PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

डिल्लीप्रसाद आचार्यका ‘झझल्काहरु’ विमोचनमा ‘डिल्ली–मीठू आचार्य पुरस्कार’ घोषणा



पहिलोपोस्ट

डिल्लीप्रसाद आचार्यका ‘झझल्काहरु’ विमोचनमा ‘डिल्ली–मीठू आचार्य पुरस्कार’ घोषणा

पूर्वप्रसाशक तथा पत्रकार डिल्लीप्रसाद आचार्यको संस्मरणात्मक कृति ‘झझल्काहरु’ सार्वजनिक भएको छ। आचार्यको चौरासी पूजाको अवसरमा पुस्तक विमोचन भएको हो। शुक्रबार ललितपुरमा पुस्तक लोकार्पण कार्यक्रम आयोजना गरिएको थियो।

पुस्तकलाई रुपन्देहीका पत्रकारहरु निर्मल ज्ञवाली, नारायण सापकोटालगायतले अनावरण गरे। पत्रकार सापकोटाले पुस्तकमा आचार्यको जीवनका तीन पाटाहरु सरकारी सेवा, खोज पत्रकारिता र यात्राका कुराहरु बलियोसँग प्रस्तुत भएको धारणा व्यक्त गरे।

‘नेताहरुले अहिलेको गणतन्त्रका बेलामा समेत लिपुलेकको बारेमा बोल्न सकेका छैनन्’, उनले भने, ‘डिल्ली प्रसाद आचार्यले पञ्चायती शासनका बेला लिपुलेकबारे पत्रिकामा लेख्न सक्नु सानो साहस हैन। यिनै विषयले पुस्तक आकर्षक बनाएको छ।’

पत्रकार ज्ञवालीले पुस्तकमा समेटिएको बीपीसँग अन्तर्वार्ता लिँदाको क्षण पढेर रोमाञ्चित भएको अनुभव साटे। भने, ‘बीपीसँग अन्तर्वार्ता लिनु हामी बुटवलका पत्रकारका लागि उत्साहजनक अवसर थियो। त्यसको नेतृत्व डिल्ली दाइले नै गर्नुभएको थियो। ती याद ताजा भए।’

गर्गगोत्री आचार्यहरुको वंशावली लेखनको काममा सक्रिय योगदान गरे बापत डिल्ली प्रसाद आचार्यलाई गर्गगोत्री आचार्य समाजले कदरपत्र प्रदान गर्दै सम्मान गर्यो।

पुस्तकलाई बुलबुल पब्लिकेशनले बजारमा ल्याएको हो।

साथै कार्यक्रममा आचार्य पुत्र दिनेश आचार्यले बुबा र आमाको नाममा एक लाख धनराशीको ‘डिल्ली–मीठू आचार्य पुरस्कार’को घोषणासमेत गरे। ‘बुबाले उत्खनन्का लागि प्रयास गरेको बुद्धको मावली तथा ससुराली देवदहको प्रचार प्रसार, प्रवर्धन र अनुसन्धानका क्षेत्रमा काम गर्ने व्यक्ति वा संस्थालाई वर्षेनी सो पुरस्कार दिइनेछ’, उनले भने।

पुरस्कारका लागि प्रतिष्ठान गठन अर्को हप्ता नवलपरासीको देवदहमा हुँदैछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell