PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

७२ सिटे जहाज उडाउन तीन अर्बको लगानीमा रन वे विस्तार हुँदै



पी बी खड्का

७२ सिटे जहाज उडाउन तीन अर्बको लगानीमा रन वे विस्तार हुँदै

सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतको विमानस्थलमा विगत एक वर्षदेखि ४७ सिटे जहाज भन्दा साना जहाजमात्रै उडान र अवतरण गर्दै आएका छन्।

त्यसभन्दा ठूला जहाज अवतरण गराउन नसकिने भएपछि धावनमार्ग थप विस्तार गर्नुपर्ने आवश्यक देखिएको हो। ७२ सिटे जहाज अवतरण गराउन न्युनतम थप ३ सय मिटर धावनमार्ग विस्तार गर्न लागिएको हो। अहिले विमानस्थलको एक हजार २ सय ५० मिटर लम्बाइ भएको धावनमार्ग अपुग हुने भएकाले कम्तीमा ३ सय मिटर थप गर्नुपर्ने देखिन्छ।

२०२२ सालमा स्थापना गरिएको सुर्खेत विमानस्थलबाट कर्णाली प्रदेशका दुर्गम हिमाली तथा सुदूरपश्चिम प्रदेशका केही जिल्लामा यात्रु तथा खाद्यान्न ओसारपसारका लागि दैनिक दुई दर्जन बढी उडानहरु हुँदै आएको छ। २०६३ सालमा कालोपत्रे गरिएको धावनमार्ग दीर्घकालीनरुपमा ठूला जहाज अवतरणमा समस्या देखिएपछि थप विस्तार गर्न लागिएको छ।

हाल सुर्खेत–काठमाडौं उड्ने बुद्ध एयरको ४७ सिटे जहाज अबको तीन वर्षपछि रोकिने भन्दै त्यसभन्दा ठूलो जहाज अवतरण गर्न धावनमार्ग विस्तार गर्ने छलफल भएको सुर्खेत उद्योग वाणिज्य संघका महासचिव लक्ष्मण कँडेलले जानकारी दिए। ४७ सिटे जहाज आउन रोकिएपछि सुर्खेत–काठमाडौं हवाई सेवा बिच्छेद हुने निश्चित भएपछि धावनमार्ग विस्तार गर्नुपर्ने बाध्यता रहेको उनले बताए।

विमानस्थलको उत्तरतर्फ ३०० मिटर धावनमार्ग थप गर्नुपर्ने निचोड निकालिएको छ। सुरुमा एक हजार मिटर भएको विमानस्थलको धावनमार्गलाई पुनः २ सय ५० मिटर थप गरेर एक हजार २ सय ५० मिटर बनाइएपछि बुद्ध एयरले विगत एक वर्षदेखि दैनिक ४७ सिटे एउटा जहाजबाट सुर्खेत काठमाडौं उडान सुरु गरेको छ।

यता, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक संजीव गौतमले पनि अहिलेदेखि नै विमानस्थल विस्तारको थप स्तरोन्नति गर्न सुझाएका छन्। उनका अनुसार एक हजार ५ सय ५० मिटर धावन मार्ग भए ७२ सिटे कुनै पनि कम्पनीका जहाजहरु सहजै उड्न र अवतरण गर्न सक्नेछन्।

उक्त छलफलमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक संजीव गौतम, बुद्ध एयरका तर्फबाट सुवर्ण खरेल, विपिन भट्टराई तथा सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष धनबहादुर रावत, महासचिव लक्ष्मण कँडेलगायतको टोलीबीच छलफल भएको थियो।

धावनमार्ग विस्तारमा चुनौती

विमानस्थलको धावनमार्ग विस्तार गर्ने छलफल भए पनि निकै चुनौती देखिन्छ। छलफलमा विमानस्थल उत्तरतर्फ थप ३ सय मिटर विस्तार गर्ने भनिए पनि सहज भने देखिँदैन। उत्तरतर्फ स्थानीयका घरजग्गा तथा एउटा माध्यमिक विद्यालय समेत जोडिएको छ। दक्षिणतर्फ पनि त्यति सजिलो छैन। दक्षिणतर्फ रत्न राजमार्गसँगै छ भने, त्यसको केही दुरीमा काँक्रेविहारको डाँडा भएकाले दक्षिणतर्फ विस्तार गर्न सम्भव देखिको छैन।

सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले दक्षिणतर्फ सम्भव नभएको भन्दै उत्तरतर्फ नै धावनमार्ग विस्तार गर्न सकिने बताए। उत्तरतर्फ मुआव्जा दिएर भए पनि ३ सय मिटर थप गर्न सकिए सुर्खेतदेखि काठमाडौंलगायत अन्य शहरसँग दीर्घकालीन रुपमा सीधा हवाई सम्पर्क कायम राख्न सकिने बताए।

‘धावनमार्गको दक्षिणतर्फ विस्तार गर्न कुनै सम्भव छैन। जति सकिन्छ बरु उत्तरतर्फ नै हो विस्तार गर्ने,’ उनले भने, ‘तीन सय मिटर धावनमार्गका लागि करीब पाँच बिगाह जग्गा अधिग्रहण गर्नुपर्ने हुन्छ। सोको मुआब्जा र अन्य संरचनाहरु निर्माण गर्दा झण्डै तीन अर्बको लगानीमा पूरा हुने अनुमान छ।’ विमास्थलको धावनमार्ग थप बिस्तार गर्नका लागि उद्योग बाणिज्य संघले स्थानीय सरकार लगायत सरोकारवाला निकायसँग थप छलफल गरिने उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell