PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

चार दिनदेखि दुई ठाउँमा आमरण अनशन : दुवै अनशनकारीको विग्रियो स्वास्थ्य, पुर्‍याइए अस्पताल



पहिलोपोस्ट

चार दिनदेखि दुई ठाउँमा आमरण अनशन : दुवै अनशनकारीको विग्रियो स्वास्थ्य, पुर्‍याइए अस्पताल

भक्तपुर : चार दिनदेखि आमरण अनशनमा रहेकी दिकी शेर्पाले माग पूरा नभएसम्म आफू यथावत रहने बताएकी छिन्। 'आफू मरे पनि म छोड्दिन,' मानव अंग प्रत्यारोपण केन्द्रको इमर्जेन्सीमा रहेकी उनले भनिन्, 'म मरे पनि अरुका लागि न्याय मिलोस्।'

गत शुक्रवारबाट अनशनमा बसेकी उनी हिजोदेखि अवस्था बिग्रिएकाले अस्पतालकै इमर्जेन्सीमा छिन्। भक्तपुरको यो अस्पताल स्थापनाकालदेखि नै कार्यरत उनी अनशनमा बसे पनि प्रशासनले वास्ता गरेको छैन।

चिकित्सकहरुका अनुसार उनको प्रेसर लेबलमा उतार चढाव भइरहेको भए पनि अवस्था जोखिमपूर्ण बनिसकेको छैन। यद्यपि, अनशन जारी रहिरहने हो भने उनको अवस्था नाजुक हुने जनाएका छन्। अनशनको चौथो दिनसम्म पनि अस्पतालले चासो नदिएकोमा भने उनले गुनासो गरिन्। 'यसअघि धेरैपटक वार्ता र छलफल गर्दा पनि केही भएन,' उनले भनिन्, 'त्यसैले आमरण अनशनको विकल्प पाइएन।'

सामान्य माग, जटिल व्यवहार

तलब समयमै पाउनुपर्ने, ठेकेदारी प्रथा हटाएर अस्पतालले नै तलब दिनुपर्ने, अन्य सरकारी अस्पतालकै सरह सुविधा दिनुपर्ने, कार्य सम्पादन मूल्यांकनका आधारमा ग्रेडिङ गरिनुपर्ने र पुराना कर्मचारीलाई स्थायी गर्नुपर्ने सामान्य मागहरु छन् नर्सको।

पटक पटक आन्दोलन गर्दा पनि समस्या समाधान नभएपछि उनीहरुले मानव अंग प्रत्यारोपण केन्द्रमा धर्ना दिँदै आएका थिए। सँगै नर्सिङ संघमा समेत उनीहरुले धर्ना दिएका थिए। अस्पताल र संघ दुवैले उनीहरुको मुद्दालाई नजरअन्दाज गरेपछि दुई स्थानबाट आमरण अनशन थालेका हुन्।

जीता पनि अस्पताल भर्ना

मानव अंग प्रत्यारोपण केन्द्रमा दिकी शेर्पा अनशनमा बसेकी छिन् भने नर्सिङ संघकै आजीवन सदस्य समेत रहेकी जीता बरालले संघकै कार्यालयमा आमरण अनशन थालेकी थिइन्। दुवैले एकैदिनबाट अनशन थालेका हुन्। पोखरामा रहेको फिस्टेल नर्सिङ कलेजको क्याम्पस प्रमुख पद नै त्यागरे नर्सका पक्षमा अनशनमा उनी उत्रिएकी हुन्।

आमरण अनशनकै क्रममा उनको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई पनि वीपी स्मृति अस्पताल वसुन्धरा पुर्‍याइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell