PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

गणतन्त्र  स्थापनापछि नेपालका राष्ट्रपतिलाई पहिलोपटक बेइजिङको रेड कार्पेट: यस्तो छ भ्रमण तालिका



विधुर ढकाल

गणतन्त्र  स्थापनापछि नेपालका राष्ट्रपतिलाई पहिलोपटक बेइजिङको रेड कार्पेट: यस्तो छ भ्रमण तालिका
फाइल फोटो

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारी बुधवार उत्तरी छिमकी चीनको राजकीय भ्रमणमा जाँदै छिन्।

गणतन्त्र स्थापनापछि चीनले पहिलो पटक नेपालका राष्ट्रपतिलाई बेइजिङमा रेड कार्पेट बिच्छ्याउन लागेको हो। चीनमा अप्रिल २५ देखि २७ सम्म आयोजना हुने दोस्रो अन्तरार्ष्ट्रिय साझेदारीका लागि बेल्ट एण्ड रोड फोरम अवसर पारेर राष्ट्रपति भण्डारीको राजकीय भ्रमण हुन लागेको हो।

यसअघि नेपालका राष्ट्रपति चीनको भ्रमणमा गए पनि त्यतिवेलाको भ्रमण राजकीय थिएन। तत्कालिन राष्ट्रपति डा रामवरण यादव सांघाइ कोअप्रेसन र बोआओ फोरम फर एसियाको सम्मेलनमा सहभागी हुन चीन गएका थिए। तर त्यतिबेला बेइजिङले राष्ट्रपति यादवलाई स्वागत गरेको थिएन।

अहिले बीआरआई सम्मेलनको दौरानमा बेइजिङले राष्ट्रपति भण्डारीलाई राजकीय सम्मानका साथ स्वागत गर्न लागेको हो।

राष्ट्रपति भण्डारी वैशाख ११ गते (अप्रिल २४) बुधवार चीन जाने परराष्ट्र मन्त्रालयले जनाएको छ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले सम्मेलनमा सहभागी हुनुका साथै सम्मेलनमा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ। भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सि जिङपिङले आयोजना गर्ने रात्रिभोजमा सरिक हुने छन्। त्यस्तै चीन भ्रमणका क्रममा राष्ट्रपति भण्डारी इन्टरनेसनल हर्टिकल्चरल एक्जिबिसनको उद्घाटन समारोहमासमेत सहभागी हुने छन्। प्रदर्शनीमा नेपालले आफ्नो पवेलियनसमेत राख्ने छ।

त्यस्तै राष्ट्रतपि भण्डारीले चिनियाँ राष्ट्रपति सिसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ। वार्तामा दुई देशबीच केही समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। यद्यपि परराष्ट्र मन्त्रालयले समझदारी पत्रको बारेमा खुलाएको छैन।

वार्ताका क्रममा चिनियाँ राष्ट्रपति सिलाई नेपाल भ्रमणको औपचारिक निम्तोसमेत दिइने छ। त्यस्तै राष्ट्रपति भण्डारीले चिनियाँ उच्च नेतृत्वसँगसमेत भेट गर्नेछन्।

चीन भ्रमणका क्रममा २७ अप्रिलमा बेइजिङस्थित नेपाली दूतावासले राष्ट्रपति भण्डारीको सम्मानमा कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा सहभागी हुन दूतावासले नेपाली समुदायलाई अग्रीम आवेदन दिन सूचना जारी गरिसकेको छ।

कार्यक्रममा राष्ट्रपति भण्डारीले नेपाली समुदायलाई सम्बन्ध गर्ने छन्। त्यस्तै राष्ट्रपति भण्डारीले बेइजिङमा चिनियाँ तथा नेपाली व्यापारिक समुदायहरुको संयुक्त कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रमसमेत रहेको छ।

बेइजिङ जाने क्रममा राष्ट्रपति भण्डारी चीनको सान्छी प्रान्तको राजधानी सियानको भ्रमण गर्ने छिन्। त्यस्तै नेपाल फर्कने क्रममा उनी चीन स्वशासित तिब्बतको राजधानी ल्हासाकोसमेत भ्रमण गर्ने छन्। त्यहाँ रहँदा राष्ट्रपति भण्डारीले त्यहाँका प्रान्तीय नेताहरुसँग भेट गर्ने कार्यक्रम रहेको छ।

राष्ट्रपति भण्डारीसँगै परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, संघीय संसदका सदस्यहरु, उच्च सरकारी अधिकारीहरु, निजी क्षेत्रका व्यवसायीहरुसमेत सहभागि हुने छन्। राष्ट्रपति भण्डारी वैशाख १९ गते बिहीवार स्वदेश फर्किने कार्यक्रम रहेको छ।

३७ देशका राष्ट्र तथा सरकार प्रमुख सहभागी हुँदै

चीनले आयोजना गर्न लागेको दोस्रो अन्तरार्ष्ट्रिय साझेदारीका लागि बेल्ट एण्ड रोड फोरममा सहभागी हुन ३७ देशका राष्ट्र तथा सरकार प्रमुखहरु सहभागी हुने छन्।

शुक्रवार बेइजिङस्थित विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा चिनियाँ विदेशमन्त्री वाङ यीले यस्तो घोषणा गरेका हुन्।

सम्मेलनले बेल्ट एण्ड रोड फ्रेमवर्कभित्र उच्च गुणस्तरको साझेदारी ल्याउने लक्ष्य राखिएको उनले बताए। सम्मेलनका दौरानमा प्रयोगात्मक साझेदारीका लागि १२ वटा छुट्टाछुट्टै कार्यक्रमहरुसमेत आयोजना गरिने छ। त्यस्तै सम्मेलनमा व्यवसायिक समुदायको प्रतिनिधित्व हुने गरी एउटा सम्मेलनसमेत आयोजना हुने छ।

सम्मेलनमा चिनियाँ राष्ट्रपति सिले कि नोट स्पिच दिने विदेशमन्त्री यीले जानकारी दिए। सम्मेलनमा अष्ट्रेलिया, इजिप्ट, इटली, पाकिस्तान, काजाकस्तान, ब्रुनई फिलिपिन्स र लाओससहितका ३७ देशका सरकार तथा राष्ट्रप्रमुखले सहभागिता जनाउने विदेशमन्त्री यीले जानकारी दिए। त्यस्तै राष्ट्रसंघका महासचिव एन्टोनियो गुर्टेरेस र अन्तरार्ष्ट्रिय मुद्रा कोषका प्रमुखसहित फ्रान्स, जर्मनी, युके, स्पेन, जापान, कोरिया, इयुलगायतका सय बढी देशमा उच्चस्तरीय प्रतिनिधिहरु सहभागी हुने छन्। त्यस्तै विभिन्न ९० अन्तरार्ष्ट्रिय संघसंगठनका प्रतिनिधिसहित पाँच हजार बढीले सहभागिता सुनिश्चित गरेका छन्।

सम्मेलन अहिलेसम्मकै उच्चस्तरीय विदेशी राष्ट्रप्रमुखको जमघट हुने छ।

सन २०१७ को मेमा बेइजिङमा पहिलो सम्मेलन भएको थियो। सम्मेलनकै क्रममा चिनियाँ राष्ट्रपति सीले दोस्रो सम्मेलन २०१९ मा गर्ने घोषणा गरेका थिए। सोही अनुसार सम्मेलन हुन लागेको हो।

पहिलो सम्मेलनमा नेपालका तर्फबाट तत्कालिन अर्थमन्त्री कृष्णबहादुर महरा सहभागी भएका थिए। बेइजिङमा सम्मेलनमा सहभागी हुन जानु अगाडि तत्कालिन अर्थमन्त्री महरा र परराष्ट्रमन्त्री डा प्रकाशशरण महतको उपस्थितिमा नेपालले बीआरआई फ्रेमवर्क सम्बन्धी एमओयुमा हस्ताक्षर गरेका थियो। एमओयुमा नेपालका तर्फबाट परराष्ट्र सचिव शंकरदास बैरागी र चीनका तर्फबाट नेपालका लागि तत्कालिन चिनियाँ राजदूत यु होङले हस्ताक्षर गरेका थिए।

सो सम्मेलनमा २९ देशका सरकार तथा राष्ट्र प्रमुखहरुले सहभागिता जनाएका थिए। त्यस्तै २७ बढी देशले मन्त्रीस्तरीय सहभागिता जनाएका थिए।

चिनियाँ राष्ट्रपति सिले सन् २०१३ मा काजकस्थानको भ्रमणका क्रममा घोषणा गरेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)मा हालसम्म १२६ देश र २९ अन्तर्राष्ट्रिय संघ संस्थाले चीनसँग साझेदारीका लागि सहमति पत्रमा हस्ताक्षर गरिसकेको चिनियाँ विदेशमन्त्री यीले जानकारी दिए।

सम्झौतासँगै चीन र सहभागी राष्ट्रबीचको व्यापार ६ ट्रिलियन डलर भन्दा बढी भएको छ। त्यस्तै ८० विलियन डलर भन्दा बढीको लगानी भइसकेको छ। बीआरआई अन्तर्गतका परियोजनाले तीन लाख बढी रोजगार सिर्जना गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell