PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

पार्टीभित्र अनुशासन हराउँदै गयो : देउवा



पार्टीभित्र अनुशासन हराउँदै गयो : देउवा

काठमाडौँ: नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले जनताको अधिकार खोस्न खोजेको आरोप लगाएका छन्। काङ्ग्रेस काठमाडौँ क्षेत्र नं ५ ले आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा देउवाले प्रजातान्त्रिक हक र अधिकारलाई बेवास्ता गरेर सरकारले काम गरिरहेको आरोप लगाए। “ सेना परिचालन गर्ने अधिकार र राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीको मातहत राखेर वर्तमान सरकारले  शासन गर्न खोजेकाले यसविरुद्ध काङ्ग्रेस जाग्नुपर्ने बेला आएको छ”, उनले भने। निर्मला पन्तको हत्यारालाई वर्तमान सरकारले संरक्षण गर्न खोजेको सभापति देउवाको भनाइ थियो।

 

पार्टीभित्र अनुशासन हराउँदै गएको छ तर अब अनुशासनविरुद्ध काम गर्ने जोकोहीलाई कारवाही गरिनेमा जोड दिँदै  देउवाले घरघर गएर पार्टीको सङ्गठन विस्तार गर्न कार्यकर्तालाई निर्देशनसमेत दिए।

पार्टीका महामन्त्री डा शशाङ्क कोइरालाले काङ्ग्रेसले आफ्नो शक्ति निर्वाचनमा परिचालन गर्न नसक्दा पराजय भोग्नुपरेको बताए। “पार्टीभित्रको गुट उपगुट अन्त्य गरेर यसलाई एकताबद्ध नगरेसम्म काङ्ग्रेस पहिलो पार्टी बन्न सक्दैन”, कोइरालाले भने। “वर्तमान सरकार सङ्घीयतामा विश्वास गर्दैन विश्वास गर्ने भए प्रदेश र स्थानीय तहलाई अधिकार दिनुपर्थ्यो”, महामन्त्री कोइरालाले भने।

 

सहमहामन्त्री डा प्रकाशशरण महतले आगामी निर्वाचनमा बहुमत ल्याउने गरी पार्टीको संगठन विस्तारमा लाग्नुपर्ने बेला आएको बताए। काङ्ग्रेस आफ्नै पार्टीका साथीका कारण निर्वाचनमा पराजय भएको उनको भनाइ थियो। केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले पार्टीलाई सामूहिक भावनाका साथ अगाडि बढाउनुपर्ने अवस्था आएको बताए। राष्ट्रियसभा प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहनुभएका उनले काङ्ग्रेसले संसद्भित्र सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नाका साथै संसद्मार्फत् सरकारले गरेका गलत क्रियाकलापको  खबरदारी गरिरहेको बताए।

 

केन्द्रीय सदस्य नरहरि आचार्यले पार्टीभित्रको कार्यशैलीमा जागरण अभियान ल्याउनु जरुरी रहेको बताए। “जागरण अभियानलाई स्पष्ट ढङ्गले अगाडि नबढाएसम्म पार्टी बलियो हुन सक्दैन”, आचार्यले भने। काङ्ग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराई र उक्त दलका  जिल्लासभापति कृष्ण (सबुज) बानियाँले पार्टी एकजुट भएर अगाडि बढ्नुपर्ने बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell