PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

श्वेता खड्कालाई भएको ट्युमर कस्तो? के कारणले हुन्छ? कसरी पत्ता लाग्छ?



सागर बुढाथोकी

श्वेता खड्कालाई भएको ट्युमर कस्तो? के कारणले हुन्छ? कसरी पत्ता लाग्छ?

'मैले अझै अर्को डरलाग्दो स्थिति जितेँ।'

नायिका श्वेता खड्काले अस्पतालको शैयाबाट लेखेको स्टाटसको सार हो यो। 

आज (सोमबार) बिहान उनले 'मेरो दोस्रो जीवन' शीर्षकमा एउटा लामो स्टाटस लेखिन्। उनले सेयर गरेको फोटो उनका शुभचिन्तकले अपेक्षा गरेकोभन्दा बेग्लै थियो। अस्पतालको शैयामा लम्पसार परेकी उनको मुखमा 'अक्सिजन मास्क' लगाइएको थियो। गर्धन चिरिएको ठाउँमा पाइप जोडिएको थियो। एउटा बट्टामा सानो मासुको चोक्टो राखिएको थियो।

बिहेको एक महिनामै जीवन साथी श्रीकृष्ण श्रेष्ठलाई गुमाएर लामो समय शोकमा रहेकी उनको यो अवस्था सबैको लागि अनपेक्षित थियो।

केही दिनअघिसम्म मिडियामा छाइरहेकी श्वेताले अहिले नै अस्पतालको शैयामा लम्पसार पर्नुपर्छ भनेर कल्पनै गरेकी थिइनन्। किनकि, उनी केही दिनअघिसम्म सिन्धुपाल्चोकको माझी बस्ती बनाउने काममा सक्रिय थिइन्। स्वस्थ र फुर्तिली देखिन्थिन्। कुनै रोग भएको छनक देखिँदैन थियो।

आत्मविश्वासको कमि देखिँदैन थियो उनमा। अहिले आफ्नो त्यही अवस्था झल्काउन लेखेकी छिन्, 'जीवनले मसँग अर्को खेल खेलेको छ। जीवन धेरै अनिश्चित छ। यो सत्य हो। तपाइँलाई कहिल्यै थाहा हुँदैन के हुन सक्छ र तपाईंको योजनाहरू र आशाहरू केवल सेकेण्डमा एक अंशभित्र विनाश हुन सक्छ।'

श्वेताले एकाएक यस्तो स्टाटस लेख्दै अपरेशन गरेको फोटो सार्वजानिक गरेपछि उनका शुभचिन्तकहरु पनि उनी जस्तै आश्चर्यमा परेका छन्। 
खबर सुन्दा स्तब्ध हुँदै लेखेका छन्, 'गेट वेल सुन। भएको के हो त ?'

श्वेताले गर्दनमा ट्युमर देखिएपछि भारतको अस्पतालमा शल्यक्रिया गरेको लेखेकी छिन। उनले डा. पंकजको सल्लाह अनुसार नै भारतमा गएर अपरेशन गरेको जानकारी दिएकी छिन्।

दिल्लीको 'बिएलके' सुपर स्पेसालिटी अस्पतालका डाक्टर सुवेन्द्र कुमार दब्बाले रोबट सर्जरी गरेको समेत बताएकी छिन्। उनले नाम उल्लेख गरेको डा. पंकज बर्मन मेडिसिटी अस्पताल भैँसेपाटीमा कार्यरत छन। उनी क्यान्सर रोग विशेषज्ञ हुन्।

सामान्यतया 'ट्युमर' शरीरका विभिन्न भागमा अनावश्यक मासु पलाउनुलाई भनिन्छ। चिकित्सकहरुका अनुसार ट्युमर सय भन्दा बढी प्रकारका हुन्छन्। 

मष्तिष्कदेखि पाठेघरसम्म, आन्द्रादेखि मिर्गौलासम्म ट्युमर जहाँ पनि पलाउन सक्छ। त्यसैले यो खतरनाक रोग हो। 

ट्युमरलाई चार ग्रेडमा विभाजन गरिन्छ। दोस्रो ग्रेडभन्दा माथिको ट्युमर भएपछि क्यान्सर हुने 'रिस्क' बढी हुन्छ।

श्वेताले ट्युमर भएको जानकारी दिएपनि उनले आफूलाई कुन ट्युमर भएको बताएकी छैनन्। आखिर कुन ट्युमर भएको हो त श्वेतालाई ?

कानभन्दा मुनि गर्धनमा अपरेशन गरेको फोटो सार्वजानिक गर्दै श्वेताले लेखेकी छिन्, 'फिल्मको सुटिङ गर्ने क्रममा गर्दन र चिउँडोमा पीडा भयो। मैले डाक्टरसँग परामर्श गरेपछि ट्यूमर भएको जानकारी दिँदै हटाउनुपर्ने सुझाव दिए।'

उनले सेयर गरेको फोटो र स्टाटसमा लेखिएको लक्षण हेर्दा उनलाई गर्धनमा ट्युमर भएको प्रष्ट हुन्छ जसको बेलैमा उपचार नभए क्यान्सर हुनेसम्म खतरा हुन्छ। 

अमेरिकाको क्यान्सर नेटवर्कले परिवारको अघिल्लो पुस्तामा कसैलाई मस्तिष्कको ट्युमर छ भने त्यस परिवारको पछिल्लो पुस्तामा वंशाणुगत ट्युमर हुन सक्ने लेखेको छ। थाइराइड तथा अन्य गर्धनमा हुने रोगले पनि ट्युमर निम्त्याउन सक्छ।

गर्धनका ट्युमर पनि विभिन्न प्रकारका हुन्छन्। ट्युमरको प्रकार अनुसार 'रिस्क' पनि फरक पर्न जान्छ।
 

अरु के कारणले हुन्छ त ट्युमर ?

ट्युमरका लक्षण धेरै हुन सक्छ।  ट्युमर बढ्दै गएपछि मानिसको स्वभाव परिवर्तन हुने तथा शारीरिक अवस्था कमजोर हुने हुन्छ। रिंगटा लाग्ने, दृष्टि कमजोर हुने, माशंपेशी दुख्ने ट्युमरका साझा लक्षणहरु हुन्।

संवेदनाहीन हुने, बिर्सने बानी हुने तथा गर्धन तथा चिउँडोहरु दुख्ने पनि ट्युमरकै कारणले हुन्छ।अकस्मात् शरीरको तौल घटाउने, अनिद्रा तथा धेरै औषधिहरु सेवन गर्नाले पनि ट्युमर हुने सम्भावना बढी हुन्छ। निराश तथा बढी तनावमा रहने मानिसमा बढी ट्युमर देखिएको अमेरिकाको चर्चित जर्नल मोर्डन मेडिसिन नेटवर्कले लेखेको छ।

ट्युमर बढ्दै गर्दा लक्षण पनि विस्तारै विकसित हुन्छ। सोही कारण बिरामीले ट्युमर भएको ख्याल समेत पाउँदैनन्। माइग्रेन, पेट दुखाइ, टाउको दुखाइ र वाकवाकी जस्ता लक्षणहरू देखिँदै ट्युमरले जटिल रुप लिने वेबमेडले लेखेको छ

मोर्डन मेडिसिन नेटवर्कका अनुसार खानपान, जीवनशैली, मानिसको स्वभाव र वातावरण परिवर्तनले पनि ट्युमर हुन सक्छ। गर्धनको अवस्था पनि ट्युमर हुने कारण बन्न सक्छ। धुमपान र मद्यपान ट्युमरका लागि सधैँ शत्रु जस्तै हो।
 

ट्युमर भएको कसरी पत्ता लाग्छ ?

ट्युमर भए–नभएको परीक्षण पारिवारिक इतिहास, शारीरिक परीक्षण साथै सिटिस्क्यान, एमआरआई, एमआरएस, एसपीईटी स्क्यान, पेट स्क्यान, मेरुदण्डमा सानो प्वाल पारेर गरिने शल्यक्रिया, सर्जिकल बायोप्सी र विभिन्न रगत परीक्षणबाट गरिन्छ। बिरामीमा देखिएको लक्षणले पनि ट्युमर भए नभएको थाहा पाउन मद्दत गर्छ।

ट्युमरकै कारण क्यान्सर हुनसक्ने भएकाले यो अत्यन्तै खतरनाक रोग हो। अप्रेसन गरेर सबै ट्युमर निकालेपछि निम्न श्रेणीको ट्युमरको अपेक्षित नतिजा राम्रो हुन्छ। तर, त्यसले 'साइड इफेक्ट' गर्दैन र फेरि फेरि ट्युमर पलाउँदैन भनेर निश्चित गर्न सकिन्न।

एकपटक उपचार गरेर पनि पुनः ट्युमर देखा परे सर्जरी, रेडियोथेरापी वा केमोथेरापी गर्नुपर्छ। सामान्यतया जति कम उमेर छ त्यति अपेक्षित नतिजा आउँछ। एकपटक ट्युमर देखिएको व्यक्तिको लागि जीवनभर ट्युमर खतराको घण्टी बन्न सक्छ।

त्यसैले श्वेताले 'मेरो दोस्रो' जीवन भन्दै लेखेकी छिन्,— 'यो घटनाले सिकाउँछ कि जीवन दुर्भाग्यपूर्ण छ। हामीलाई कहिल्यै थाहा हुँदैन कि हामीलाई के हुन सक्छ र जीवनले हामीलाई कहाँ पुर्‍याउन सक्छ।'

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell