PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

‘फातसुङ’ अर्थात् माटोको कथा अब उपन्यासमा



पहिलोपोस्ट

‘फातसुङ’ अर्थात् माटोको कथा अब उपन्यासमा

लेप्चा भाषामा ‘फातसुङ’ भनेको माटोको कथा हो। सोही शब्दलाई उपन्यासको नाम दिइयो। र, शुक्रबार पुस्तक सार्वजनिक भयो। फातसुङले धरतीको कथा भन्छ, अर्थात् दार्जिलिङको कथा भन्छ। ठेट दार्जिलिङे लवजमा प्रस्तुत उपन्यासका लेखक हुन् नेपालीभाषी भारतीय लेखक छुदेन काविमो। उनले उपन्यास जातीय पहिचानका लागि गरिएको आन्दोलन चियाउने एउटा आँखीझ्याल भएको बताए।

काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा लेखक खगेन्द्र संग्रौला, युवा लेखक भूषिता वशिष्ठ र उपन्यासकार काविमोले किताब लोकार्पण गरे। भाषाका लागि गरिएको गोर्खाल्यान्ड आन्दोलनको पृष्ठभूभिमा उपन्यासको कथा बुनिएको छ। काविमोले नेपाली भाषाका लागि सन् २०१८ को युवा अकादमी पुरस्कार प्राप्त गरेका छन्।

पुस्तक बारे भूषिता वशिष्ठले भनिन्, “भाषा र क्रान्तिको सम्बन्ध धेरै गहिरो छ। राजनीतिक चेतनाको सूत्रधार हो, भाषा। र कतिपय अवस्थामा जनताको राजनीतिक चेतना अपूर्ण रहेकै कारण क्रान्ति तुहिएका छन्। त्यसैले गर्दा फातसुङ जस्ता लोकभाषी पुस्तकको महत्ता दूरगामी छ।”

वक्ता रहेका संग्रौलाले सानो कलेवरमा आएको यो पुस्तकले धेरै ठूलो कथा बोकेको बताए। साथै दार्जिलिङको माटोको कथालाई जीवन्त रुपमा देखाएको उनको भनाइ छ। भने,’दार्जिलिङको कथा बोके पनि यो उपन्यासले नेपालको अवस्थालाई समेत बुझ्न सघाउँछ।‘  

लेखक काविमोले उपन्यासको पृष्ठभूमी बारे बताए, “फातसुङ दार्जिलिङको कथा हो। १९८६ मा पहिलो चोटि अलग राज्यको माग गर्दै दार्जिलिङमा गोर्खाल्यान्ड आन्दोलन भएको थियो। त्यस आन्दोलनमा सयौं मान्छे मारिए। त्योभन्दा ठूलो कुरा हजारौं मान्छेको सपना भत्काइयो। फातसुङ त्यही सपनाहरुको कथा हो। १९८८ सालमा गोर्खाल्यान्ड आन्दोलन दार्जिलिङ गोर्खा हिल काउन्सिलसँगको सम्झौतामा पुगेर टुङ्गियो, त्यसपछि जुन राजनीतिक संस्कार दार्जिलिङमा सुरू भयो, त्यो निकै भयानक छ अनि म त्यही राजनीतिक संस्कारबीच हुर्किएको मान्छे हुँ। यो कथा त्यही समाजको कथा हो। ‘

प्रकाशक अजित बरालले यो उपन्यासले नेपालीभाषी भारतीय लेखकहरुको पुस्तकप्रति नेपालीको रुचि जगाउने विश्वास लिएका छन्।

उपन्यास फाइनप्रिन्टले प्रकाशन गरेको हो। यसको मूल्य ३०० रुपैयाँ रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell