाकिस्तानका लागि साजिद अली अब्बासीले नटआउट ८८ रन बनाएपनि खेल जिताउन सकेनन्।

प्रतियोगिताअन्तर्गत अन्तिम लिग खेलमा शुक्रवार नेपाल र पाकिस्तान तथा भारत र बंगलादेशबीच खेल हुनेछ। यी दुई खेलपछि अंकतालिकामा अगाडि रहने दुई टोली फाइनल पुग्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell