PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

बदनाम बन्यो जेब्रा झोला : गाँजा बोक्नदेखि शव छोप्नसम्म



सविन ढकाल

बदनाम बन्यो जेब्रा झोला : गाँजा बोक्नदेखि शव छोप्नसम्म

काठमाडौं : यत्रो गाँजा के मा ल्याएछन्?  महानगरीय प्रहरी परिसर काठमाडौंको पत्रकार सम्मेलन कक्षमा उभिएका एक प्रहरी अधिकृतले प्रश्न सकिन नपाउँदै जवाफ दिए- एउटा झोला छ नि। जेब्रा झोला, त्यसैमा।

'जेब्रा झोलामा प्याकिङ गरेर बाटोमा हिँड्दै गर्दा सामातेका हौं। शंका लाग्यो बाहिर जेब्राको बुट्टा भित्र गाँजा,' उनले थप अर्थ्याए, 'गाँजा बोक्नदेखि मान्छे छोप्नेसम्म अहिले यही झोलाको नै प्रयोग हुन थालेको छ।'

जताततै जेब्रा झोलाको प्रयोग

गत मंसिर ११ गते गोंगबुबाट अपहरणमा परेका ८ वर्षीय बालक प्रयास कुँवरको अपहरण पछि हत्या भएको थियो। बालकको शव यस्तैखाले जेब्रा ब्यागमा फेला परेको थियो। जेब्रा बुटाको रातो रंगको झोलामा बालकको शव हालेर मिल्काइएको थियो।

केही दिनपछि बालकको हत्या अभियोगमा एकजना पक्राउ परे। हत्याका अभियुक्तले बालकको अपहरण गरी मित्रनगर नजिकैको पसलबाट दुईवटा जेब्रा झोला किनेको बयान दिए। अनि त्यही ब्यागमा बालकको शव हालेर फ्याँकेको सुनाए।

कुनै ब्रान्ड अपराधसँग जोडिने विषय होइन। तर, गोल्डस्टार ब्रान्डको जुत्ता सधैं माओवादी युद्धसँग जोडियोको याद आयो।

'दश वर्षे जनयुद्धमा तपाइँहरुले पनि गोल्डस्टार जुत्ता लगाउने देख्यो कि माओवादी भन्दै सामात्नु हुन्थ्यो हैन र?,' जेब्रा ब्यागको व्याख्या गरिरहेका तिनै प्रहरी अधिकृतमाथि प्रश्न।

बद्नामीको श्रृखलामा जेब्रा झोला सँगै गोल्डस्टार जुत्ता पनि मिसियो। धेरैले गोलस्टार जुत्तलाई माओवादीको पोशाक सम्झिन्थे। भलै गोल्डस्टारले आफूलाई पूरै स्पोर्टी र लुक्समा मोर्डन बनाएर बजार विस्तार गरिसकेको छ। कमजोरले लगाउने बलियो जुत्ताको ब्रान्ड यतिखेर आकर्षक र सबैका लागि भन्ने स्थापित भइसकेको छ।

महानगरीय प्रहरी बृत्त दरबारमार्गले गत मंगलबार दिउँसो करीब ३ बजे लाजिम्पाट क्षेत्रबाट दुईवटा जेब्रा झोलामा ५० केजी गाँजा सहित दुई जनालाई नियन्त्रणमा लिएको थियो। पक्राउ पर्नेहरुमा सिन्धुली मरिण गाउँपालिका ४ का देवकुमार घिसिङ र पदमबहादुर श्रेष्ठ थिए। सस्तो, टिकाउ र सामान्य देखिने भएकाले धेरैले यस्ता घटनामा जेब्रा झोला नै प्रयोग गर्ने गरेको एक प्रहरी अधिकृतले सुनाए।

सायद, सामान्य मानिसको सहज पहँचमा भएको सस्तो पनि पर्ने भएकाले जेब्रा ब्यागको प्रयोग जतासुकै भयो। अनि अपराधमा पनि।

गत साउन २४ गते पशुपति नजिकै वाग्मतीमा एक शिशुको शव फेला परेको खबर आयो।

दिउँसो करीब साढे ३ बजेतिर खोलाले बगाएर ल्याइरहेको अवस्थामा शव फेला पारेको थियो। प्रत्यक्षदर्शी मिलन कार्कीले समाचार टिपाउँदै त्यसको फोटो पनि पठाए।

त्यहाँ नीलो रंगको जेबा झोला नै थियो। खोलामा बगेर आएको देखेपछि निकालेर हेर्दा शिशुको शव फेला परेको थियो। शिशुको हातमा हस्पिटलको ट्यागसमेत थियो।

साउन १७ गते वाग्मती र धोबी खोलाको दोभानमा पाँच महिने बालकको शव फेला परेको थियो। खोलाको किनारमा रातो रङको यस्तै झोलामा पोको पारेर फालिएको अवस्थामा भेटिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell