PahiloPost

Jul 23, 2019 | ७ साउन २०७६


तेस्रोपटक मदन पुरस्कार पाएपछि सत्यमोहन जोशीले दिएको मन्तव्य


पहिलोपोस्ट

तेस्रोपटक मदन पुरस्कार पाएपछि सत्यमोहन जोशीले दिएको मन्तव्य

नेपाली भाषासाहित्यको विकास एवं उन्नति गर्ने उद्देश्यले स्थापना भएको मदन पुरस्कार गुठीको यो ऐतिहासिक बैठकमा आजसमेत तीनपल्ट यसरी उभिएर ‘मदन पुरस्कार’ थाप्न पाउनु मेरो निमित्त जीवनमा एक महत्वपूर्ण कुरो भएको छ। मैले सर्वप्रथम साहित्यतर्फ ‘हाम्रो लोक संस्कृति’नामक ग्रन्थमा २०१३ सालको मदन पुरस्कार पाएको थिएँ। दोस्रोपल्ट सामाजिक शास्त्रतर्फ ‘नेपाली राष्ट्रिय मुद्रा’ नामक ग्रन्थमा २०१७ सालको र आज तेस्रो दर्शन विज्ञानतर्फ ‘कर्णाली लोक संस्कृति’नामक ग्रन्थमा २०२८ सालको पुरस्कार पाएँ।

मैले पहिले दुईचोटि पाएका पुरस्कार र आज पाएको यो पुरस्कारमा भने केही अन्तर छ। पहिलेका दुई पुरस्कार पाउँदा आफ्ना पुरस्कृत ग्रन्थहरुमा म एक्लो थिएँ। तर आजको यो पुरस्कृत ग्रन्थमा भने म आफ्ना चारजना सहकर्मी मित्रहरु सर्वश्री स्थिरजङ्गबहादुर सिंह, बिहारीकृष्ण श्रेष्ठ, प्रा. चूडामणि बन्धु र प्रदीप रिमालका साथमा सम्मिलित भएको छु। अनि आजको यो पुरस्कार संयुक्त प्रयासमा संयुक्त रुपले काम गरी एकै बिषय अन्तर्गतको संयुक्त कृत्ति ‘कर्णाली लोक संस्कृति’ नामक ग्रन्थमा पाएको छु।

आजको यस समारोहमा एउटा कुरो बिशेष उल्लेख गर्न चाहन्छु। २०२६ साल मार्गमा साहित्यानुरागी कविराजा स्वर्गीय श्री ५ महेन्द्रको असीम अनुकम्पाबाट नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानमा काम गर्ने सौभाग्य मैले पाएँ। प्रतिष्ठानको पञ्चबर्षीय योजनाअन्तर्गत ‘लोक संस्कृति सङ्ग्रह’को एक परियोजना पनि थियो। पछि त्यही परियोजनाभित्र ‘लोक संस्कृति सर्वेक्षण’को एक कार्यक्रम बन्यो। अनि नेपाली भाषा उदगमस्थल मानिएको कर्णाली अञ्चलको सिँजाखोला उपत्यकामा ‘लोक संस्कृति सर्वेक्षण’ गर्ने निधो भयो।

यस काममा अन्य संस्थाहरुबाट पनि सम्बन्धित विषयका ज्ञाता एवं विशेषज्ञहरुलाई सरिक गरी, मिलिजुली काम गर्ने नीति बन्यो। यसअनुसार श्री ५ को सरकार, गृह पञ्चायत मन्त्रालय, अनुसन्धान शाखाबाट एकजना नेतृत्वशास्त्री; राष्ट्रिय योजना आयोगबाट एकजना मानव भूगोल विशेषज्ञ, अनि त्रिभुवन विश्वविद्यालयबाट एकजना भाषाशास्त्रीकोसमेत सेवा उपलब्ध गरी त्यसमा प्रज्ञा प्रतिष्ठानका दुईजना लोक संस्कृतिसम्बन्धि कार्यकर्ता थपी पाँचजनाको एक लोक संस्कृति सर्वेक्षण टोली बन्यो। राजकीय प्रज्ञा प्रतिष्ठानको तत्वावधानमा त्यसको नेतृत्व गर्ने सौभाग्य मैले नै पाएँ।

दुर्गम क्षेत्र कहलिएको कर्णाली अञ्चलको सिँजाखोला उपत्यकामा हामीले आफ्नो कार्यदल-भावनामा योजनाबद्ध पद्धतिले काम थाल्यौं। सर्वेक्षणकालमा अनेक बाधा कठिनाइहरु पनि आइपरे। तर हामीहरुको सामूहिक कार्य लगनशीलताको अगाडि ती सबै नगण्य भए। हामीले आफ्ना काम लक्ष्यमुताबिक तोकिएको समयभित्र सिदध्यायौँ। बरु सिँजाखोलाको काम समाप्त गरी काठमाडौंमा फर्केपछिचाहिँ हामीहरुलाई त्यहाँको अन्वेषण र अनुसन्धानको कार्य समाप्त गर्नमा झण्डै एक वर्ष लाग्यो।

आखिर हामीले ‘कर्णाली लोक संस्कृति’ नामले पहिलो खण्डमा संस्कृतिको ऐतिहासिक पृष्ठभूमि, दोस्रो खण्डमा संस्कृतिमा परेका भौगोलिक प्रभाव, तेस्रो खण्डमा सामाजिक आर्थिक जनजीवनमा टाँसिएका सांस्कृतिक मान्यताहरु, चौथो खण्डमा सांस्कृतिक जनजीवनमा भाषाको भूमिका र पाचौं खण्डमा लोकगीत, लोकसण्गीत, लोकनृत्य र लोककथा, लोक चाड पर्व आदि विषयमा सचित्र पाण्डुलिपिहरु तयार गरी कर्णाली लोक संस्कृतिलाई पाँच खण्डमा सम्पूर्ण पार्‍यौं। पछि ती पुस्तकहरु प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित भए। अनि ती पुस्तकहरुको नाम सम्पूर्णमा ‘कर्णाली लोक संस्कृति’ भएपनि वास्तवमा त्यो नेपाली संस्कृतिकै रुपरेखा तथा एक परिचयात्मक ज्वलन्त उदाहरण भएको छ। किनभने मेचीदेखि महाकालीभित्रका हाम्रा लोक संस्कृतिका निधिहरु नेपाली मात्रका साझा श्रीसम्पत्ति हुन्।

आजको यो रमाइलो समारोहमा दुर्गम क्षेत्र कहलिएको कर्णाली अञ्चलको सिंजाखोला उपत्यकामा बसोबास गर्ने र गरिरहेका जनताको झलझली सम्झना गर्नुपनि युक्तिसङ्गत हुनेछ, किनभने तिनीहरुले नै त्यहाँ वरिपरिका डाँडाकाँडा, लेक-पाटन, वन जङ्गल, खोलानाला, बगर फाँटका सेरोफेरोमा परम्परागत रुपमा लोक संस्कृतिको सिर्जना र जगेर्ना गरेका छन्।

'कर्णाली लोक संस्कृति' ग्रन्थकालागि २०२८ सालको मदन पुरस्कार प्राप्त गरेपछि पुरस्कार अर्पण समारोहमा २०२९ साल कार्तिक १९ गते विजेता पाँचजनाको तर्फबाट संस्कृतिविद सत्यमोहन जोशीले दिनुभएको मन्तव्यको सम्पादित अंश। यो मन्तव्य हामीले मदन पुरस्कार गुठीको वेबसाइटबाट साभार गरेका हौं- सं.



तेस्रोपटक मदन पुरस्कार पाएपछि सत्यमोहन जोशीले दिएको मन्तव्य को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट